संघर्षले खारिएकी सरस्वती- लुम्बिनीकै एकमात्र महिला गाउँपालिका अध्यक्ष – Nepal Press

संघर्षले खारिएकी सरस्वती- लुम्बिनीकै एकमात्र महिला गाउँपालिका अध्यक्ष

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामी लुम्बिनी प्रदेशकै एकमात्र महिला अध्यक्ष हुन् । अघिल्लो कार्यकालमा उपाध्यक्ष विजयी उनलाई आफ्नै मौलिक योजना र कार्यक्रमले अध्यक्ष बनाएको धेरैको दाबी छ ।

उपाध्यक्ष भएका बेला सुरु भएर अपूरा कैयौं कामको अल्पकालीन र दीर्घकालीन योजनासहित पूरा गर्ने आफ्नो प्रतिबद्धतालाई मतदाताले विश्वास गरेर अध्यक्ष जिताएको सरस्वतीको भनाइ छ ।

अर्घाखाँचीको पाणिनी १ अड्गुरीमा जन्मिएकी ४२ वर्षीय सरस्वती आफ्नै संघर्षले यहाँसम्म आइपुगेकी हुन् । परिवारका सबै सदस्य नेपाली कांग्रेसमा आबद्ध भए पनि उनी वामपन्थी राजनीतितिर जोडिइन् । त्यसैले अध्यक्ष भएपछि तीन पटकसम्म कांग्रेसबाट निर्विरोध वडाध्यक्ष बनेका आफ्नै दाइले बधाईसम्म नदिएको उनी स्मरण गर्छिन् ।

सरस्वती क्याम्पस जीवनमा अखिलमा आवद्ध भएकी थिइन् । २०५९ सालमा विवाह भई पाल्पा आएपछि उनी एमाले आवद्ध भए पनि मुख्य जिम्मेवारीमा बसिनन् । पालिकामा आउनुअघि स्वास्थ्य स्वयंसेविकादेखि विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चको संयोजक, महिला समन्वय समिति, वन समितिलगायतमा जोडिइन् ।

एमालेबाटै वडाध्यक्ष उठेका माहिलो ससुराका कारण पनि आफूलाई राजनीतिमा अघि बढ्न सहज भएको उनी बताउँछिन्  । २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिबाट योजना ल्याएर जिल्लामै महिलाको पहिलो उपभोक्ता समिति गठन गरेर सडक निर्माणमा सक्रिय भएपछि धेरैले उनलाई चिन्न पाएका थिए  । काम गर्दा महिलालाई अघि बढ्न छेक्ने धेरै तगारा भए पनि त्यसलाई छिचोलेर जानुपर्ने उनी बताउँछिन् ।

२०७४ वैशाखमा पार्टी सदस्यता लिएकै वर्ष उनी गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । २०७९ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा विजयी भइन् ।

सामाजिक संरचनाकै कारण महिलालाई नेतृत्वमा पुग्न र टिक्न धेरै चुनौती रहेको उनको अनुभव छ । तर, हिम्मत गरेर अगाडि बढे कसैले रोक्न नसक्ने सरस्वतीको निचोड छ ।

‘महिलालाई अनेक बहानामा रोक्न खोजिन्छ, जसोतसो गए पनि विश्वास गरिँदैन । तर, मैले त्यो सबै भ्रम चिनुपर्छ भन्ने अठोट र दृढ संकल्पका साथ काम गरें र सफल पनि भएँ । अझै हुन्छु भन्ने लागेको छ’, उनले भनिन्, ‘म प्रमुख भएपछि पनि धेरैले स्वीकार गर्न गाह्रो पाएँ, कति पटक मेरो मोबाइलमा फोन गर्दा मेरा आवाज सुनेर अध्यक्षज्यूलाई दिनुस् न भनेको पाएको छ । यो सुन्दा यो संरचना भत्काउन कठिन रहेछ भन्ने स्मरण हुन्छ ।’

उनले आफू पालिकामा आएपछि महिला सहभागितालाई प्राथमिकता दिएको र अधिकांश ठाउँमा ५० प्रतिशत सहभागिता सुनिश्चित गराएको बताइन् । क्षमता भए पनि महिलालाई पछाडि पारिएको देखेर आफ्नो कार्यकालमा महिलालाई नेतृत्व लिन सक्ने र स्वरोजगार बनाउने कार्यक्रम प्राथमिकतामा राखेको उनी बताउँछिन् ।

‘महिलालाई नेतृत्व तहमा पुग्न त्यति सजिलो छैन । तर, जसरी पनि हिम्मत गर्नुपर्छ’, सरस्वती भन्छिन्, ‘गाउँपालिकाको नेतृत्वमा महिला हुँदा समग्र महिलाको आत्मविश्वासमा फरक पर्ने मैले अनुभव गरेको छु । महिला नेतृत्वमा पुगे धेरै महिलामा आत्मविश्वास बढाउँदोरहेछ, आफ्ना समस्या समाधान हुने परिस्थिति बन्यो भन्ने भरोसा लिनेरहेछन् ।’

सकेसम्म नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने मनसाय अधिकांशमा देखिएको उनको बुझाइ छ । ‘पितृ सत्तात्मक सोचले अझै पनि समाज उठ्न सकेको छैन’, उनले भनिन् ।

यस्ता छन् उनका नमुना काम

पालिकामा भौतिक विकास, कृषि पकेट क्षेत्र, स्वास्थ्य सेवामा पहुँच विस्तार, पर्यटन विकासको योजनासहितका महत्वपूर्ण काम उनले थालेकी छन् । पालिका पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका, लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका, खरको छानामुक्त गाउँपालिका, पूर्ण खोप, शैक्षिक प्रमाणपत्र धितो राखेर कृषि क्षेत्रमा ऋण दिने गाउँपालिकालगायतका जनजीविकाका सवाल कार्यान्वयन गर्न सफल भएको सरस्वती बताउँछिन् ।

पालिकाले ‘एक घर एक धारा’ र स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । ‘स्थानीय मदिरा ब्राण्डिङ गर्न पालिकाले कानून नै बनाएको छ । तर, प्रदेशले रोकेको छ’, पालिका अध्यक्ष सरस्वतीले भनिन्, ‘त्यसका लागि रैथाने बाली कोदो संरक्षण अभियान थालिएको छ ।’

पालिकाका ९ वटै वडामा महिला समन्वय समिति, पालिकास्तरीय महिला सञ्जालमार्फत् आयआर्जन तथा समस्या समाधान, मागमा आधारित आयआर्जन तथा तालिम सञ्चालन यहाँका नमुना काम भएको उनको भनाइ छ ।

त्यसैगरी टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा शिक्षा, स्वास्थ्य, कृषि पशु घटना दर्ता, व्यवसाय दर्तालगायतका सेवा प्रत्येक तीन-तीन महिनामा शिविर नै बनाएर कार्यान्वयनमा लगिएको उनको भनाइ छ । सामाजिक सुरक्षाका भत्ता र परिचयपत्र वितरणदेखि योजनाको फरफारक र सेवा प्रवाहबारे जनताको गुनासो सुन्ने काम पनि यही शिविरमा हुन्छ ।

चालू आवमा खानेपानी ल्याब, मूलमै परीक्षण गरी, ट्यांकी संरक्षण, संघीय सरकारको शिक्षाको रियल प्लानअन्तर्गत वास्तविक अवस्था पहिचान गरेर ३-८ कक्षामा पढ्ने विद्यार्थी केन्द्रित कार्यक्रम, अभिभावकविहीन विद्यार्थीलाई मासिक १ हजार दिने कार्यक्रम निरन्तर छन् ।

पालिकामा रहेको जंगली जनावर बाँदरलगायत नियन्त्रणको योजना बनाए पनि प्रभावकारी नभएको अध्यक्ष सरस्वतीको भनाइ छ ।

‘भारतबाट टीम लगाएर बाँदर पक्डे पनि समाधान भएन, बन्दुक पड्काएर भगाउने अभियान पनि सफल भएन, अब के गरेर समाधान खोज्ने ? उचित विकल्प भएन, स्थानीय सरकारले मात्रै यो गर्न सक्ने देखिएन’, उनले भनिन्, ‘पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, लैंगिक समानता, आदिवासी जनजाति, दलित र पछाडि परेका वर्गका लागि सामाजिक न्यायका कार्यक्रम प्राथमिकतामा छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर