मुख्यमन्त्रीको विश्वासको मत कार्यसूचीमा जनमतको अवरोध, मन्त्री कुटिएकोमा क्षमा माग्नुपर्ने अडान – Nepal Press
मधेस प्रदेश

मुख्यमन्त्रीको विश्वासको मत कार्यसूचीमा जनमतको अवरोध, मन्त्री कुटिएकोमा क्षमा माग्नुपर्ने अडान

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गरेको छ ।

तत्कालीन मन्त्री महेशप्रसाद यादवमाथि सांघातिक हमला भएकाले मुख्यमन्त्री यादवले क्षमा माग्नुपर्छ भन्दै जनमतका सांसदहरूले सदन अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डल प्रदेशसभाको बैठक सञ्चालन गर्नै लाग्दा जनमतका सांसदहरू उभिएका छन् ।

सभामुख मण्डलले आज मुख्यमन्त्री विश्वासको मत लिने भन्दै बस्नका लागि जनमतका सांसदहरूलाई आग्रह गरे । तर, अवरोध कायमै रहेपछि १० मिनेटका लागि स्थगित गरिएको छ ।

जनमतका सांसद चन्दन सिंहले भने, ‘सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा क्याविनेट मन्त्री विश्वविद्यालयका उपकुलपति समेत रहेका महेशप्रसाद यादवमाथि सांघातिक हमला भयो । यस विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । मुख्यमन्त्रीले क्षमा माग्नुपर्छ ।’

जनमतको अवरोधपछि बैठक स्थगित गरेर छलफल सुरू गरिएको छ ।

कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा प्रहरीबाट आफ्ना मन्त्रीमाथि आक्रमण गरेकै भोलिपल्ट जनमतले दुई मन्त्री फिर्ता लिएर समर्थन फिर्ता लिएको थियो ।

त्यही कारण मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । आज नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदैछ ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर