‘जनप्रतिनिधिले गाडीको सीसा लगाएर हिँड्यो भने जनताका समस्या कसले देख्छ ?’ – Nepal Press
नेपाल टक

‘जनप्रतिनिधिले गाडीको सीसा लगाएर हिँड्यो भने जनताका समस्या कसले देख्छ ?’

चौकुने गाउँपालिका अध्यक्ष विश्वकर्मा भन्छन्- स्थानीय तहका दायित्व धेरै छन् तर, बजेट एकदमै सीमित

सुर्खेत । सुर्खेतका कतिपय स्थानीय तहमा भौगोलिक कठिनाइ छ । भौगोलिक बनावटले विकास निर्माणमा समस्या भोग्नुपर्ने बाध्यता छ ।

सुर्खेतको चौकुने गाउँपालिकामा पनि यस्तै समस्या छ । यहाँका जनताले अहिलेसम्म आरामदायी सवारी यात्रा गर्न पाएका छैनन् । यहाँका सबै जनताले राम्ररी बिजुली बत्ती पाल्न पाएका छैनन् । खानेपानी नै समस्या भएपछि सिंचाइ सुविधा हुने कुरै भएन ।

संघीयता आएको दशक बित्दैछ । तर, गाउँका नागरिकले यसको प्रत्याभूति गर्न पाएका छैनन् । गाउँठाउँका यी र यस्ता समस्यामा केन्द्रित रहेकाले २०७९ सालको स्थानीय चुनावमा नेकपा माओवादी पार्टीबाट चौकुने गाउँपालिकाको अध्यक्षमा निर्वाचित खड्क विश्वकर्मासँग नेपालप्रेसकर्मी अप्सरा विष्टले कुराकानी गरेकी छन् ।

सरकारले उपलब्ध गराउने यातायातको सुविधा अध्यक्ष विश्वकर्माले अहिलेसम्म लिएका छैनन् । पालिकाको विकास निर्माणमा आफैं खट्ने अध्यक्षको कामको प्रशंसा सामाजिक सञ्जालमै हुँदै आएको छ । प्रस्तुत छ विश्वकर्मासँग गरिएकाे कुराकानी नेपाल टकमाः

– तपाईं निर्वाचित भएर आएको डेढ वर्ष पुग्नै लाग्दा अहिलेसम्म के के उपलब्धि भए ?

यो क्रममा गाउँपालिकालाई थितिमा ल्याउने काम गरेको छु । गाउँपालिकामा थिति बसेको थिएन । कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध निकै कमजोर थियो । मैले त्यसलाई सुधार गर्ने काम गरेको छु । मैले केही लक्ष्य बनाएको छु । गुणस्तरीय शिक्षा प्रदान गर्ने, कृषि उत्पादन वृद्धि गर्ने, फलफूल तथा कृषिजन्य उत्पादनहरूको व्यवस्थापन र पहिचान गर्ने तथा प्रोत्साहन गर्ने काम अगाडि बढाएका छौं ।

चौकुने गाउँपालिकामा ५५-६० प्रतिशत ऐलानी तथा अस्थायी बसोबास भएको पुर्जा भएको हुँदा त्यहाँका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्नु मेरो दायित्व हो । जसका लागि तीन वटा रणनीति बनाएर लागेको छु ।

– जनतासामु के के गर्छु भन्ने वाचा गर्नुभएको थियो ?

मेरो पहिलो बाचा गुटु खोलादेखि बेनीघाटसम्मको सडकको स्तरोन्नति गर्ने थियो । पार्टीका अध्यक्ष, प्रदेश र सङ्घका अर्थमन्त्रीज्यूले गरेको मेहनतअनुसार समयमै टेन्डर भएर चुनाव अगावै काम हुने वातावरण सिर्जना भयो । त्यसैले मदन भण्डारी राजमार्गले अहिले सार्थकता पाएको छ । बेमातसम्मको बाटो तीव्र गतिमा अगाडि बढेको छ ।

दोस्रो बाचा, चौकुने गाउँपालिकाको गुटुको भागमा रहेको पानीको मुहानको संरक्षण गर्ने भनेको थिएँ । त्यसका लागि प्रदेश र संघीय सरकारको समपूरक बजेटबाट ४२ करोड रुपैयाँ विनियोजन भएको छ । अहिले जलासययुक्त आयोजना बन्दैछ । यसले चौकुनेका ६, ७ र ८ वडाका बस्तीलाई नयाँ ऊर्जा दिने र त्यहाँका बासिन्दाको जीवन बदल्ने काम गर्नेछ ।

सम्भावनाभन्दा चुनौती धेरै छ । हरेक चुनौतीको सामना नगरेर सफलता प्राप्त गर्न सक्दैनौं । भौगोलिक कठिनाइका कारणले अप्ठेरो छ ।

तेस्रो वाचामा चौकुने गाउँपालिकामा सबै घरमा बत्ती पुर्‍याउने लक्ष्य लिएको थिएँ । त्यसका लागि पनि हामी सफल भएका छौं । मेरो कार्यकालमा चौकुनेका सम्पूर्ण घरमा बत्ती बाल्नेछु । वडा नम्बर ९ र १० मा बृहत् सिंचाइ कार्ययोजना बनाउनुपर्छ भनेर लागिपरेको छु । यो आर्थिक वर्षमा अगाडि बढ्नेछ भन्ने आशा लिएको छु ।

– काम गर्न चुनौती पनि होला नि ?

सम्भावनाभन्दा चुनौती धेरै छ । हरेक चुनौतीको सामना नगरेर सफलता प्राप्त गर्न सक्दैनौं । भौगोलिक कठिनाइका कारणले अप्ठेरो छ । चौकुने गाउँपालिका प्राकृतिक रूपमा भन्दा ९ किलोमिटर मात्रै निकास छ । अरू समुन्द्र बीचको टापु जस्तो छ । कर्णाली नदीले घेरेको छ । यसैले विकासका लागि चुनौती छ । यो चुनौतीलाई सामना गर्ने योजना बनाइरहेका छौं । वडा नम्बर १ को रातो माछा, बेनीघाटमा रहेको शहर माछा लोप हुँदै गएको र ओदको संरक्षण गर्न लागिपरेका छौं । पहिला त्यहाँ भएको नदी हाम्रा लागि दुर्भाग्यको कारण बन्यो । पूर्वबाहेक अन्त कतै पनि जान पाइन्थेन । अब त्यो नदीलाई आयमूलक बनाउन मेहनत गरिरहेका छौं ।

– तपाईंको पालिकामा अध्यक्ष र उपाध्यक्ष फरक दलको हुनुहुन्छ । काम गर्न कतिको सहज छ ?

अध्यक्ष र उपाध्यक्षका आआफ्ना जिम्मेवारी छन् । यसले गर्दा विवाद गर्न जरुरी हुँदैन । हाम्रो पालिकामा अध्यक्ष र उपाध्यक्षमा विवाद र तिक्तता छैन । हामी हरेक काम सल्लाहमा गर्छौं ।

– सरकारले दिएको सवारी सुविधा लिनुभएको छैन, किन ?

२०६३ साल चैत १३ गते बाटो खनेर, भोर्लाको लहराले बाटो नापेर चौकुने गाउँपालिका- २ लगाममा सडक पुर्‍याउने मान्छे म हो । हामीले पहिला नै गरेको काम अहिले बालेन-हर्कहरुले सिकेका हुन् । जुन बेला युद्ध चलेको थियो । सबै युद्धमा लागेका थिए । म विकास निर्माणमा लागेको थिएँ । जनताका खिएका कुटो कोदालोले ३३ किलोमिटर सडक लगाम पुर्‍याएका थियौं । उहीँ मान्छे गाउँपालिका अध्यक्ष भए भनेर देखासिकी गर्नु छैन । जनताको तागतले त्यहाँ सडक पुर्‍यायौं । त्यसैले मैले पाउने सुविधा जनताले पाऊन् भन्ने लाग्छ । म निर्वाचित नहुँदा पनि बाइक चढेको थिएँ । निर्वाचित भइसकेपछि पनि मलाई पुग्ने ठाउँमा बाइकले पुर्‍याएकै छ ।

सडक अप्ठ्यारो भयो भनेर चौकुनेमा गाडी नजाँदा ४५ दिनसम्म टिपरमा मैले आफैंले जनतालाई गन्तव्यमा पुर्‍याएँ । जनताले धुलो खाएका छन् भने मैले पनि खान पर्छ । जनप्रतिनिधिले गाडीको सीसा लगाएर हिँड्यो भने जनताका समस्या कसले देख्छ ? त्यसैले मैले आफ्नै बाइक प्रयोग गर्ने गरेको छु ।

निर्वाचित हुनुभन्दा पहिला जनतालाई नानाथरि आश्वासन दिएर भोट मागेर विजयी हुने, फेरि भएन भने आफ्नो गाडी थन्क्याएर राख्ने र सरकारी साधनको ढुट्टो उडाउने भन्ने त हुँदैन नि ? यो गलत हो । मलाई जहिलेसम्म बाइकले साथ दिन्छ, त्यही दिनसम्म बाइक नै चढ्छु । सडक अप्ठ्यारो भयो भनेर चौकुनेमा गाडी नजाँदा ४५ दिनसम्म टिपरमा मैले आफैंले जनतालाई गन्तव्यमा पुर्‍याएँ । जनताले धुलो खाएका छन् भने मैले पनि खान पर्छ । जनप्रतिनिधिले गाडीको सीसा लगाएर हिँड्यो भने जनताका समस्या कसले देख्छ ? त्यसैले मैले आफ्नै बाइक प्रयोग गर्ने गरेको छु ।

– गाउँपालिकामा तपाईंका प्राथमिकता के के छन् ?

मेरो प्राथमिकता शिक्षा, नागरिकलाई जमिनको मालिक र कृषिमा वैज्ञानिकीकरण हुन् ।

– अख्तियार, महालेखाको प्रतिवेदनलगायतले स्थानीय तहमा थुप्रै आर्थिक अनुशासनको प्रश्न उठाएको छ । तपाईं यसको पालनामा कति प्रतिबद्ध हुनहुन्छ ?

स्थानीय तहमा दिइएको जिम्मेवारी र बजेटबीच सन्तुलन छैन । स्थानीय तहलाई दायित्व धेरै दिएको छ । तर, बजेट एकदमै सीमित छ । अभावका बीच स्थानीय तह चल्ने गरेका छन् । भएको सीमित बजेट पनि दुरुपयोग भयो भने जनताले कहाँबाट विकास निर्माण देख्न पाउँछन् ? त्यसैले आर्थिक दुरुपयोग गर्ने अस्थायी कर्मचारी भएको खण्डमा जागिरबाट निलम्बन गर्छौं । यदि स्थायी कर्मचारी हो भने स्पष्टीकरण लेखेर वास्तविकता के हो सत्यतथ्य छानबिन गर्ने र कारबाहीको दायरामा लिनमा हामीले सिफारिस गर्छौं । हाम्रो पालिकामा चुहावट हुने र अख्तियारको दुरुपयोग गर्ने काम भएको छैन । म यो हुन पनि दिन्न ।

पाँच वर्षमा सुधार हुने काम थुप्रै छन् । पाँच वर्षभित्र प्रत्येकको घरमा बत्ती बल्छ । घाटगाउँ बृहत सिंचाइमार्फत वडा नम्बर ९ र १० का बासिन्दाले सिंचाइ सुविधा लिनेछन् । गुटुखोलादेखि बेनीघाटसम्मको सडक कालोपत्रे हुनेछ ।

– कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई असहयोग गरेको पनि सुनिन्छ । कतिपय ठाउँमा नियमबाहिरको काम गराउन जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिने कुरा पनि आइरहेका छन् नि ?

हाम्रो पालिकामा कर्मचारीलाई असहयोग गर्ने भन्ने छैन । तर, स्थानीय तहका कर्मचारीमा जाँगर छैन । कर्मचारी समायोजन ऐनलगायतका विषयले कर्मचारीको वृत्ति विकासमा केही समस्या पारेको भन्ने छ । कर्मचारीले आफ्नो डिउटी त पूरा गर्नुभएको छ । तर, जाँगर लगाएर काम भने गर्नुहुँदैन ।

– तपाईंको कार्यकालभित्र पालिकामा के के सुधार देख्न पाइन्छ ?

पाँच वर्षमा सुधार हुने काम थुप्रै छन् । पाँच वर्षभित्र प्रत्येकको घरमा बत्ती बल्छ । घाटगाउँ बृहत सिंचाइमार्फत वडा नम्बर ९ र १० का बासिन्दाले सिंचाइ सुविधा लिनेछन् । गुटुखोलादेखि बेनीघाटसम्मको सडक कालोपत्रे हुनेछ । घाटगाउँ कुमाल बिजौरा टटानी सडकको टेन्डर भएर काम अगाडि बढ्नेछ । साना सडक ग्राभेल हुन्छन् । मुख्य सडक कालोपत्रको प्रक्रियामा जानेछन् । अधिकतम घरमा खानेपानीको धारा जोडिन्छ । विद्यालयमा गुणस्तरीय पढाइ हुन्छ । सबै जनता जग्गाको मालिक भइसक्छन् । कृषि क्षेत्रमा आयआर्जन बढ्नेछ । मेरो कार्यकालमा यति काम सम्पन्न हुनेछन् ।

– प्रदेश र संघ सरकारबाट कतिको साथ र अधिकार पाइरहनु भएको छ ?

प्रदेश सरकारले पक्षपात गरेको छ । बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा रुपैयाँको डल्लै पठाएको छ । चौकुने गाउँपालिकामा निकै दयालाग्दो ढङ्गले बजेट पठाएको छ । चौकुनेमा जति बजेट जान पर्ने थियो, त्यसको एकतिहाइ पनि गएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर