बुटवलमा सामुदायिक विद्यालयमा भर्ना नपाएर फर्किन्छन् हजारौं बालबालिका – Nepal Press

बुटवलमा सामुदायिक विद्यालयमा भर्ना नपाएर फर्किन्छन् हजारौं बालबालिका

रुपन्देही । पछिल्लो समय सरकारी एवं सामुदायिक विद्यालयमा अभिभावकहरुको आकर्षण बढेको छ । शहरी क्षेत्रका सामुदायिक विद्यालयमा त विद्यार्थीहरुको चाप ह्वात्तै बढेको छ । विद्यार्थीको चाप थेग्न सामुदायिक विद्यालयहरुले भर्नाअघि प्रवेश परीक्षासमेत लिएका छन् ।

सरकार वैशाख १५ सम्म भर्ना अभियान भने पनि बालबालिकालाई भर्ना गराउन अभिभावकहरुलाई सामुदायिक विद्यालय धाइरहेका छन् । बैशाख दोस्रो साता सकिए पनि बुटवल क्षेत्रका सामुदायिक विद्यालयमा अभिभावकहरुको भीड घटेको छैन ।

यहाँका केही सामुदायिक विद्यालयमा अभिभावकलाई आफ्ना छोराछोरीहरूलाई भर्ना गराउन सधैं मुस्किल पर्ने गर्छ । देशमै सबैभन्दा धेरै विद्यार्थी संख्या भएका २० मध्ये ६ सामुदायिक विद्यालय रुपन्देहीमा छन् । उत्कृष्ट नतिजासहित अब्बल सावित यी विद्यालयहरूमा भर्ना गर्न साह्रै मुस्किल परेको अभिभावकहरू बताउँछन् ।

ती विद्यालयका प्राचार्यहरु भने निश्चित कोटाका शिक्षक र भौतिक पूर्वाधार भएकाले धेरै विद्यार्थी राख्न नसकिएको बताइरहेका छन् । एकातिर संस्थागत एवं निजी विद्यालयको विभिन्न शीर्षकको महँगो शुल्क र अर्कोतिर सरकारी एवं सामुदायिक विद्यालयको प्रतिस्पर्धी शिक्षाले अभिभावकहरु उत्कृष्ट नजिता ल्याएका सामुदायिक विद्यालयमा छोराछोरी पढाउन दबाबमा छन् । तर, ती विद्यालयले सीमित कोटामात्र भर्ना लिने गर्दा नयाँ विद्यार्थीहरुलाई भर्ना पाउन हम्मेहम्मे भइरहेको छ ।

त्यसो त सामुदायिक विद्यालयहरुले आफ्नो निजी स्रोतबाट शिक्षक राखेको भन्दै नियमित शुल्कसमेत उठाएका छन् । ती विद्यालयको प्रवेश परीक्षामा हजारौं विद्यार्थी सहभागी हुन्छन् । तर, सीमितले भर्ना पाउँदा बाँकी विद्यार्थी सामुदायिक विद्यालयमा प्रवेश पाउनबाटै वञ्चित हुन बाध्य भएका छन् ।

प्रवेश परीक्षामा टाठा विद्यार्थीमात्रै अगाडि आउँछन् । कमजोर एवं पहुँच नभएकाले भर्ना पाउनै नसकेको अभिभावकहरुको गुनासो छ ।

देशकै सबैभन्दा बढी विद्यार्थी रहेको बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सीधै भर्ना पाउन मुस्किल छ । विद्यार्थीलाई भर्ना गर्न गराउन आएको दबाब थेग्न नसकिएपछि कालिकाका प्राचार्य दिनेश थापा केही दिनदेखि मोबाइल नै नलाग्ने बनाएर बसेका छन् ।

अंग्रेजी माध्यममा अध्यापन हुने यस विद्यालयमा हाल ८ हजार ८९ विद्यार्थी छन् । सेक्टर ‘ए’ र ‘बी’ गरेर दुई स्थानमा विद्यालय सञ्चालनमा छ । विद्यालयमा १५० भन्दा बढी अस्थायी शिक्षक छन् । राज्यले निःशुल्क शिक्षा भने पनि विद्यालयले अभिभावकबाट सहयोग शुल्क उठाइरहेको छ । विद्यालयले केही सटर भाडामा पनि लगाउँदै आएको छ ।

यस वर्ष कालिकाले कक्षा ४, ५, ६ र ९ मा कम्प्युटर इन्जिनियरतर्फ नयाँ भर्ना गरेको खुलाएको थियो । उसले कक्षा ४ मा ८०, ५ मा ४०, ६ मा १६० र ९ मा ४८ जनालाई मात्रै भर्ना गराउने पूर्वसूचना गरेको थियो । जम्मा ३२८ नयाँ विद्यार्थी भर्ना गर्ने भए पनि विद्यालयले लिएको प्रवेश परीक्षामा करिब ३ हजार सहभागी भएका थिए । गतवर्ष पनि ३ हजारले प्रवेश परीक्षा दिएकोमा ४०० जनाले मात्रै नयाँ भर्ना पाएका थिए ।

प्राचार्य थापा सामुदायिक विद्यालयमा विद्यार्थीहरु आकर्षित हुनु राम्रो भए पनि स्रोतसाधन र भौतिक पूर्वाधारलगायतको अवस्था हेरेर सबैलाई भर्ना लिन आफूहरु असमर्थ रहेको बताउँछन् ।

बुटवलकै देवीनगरस्थित नवीन औद्योगिक कद्दर बहादुर रीता माध्यमिक विद्यालयमा पनि नयाँ भर्नाका लागि प्रवेश परीक्षामा १ हजार ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । यस वर्ष सबै कक्षा गरी २५० जनामात्रै नयाँ भर्ना गर्न सकिने विद्यालयले अग्रीम सूचना दिएको थियो ।

विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले भौतिक संरचनाको अभावमा धेरै विद्यार्थी भर्ना गर्न नपाएको बताए ।

कान्ति माध्यमिक विद्यालयमा पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई सहजै भर्ना गराउन पाएनन् । गत वर्ष १ हजार विद्यार्थी भर्ना हुन नपाएर फर्किएका थिए । विद्यालयले प्रवेश परीक्षा गराएर विद्यार्थीहरू छानेरमात्रै भर्ना लिएको थियो ।

विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार यस वर्ष विद्यालयले कक्षा ४ देखि ९ सम्म नयाँ भर्नामा ४०० विद्यार्थी लिने सूचना गरेको थियो । तर, प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएको उनले बताए ।

‘कतै विद्यालयमा विद्यार्थी नभए पनि पूर्वाधार बनेका छन् । तर, हाम्रोमा विद्यार्थी छन्, पूर्वाधार र जनशक्ति छैनन् । त्यसैले पनि सबैलाई भर्ना गर्न सकिँदैन’, प्राचार्य ज्ञवालीले भने, ‘निश्चित कोटाबाहेक थप विद्यार्थी भर्ना गर्न हामीसँग आवश्यक पूर्वाधार र जनशक्ति छैन ।’

पूर्वप्राथमिक तहदेखि तीन कक्षासम्म भने विद्यालयले सीधै भर्ना लिएको प्राचार्य ज्ञवाली बताउँछन् । विद्यार्थीलाई भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

अंग्रेजी माध्यममा अध्यापन हुने यस विद्यालयको मुख्य आम्दानी अभिभावकले तिर्ने शुल्क र सटर भाडा हो । जसबाट विद्यालयका १३० भन्दा धेरै शिक्षक-कर्मचारीले तलब पाउँदै आएका छन् । अहिले विद्यालयमा ५ हजार २२९ विद्यार्थी छन् ।

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमुना माविमा यस वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, ५८५ जनाले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्दा बढी संस्थागत एवं निजी विद्यालयबाट आएकाहरू रहेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक कुलप्रसाद लामिछाने सरकारले दिएको शिक्षक दरबन्दी र विद्यालयको भौतिक पूर्वाधारको सीमितताका कारण भर्ना गर्न आवेदन दिएका सबै विद्यार्थी लिन नसकिएको बताए ।

निजीतर्फ नयाँमा खोसाखोस

उत्कृष्ट सामुदायिकमात्र नभएर बुटवलका राम्रा निजी विद्यालयहरूमा पनि विद्यार्थी भर्ना पाउन मुस्किल छ । बुटवलका न्यू होराइजन, एभरेष्ट बोडिङ, दीप बोडिङ, अक्सफोर्ड माध्यमिक विद्यालयलगायतमा चाहेर पनि अभिभावकले छोराछोरीलाई भर्ना गर्न पाएका छैनन् ।

अक्सफोर्ड बोर्डिङ स्कुलका प्राचार्य दिनेश भुसालले सरकारी नीतिका कारणले निजी विद्यालयमा लगानी बढाउन अन्योल रहेको र आएका जति सबै विद्यार्थी भर्ना लिन नसकिएको बताए ।

दीप बोडिङ स्कुलका प्राचार्य टीकाराम न्यौपानेले पनि पूर्वाधार र जनशक्तिको अभावमा सबैलाई भर्ना लिन नसकिएको बताए । शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर पनि धेरै विद्यार्थीलाई भर्ना नलिएको उनको भनाइ छ ।

उनले भने, ‘कहिले गुठी त कहिले कम्पनी भनेर तर्साउने काम भइरहेको छ । त्यसैले पनि लगानी कति गर्ने, कसरी गर्ने भन्नेमा निजी क्षेत्र सशंकित छ, सरकारले निजी स्कुललाई हेर्ने दृष्टिकोणले पनि लगानी गर्न गाह्रो छ ।’
नाम चलेका निजीमा विद्यार्थीहरुको चाप रहे पनि साना विद्यालयबीच भने विद्यार्थीहरु खोसाखोस रहेको छ । कम विद्यार्थी भएका विद्यालयहरु धमाधम मर्ज हुन थालेका छन् ।

कक्षा १ र ईसीडीमा भर्ना नलिए कारबाही गर्ने उपमहानगरकाे चेतावनी

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले कक्षा १ र ईसीडीमा नयाँ आएका बालबालिकालाई भर्ना नलिएको पाइए कारबाही गरिने बताए ।

‘शुरूका कक्षामा भर्ना हुन आएकालाई फर्काउन पाइँदैन, विद्यालय वरिपरिकालाई भर्ना नलिए कारबाही गर्छौं । तर, बीच–बीचका कक्षा ६, ८, ९ मा भर्ना गर्न आउनेका लागि विद्यालयको अधिकारमा निर्भर रहन्छ’, उनले भने ।

अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली सामुदायिकमा अंग्रेजी माध्यममा मात्र पढाइ हुँदा विपन्न बच्चाले विद्यालय नै टेक्न नपाउने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । १९ वटा वडा रहेको बुटवलमा ३९ सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डे बुटवल शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको सुनाए । ‘माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति मावि जस्ता सार्वजनिक विद्यालय बुटवलमै छन् । जहाँ विद्यार्थीले भर्ना पाउन पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ’, उनले भने ।

एसईई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको उनको भनाइ छ ।

‘हामीले आन्तरिक स्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे ८ करोडभन्दा बढी बजेट छुट्याएका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन अघि बढेको छ । बुटवल- १६ मा कृषि विज्ञान (बीएस्सीएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयहरुको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीहरुको क्षमता विकास गर्न नगरस्तरीय फुटबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता सञ्चालन गरिरहेका छौं’, मेयर पाण्डेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर