एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाको मार्चपास तथा सांस्कृतिक कार्यक्रम (भिडिओ) – Nepal Press

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाको मार्चपास तथा सांस्कृतिक कार्यक्रम (भिडिओ)

विकासको नाममा विदेशी शक्तिलाई युद्धको निम्तो दिएको नेताहरुको आरोप

रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्तवको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको बिरोधमा नेकपाले मंगलबार बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।

नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध कार्यक्रमको आयोजना गरिएको नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले बताए ।जेसीजचोकबाट शुरु भएको मार्चपास नयाँ बसपार्कमा पुगेर सभा तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै एमसीसी खारेजको बिरोध गर्दै देशमा विदेशी हस्तक्षेप बढेको चिन्ता गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य चिरन पुनले विकाससँग जोडिएर आएको एमसीसीसँगै युद्व जोडिएर आएको बताए । उनले कम्युनिष्ट विचार नचाहने अमेरिकी साम्राज्यवादबिरुद्व देशभक्त जनता एकजुट हुनुपर्नेमा बताए ।

एमसीसी परियोजनाले विकास गर्छ भनेर जनतालाई भ्रममा पारेका कांग्रेस, एमाले र माओवादीले जनबिरोधी काम गरेको उनले आरोप लगाए । एमसीसीको खारेजी र देशमा भएको भ्रष्टाचार तथा बेथितिको अन्त्यका लागि आन्दोलन जारी राख्ने बताउँदै उनले भने– एमसीसी परियोजना मुलुकको हितमा छैन ।

सामना परिवारका संयोजक आरोह सीले विकासको नाममा एमसीसी ल्याएर यो सरकारले विदेशी हस्तक्षेप बढाएको बताए । कांग्रेस, एमाले एमाओवादीका गलत कामले जनतामा राजनीतिक दलप्रति निरासा छाएको बताउँदै आन्दोलन र क्रान्तिप्रनि जनताको चासो घट्दै गएको बताए । एमसीसी परियोजनाले नेपालमा अशान्ति ल्याउने बताउँदै एमसीसीका दलालहरुविरुद्व आन्दोलन केन्द्रित गर्ने बताउँदै उनले भने – एमसीसी नेपालको लागि चाहिँदैन ।

सामना परिवारका कलाकारहरुले हुदैन एमसीसी हुंदैन, जहां टेक्छ अमेरिका त्यहाँ हाहाकार । संघर्षमा अधि बढौं, हुनेछ भन्थे जनतालाई शुख लोकतन्त्र आएसी, मेरो देश रुँदा तिमी कसरी देशभक्त भयौ र भन्ने जस्ता गीत र नृत्य प्रस्तुत गरेका थिए ।

लप्सीफेदीदेखि सुरु भएको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहु, पाल्पा हुँदै मंगलबार बुटवलमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *