माल्भिकाको अर्को अन्तर्वार्ता चर्चामा, पूर्वपतिसँगको सम्बन्धबारे के-के खोलिन् ? – Nepal Press

माल्भिकाको अर्को अन्तर्वार्ता चर्चामा, पूर्वपतिसँगको सम्बन्धबारे के-के खोलिन् ?

डिभोर्सपछि पनि शारीरिक सम्बन्ध भएको स्वीकारोक्ति

काठमाडौं । सेलिब्रिटीहरू मिडियासँगको अन्तरवार्तामा आफ्नो निजी जीवनबारे कति खुल्नु ठीक हुन्छ ? यसको कुनै मापदण्ड नहोला । कोही आफ्नो प्राइभेट लाइफलाई प्राइभेट नै राख्नु उचित ठान्छन् त कोही चर्चाका लागि सबै कुरा छताछुल्ल बनाउन पनि हिच्किचाउँदैनन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाको कुरा गर्ने हो भने उनले आफ्नो निजी जीवनको एउटा महत्वपूर्ण परिघटनालाई लामो समयसम्म गोप्य राखिन् । श्रीमान्‌सँग माल्भिकाको पारपाचुके भएकोबारे गाईंगुईं हल्ला चलिरहेको भए पनि उनी स्वयम्ले भने कतै पनि बोलेकी थिइन् । दुई महिनाअगाडि उनले अभिनेत्री प्रियंका कार्कीले चलाउने एउटा पोडकास्टमा यो विषयमा पहिलोपटक मुख खोलेकी थिइन् । त्यो अन्तरवार्ता भाइरल नै भयो । धेरैले उनीप्रति सहानुभूति पनि व्यक्त गरे ।

टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउने होस्ट माल्भिकाले आफ्नै जीवनसाथी गुमाएको पाँच वर्ष भइसकेको छ । आफ्नो वैवाहिक जीवन असफल भए पनि उनले जीवनसाथीमा थुप्रै जोडीहरूलाई बोलाएर उनीहरूका सुखद अनुभवहरू सुनिरहिन् । भर्खरै मात्र ‘जीवनसाथी’ को नयाँ सिजन पनि उनैले लिएर आएकी छन् । यसमा विभिन्नखाले प्रतिक्रियाहरूको सामना गर्नुपरिरहेको छ । तर, माल्भिकाकै भनाइमा उनी अब प्रतिक्रियाहरुसँग डराउन छोडिसकेकी छन् ।

‘म त्यो फेजबाट अगाडि बढिसकेँ,’ उनी भन्ने गर्छिन्, ‘म अब प्रतिक्रियाको वास्ता नगरी आफ्नो काममा दत्तचित्त छु ।’

उनै माल्भिकाको एउटा ताजा अन्तरवार्ता अहिले चर्चामा छ । एक युट्युव च्यानललाई अन्तरवार्ता दिँदै माल्भिका दोस्रोपटक आफ्नो वैवाहिक सम्वन्धबारे थप खुलेकी छन् । सो अन्तरवार्तामा उनका केही भनाइहरुले दर्शक/स्रोतालाई आश्चर्यमा पारेको छ ।

युट्यूवर उत्सव रसाइलीले आफ्नो शोमा दुई डिभोर्सी सञ्चारकर्मीहरूलाई निम्त्याएका थिए । माल्भिकासँगै थिइन् सरिता ज्ञवाली । एक घन्टाभन्दा लामो कुराकानी केवल उनीहरूको असफल वैवाहिक सम्बन्धको सेरोफेरोमा रुमल्लिएको थियो । रसाइलीले सोधेका साह्रै निजी र कतिपय अनर्गल प्रश्नहरुलाई पनि दुवैले सहजरूपमा जवाफ दिए ।

युट्यूवरको मुख्य चासो माल्भिका र सरीता डिभोर्सपछि अरु कुनै पुरुषसँग सम्बन्धमा छन् कि छैनन् भन्नेमा केन्द्रित थियो । उनीहरुलाई पालैपालो यस्तो प्रश्न सोधियोः

डिभोर्सपछि कुनै पुरुषसँग शारीरिकरूपमा आकर्षित हुनुभएको छ कि छैन ?

डिभोर्सपछि पूर्वपतिसँग घुम्न जानुभएको छ कि छैन ?

डिभोर्सपछि कसैसँग यौनसम्बन्ध राख्नुभएको छ कि छैन ?

डिभोर्सपछि कसैसँग रिलेसनसीपमा हुनुहुन्छ कि हुनुहुन्न ?

अब कस्तो खालको पुरुषसँग विवाह गर्न चाहनुहुन्छ ?

डिभोर्सपछि एक महिलाको जीवन सामान्य हुँदैन वा हुनुहुँदैन भन्ने खालको सोचबाट सोधिएका प्रश्नहरुलाई दुवै सेलिब्रिटीले चाहेको भए पन्छाउन वा जवाफ नदिन सक्थे । तर, उनीहरु दुवै खुलेर प्रस्तुत भए । खासगरी माल्भिका ।

माल्भिकाले आफू पूर्वपतिसँग अझै पनि भौतिकरूपमा नजिकै रहेको बताइन् ।

‘हामी अहिले पनि सँगै घुम्न जान्छौं । धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं,’ उनले भनिन् । दुवैको सन्तान एउटै भएकाले उसको खुशीका खातिर आफूहरु नटाढिएको उनले स्पष्ट पारिन् ।
त्यसपछि सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ ?’

माल्भिकाले भनिन्, ‘छ’ । धन्न युट्यूवरले यसलाई पनि व्याख्या गर्न लगाएनन् ।

(आफूले बोलाएका गेस्टलाई युट्यूवरले यति हल्कारूपमा लिए कि यस्तो प्रश्न पनि सोध्न भ्याए- टिभी शो चलाउँदै गर्दा पाद्नुभएको छ कि छैन ? यसमा पनि माल्भिकाले नहिच्किचाइ जवाफ दिइन्- छ ।)

त्यसो त माल्भिका र सरीताले युट्यूवर रसाइलीलाई पनि पेल्न बाँकी राखेनन् । रसाइलीले माल्भिकालाई सोधेका थिए, ‘तपाईंले त जीवनसाथीको साटो ब्रेकअप भएका जोडीहरूसँग अन्तवार्ता गर्नुपर्ने हो भनेर कमेन्ट आइरहेका छन् नि ?’

माल्भिकाले रसाइलीमाथि प्रतिप्रश्न गरिन्, ‘त्यसो भए तपाईंले पनि त आफ्नो शोमा ‘होमो सेक्सुअल’ हरुलाई मात्र ल्याउनुहुन्छ त ?’

युट्यूवर रसाइलीले हालै मात्र आफूलाई ‘गे’ (पुरुष समलिंगी) का रूपमा सार्वजनिक गरेका थिए । आफूहरुको सम्वन्धविच्छेदबारे धेरै खोतलेपछि माल्भिका र सरिताले रसाइलीको पनि एक पुरुषसँग ब्रेकअपको सन्दर्भ कोट्याउन खोजे । रसाइलीले आफ्नो ब्रेकअप भएको स्वीकार गरे तर प्रेमीको नाम खोलेनन् । उनले आफ्नो ‘क्रस’ भनेर चलचित्र ‘महापुरुष’ का हिरो अरुण क्षेत्रीको नामसमेत लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर