फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन – Nepal Press

फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन

विराटनगर । बहुप्रतिक्षित रहेको इलाम २ को मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुँदैछ । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ ।

वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जतिवटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ ।

फाकफोकथुम गाउँपालिका २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

एमालेका खनालले ५ हजार ३२२ मत पाउँदा कांग्रेसका थापाले ४ हजार ८ सय २१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो ।

फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५ हजार १५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो ।
२ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यसपटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *