लुम्बिनीकी एक्लो महिला मेयर विमला भन्छिन्- नमुना काम गरेर देखाउँछु – Nepal Press
नेपाल टक

लुम्बिनीकी एक्लो महिला मेयर विमला भन्छिन्- नमुना काम गरेर देखाउँछु

रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी मेयर विमला अर्याल लुम्बिनी प्रदेशभरमा एकमात्र महिला मेयर हुन् । प्रदेशका १०९ पालिकामध्ये ३६ नगरपालिका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा समेत प्रत्यासी रहेकी ५४ वर्षीया अर्यालले दोस्रो प्रयासमा जीत हात पारेकी हुन् ।

एमाले केन्द्रीय सदस्य अर्यालले पाँच वर्ष अगाडि भोगेको पराजयपछि गतवर्ष सत्तारूढ गठबन्धनलाई पराजित गरी नगर हाँक्ने जिम्मेवारी पाएकी हुन् । कांग्रेसको बलियो पकड रहेको पालिकाको रुपमा रहेको सुनवल, त्यसमाथि अन्य ४ दलको समेत समर्थन पाएका कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेललाई पराजित गरेपछि पार्टीभित्र अर्यालको चर्चा चुलिएको छ । त्यसयता उनले थालेका केही सकारात्मक काम र उनले बोलेर पनि पूरा गर्न नसकेका कामका विषयमा हामीले खोतल्ने प्रयास गरेका छौं । मेयर विमला अर्यालसँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानीः

– तपाईंको कार्यकाल सुरु भएसँगै के नयाँ कामको थालनी भयो ?

कार्यालय भाडाको घरमा थियो, भवन निर्माण अधुरो थियो । प्रशासकीय भवन निर्माण पूरा गरेर केही दिनअघि नयाँ भवनमा सरियो । एकै वर्षमा ४ वटा वडा कार्यालय भवन निर्माण भएको छ । योसँगै धेरै भौतिक प्रगति तथा सामाजिक सुधारका काम थालेका छौं । सामाजिक सुरक्षा, न्याय र सुशासनलाई प्राथमिकतामा राखेका छौं । जनताका आधारभूत विषयलाई ध्यान दिँदै पानीमा ५ हजार लिटर प्रयोग गर्नेलाई निःशुल्क सेवा सुरु गरेर १३ सयले यस्तो सुविधा पाएको अवस्था छ । सबै वडामा फोटोकपी सेवा निःशुल्क, निवेदनका सबै ढाँचा १३ वटै कार्यालयमा सेवाग्राहीलाई दिने व्यवस्था गरेका छौं । सेवाग्राहीको फाइल लिएर काम सकेपछि दिने काम सुरु भएको छ ।

अस्पतालसँग सम्झौता गरी मोतियाविन्दुका बिरामीमध्ये १८० जनालाई निःशुल्क उपचार गरेका छौं । रगतमा पहुँच दिने व्यवस्था, ५० घरपरिवारलाई टिनको छाना, कृषिमा सिंचाइ योजना कार्यान्वयनमा, स्वास्थ्यमा होम डेलिभरी सेवा सुरु भएको छ । ज्येठ नागरिकलाई घरघरमा उपचार सेवा, बर्थिङ सेन्टरमा ल्याब राख्ने योजना, पालिकामै डायलाइसिस सेवा सञ्चालन भएको छ । ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स हामीले थालेका केही नमुना काम हुन् । उद्यमशीलतालाई ध्यान दिएर १३ वटा उद्यम केन्द्रबाट उत्पादन भएका सामग्री बेच्न सञ्जाल बनाइएको छ । हिंसा पीडितका लागि महिला सेफ हाउस सञ्चालनको अन्तिम तयारी छ ।

त्यसैगरी धार्मिक पर्यटन विस्तारको योजनाका काम सुरु भएको छ । छाडा चौपाया व्यवस्थापन गर्न बर्गदोरियामा थालिए पनि सम्भव नभएकाले यो वर्ष गौशाला बनाएरै व्यवस्थापन गर्दैछौं ।

– चुनावी प्रतिबद्धताअनुसार कति काम भए कति बाँकी छन् ?

चुनावी प्रतिबद्धताअनुसार योजनाबद्ध काम थालेका छौं । तर, आवश्यकता धेरै भएकाले चुनौती पनि उस्तै छन् । जनताका आधारभूत विषयलाई जोडेर काम थालेका छौं । नागरिकका अपेक्षा धेरै तर स्रोत अभावमा केही काम चाहेर पनि गर्न नसकेको अवस्था छ । निर्वाचनमा हामीले गरेका प्रतिबद्धता पूरा गर्न दृढ संकल्पका साथ अगाडि बढेका छौं । जसरी पनि पूरा हुनेछन् । धेरै संकल्प छन्, अधुरा योजना पूरा गर्ने र नयाँ योजना थाल्ने, भौतिक पूर्वाधारलाई ध्यान दिएका छौं ।

सामाजिक सुरक्षा, न्याय र सुशासनलाई प्राथमिकतामा राखेका छौं । जनताका आधारभूत विषयलाई ध्यान दिँदै पानीमा ५ हजार लिटर प्रयोग गर्नेलाई निःशुल्क सेवा सुरु गरेर १३ सयले यस्तो सुविधा पाएको अवस्था छ । सबै वडामा फोटोकपी सेवा निःशुल्क, निवेदनका सबै ढाँचा १३ वटै कार्यालयमा सेवाग्राहीलाई दिने व्यवस्था गरेका छौं ।

– प्रदेशमा एकमात्र महिला मेयर हुनुहुन्छ । कसरी काम गरिरहनुभएको छ ?

मैले अघिल्लो पटक उम्मेदवारी दिँदादेखि नै धेरैले मलाई ऊर्जा दिनुभएको थियो । त्यो साथ निरन्तर पाइरहेको छु । पार्टीको नेतृत्वले विश्वास गरिरहेको छ । कार्यकर्ताले साथ दिनुभएको छ । आमनगरवासीले मेरो एजेण्डामा विश्वास गर्नुभएको छ । महिला भएर यसरी जिम्मेवारीमा आउँदा धेरै महिला दिदीबहिनीहरुले अपनत्व भएको महसुस गर्नुभएको छ । मैले उहाँहरुको भावनाको प्रतिनिधित्व गर्नेछु । महिलालाई जिम्मेवारीमा पठाउँदा कसरी काम गर्दा रहेछन् भन्ने उदाहरणीय काम गर्नेछु । नगरको जिम्मेवारीमा आएसँगै नियमित कामको साथमा महिलाको प्रतिनिधित्व हुनेगरी केही काम थालेको छु ।

– के काम थाल्नुभयो महिलाकै लागि ?

हिंसा पीडित महिला सेफ हाउस, महिला उद्यम केन्द्र, पढ्न नपाएका महिलाका लागि विद्यालयलगायत महिला सशक्तीकरणका धेरै योजना सुरु भएका छन् । महिला सहभागिताको योजना बनाएर कार्यान्वयनमा लगेको छु । धेरै काम सुरु भएका छन् ।

– कसरी कामको संयोजन गर्नुभएको छ ?

मैले नगरमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर टीमवर्कमा काम गर्ने गरेको छु । भौतिक पूर्वाधार, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आर्थिक समृद्धि तथा पर्यटन विकासमा विशेष योजना बनाएर काम गरेका छौं । ५ वर्षमा पहिलो चरणमा सकिने योजनाको सुरुवात र दीर्घकालीन योजना रणनीति बनाएर काम थालनी गरेका छौं । सबै दलको सहयोग पाएको छु ।

– तर, नगरपालिकाभित्र सबैलाई मिलाउन नसकेको आरोप छ नि ?

केही वडाध्यक्ष र उपमेयरले मैले चाहेअनुसार कार्यसम्पादन नगरेको जस्तो लागेको सत्य हो । त्यसलाई मिलाउन मैले धेरै प्रयास गरेको छु । यहाँको वास्तविकता उहाँहरुले बुझिसक्नुभएको छ । अब त्यो समस्या नहोला भन्ने अपेक्षा गरेको छु ।

– कस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ?

बालमैत्री नगरपालिका कार्यान्वयन, महिला सशक्तीकरण र समावेशी, समृद्ध सुनवल, नमुना सुनवल मेरो लक्ष्य हो । यसैलाई आधार बनाएर काम गरेको छु ।

अबको पाँच वर्ष मेरो पूरै समय नगरका जनतालाई हुनेछ । खानेपानी, स्वास्थ्य, शिक्षामा सुधार गर्नेछु । नगरका विपन्न र विद्यालयको पहुँचमा जान नसकेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउनेछु । विपन्न बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन सुरु भएको छ । शिक्षाको गुणस्तर सुधार्न र स्वास्थ्यको क्षेत्रमा ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई पहिलो प्राथमिकतामा राखेर काम थालेका छौं ।

– नगरलाई समृद्ध बनाउने कुरा गर्नुभयो । कसरी बन्छ समृद्ध नगर ?

म पाँच वर्ष अगाडि उम्मेदवार हुँदा पनि नगरको विकास केन्द्रित हुने योजनाहरू अगाडि सारेकी थिएँ । दोस्रो चरणमा पनि समग्र योजना उस्तै–उस्तै छन् । मेरो मुख्य योजना पश्चिम क्षेत्रकै पुरानो शहर बुटवल नजिक रहेको सुनवललाई समृद्ध बनाउने हो । मेरो कार्यकालमा समृद्ध सुनवलको आधार तयार गर्नेछु । मलगायत उपप्रमुख एमालेबाट निर्वाचित भए पनि सबै दलहरूसँग मैत्रीभाव कायम गरी नगरलाई समृद्ध बनाउनेमा केन्द्रित गरेको छु । मैले सबै नगरवासीको भावनालाई बुझ्ने गरी काम थालेको छु ।

अबको पाँच वर्ष मेरो पूरै समय नगरका जनतालाई हुनेछ । खानेपानी, स्वास्थ्य, शिक्षामा सुधार गर्नेछु । नगरका विपन्न र विद्यालयको पहुँचमा जान नसकेका बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउनेछु । विपन्न बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन सुरु भएको छ । शिक्षाको गुणस्तर सुधार्न र स्वास्थ्यको क्षेत्रमा ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई पहिलो प्राथमिकतामा राखेर काम थालेका छौं । ज्येष्ठ नागरिक बिरामी भए नगरको आफ्नै एम्बुलेन्स पुगेर बिरामीलाई निःशुल्क अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरेका छौं ।

नगरका सबै नागरिकलाई स्वास्थ्य बीमा पहुँचमा ल्याउँदै दीर्घरोगी, मृगौला पीडितका बिरामीको परिवारलाई वार्षिक एक लाख रुपैयाँ नगरले उपलब्ध गराउने योजना अगाडि सारेको छु । किनकि यति सहयोग घरआँगनको सरकारले जनतालाई दिनैपर्छ । मासिक पाँच हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र पानीको धारा जडान गर्न नसक्ने विपन्न र गरिब परिवारलाई निःशुल्क धारा जडान गरी उनीहरुको साथमा नगर सरकार रहेको अनुभूति गराउने योजना कार्यान्वयनको चरणमा छन् । नगरका भित्री र तत्काल निर्माण गर्नुपर्ने सडकहरू छिट्टोभन्दा छिट्टो निर्माणलाई जोड दिएका छौं ।

– आन्तरिक स्रोत कस्तो छ ? प्रदेश तथा संघीय सरकारसँग कसरी समन्वय गरिरहनु भएको छ ?

केही योजना क्रमागत भए पनि संघ तथा प्रदेशबाट बजेट कम आएकाले समयमै पूरा हुन सकेका छैनन् । आन्तरिक स्रोत त्यति धेरै छैन । नागरिकका अपेक्षा धेरै छन् । पर्यटन क्षेत्रको विकास गर्दै आन्तरिक उत्पादनलाई ध्यान दिएका छौं । शिक्षा, स्वास्थ्य, कृषितर्फ विशेष योजना बनाएका छौं । प्रदेश र संघबाट चाहे जसरी सहयोग पाएका छैनौं । दोहोरो करको नीतिलाई अन्त्य गर्दै करको दायरा बढाएका छौं । बजेट अभावमा केही महत्वपूर्ण योजना पनि अगाडि सार्न सकेका छैनौं ।

प्रदेश र संघबाट हामीले अपेक्षा गरेअनुसारका योजना पाएका छैनौं । यसबाट समस्या परेको छ । स्थानीय सरकारमा कुन दलको मान्छे छ भनेर माथिका सरकारले बजेट काट्ने समस्याबाट हामी पीडित छौं ।

– अन्य पालिकाभन्दा सुनवल फरक छ भनेर कसरी देखाउने योजना छ ?

म शासक होइन सेवक बनेर जनताको सेवामा केन्द्रित छु । नगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशीलतातर्फ केन्द्रित गराउँदै लैंगिक हिंसामुक्त सुनवल पनि बन्नेछ । नगरमा सबै समुदायको बसोबास छ । नगरका हरेक वडाका विपन्नहरूलाई कम्तीमा ५ वटाका दरले प्रत्येक वर्ष घर निर्माण गरेर उनीहरूलाई स्थापित गर्ने काम थानली गरेका छौं । अघिल्लो सरकारले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिएका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर