निजी क्षेत्रदेखि सरकार र राजनीतिक दलसम्मको एउटै स्वर- नेपालमा लगानीका विविध क्षेत्र छन् – Nepal Press

निजी क्षेत्रदेखि सरकार र राजनीतिक दलसम्मको एउटै स्वर- नेपालमा लगानीका विविध क्षेत्र छन्

काठमाडौं । नेपालमा राजनीतिक दल, निजी क्षेत्र र सरकारको एउटै स्वर वा आवाज विरलै सुनिन्छ । प्रतिपक्षले सत्तापक्षलाई र सत्तापक्षले प्रतिपक्षलाई नटेर्नु नेपालमा नौलो मानिँदैन । निजी क्षेत्र सरकारको कुरा काट्ने, सरकार निजी क्षेत्र मैत्री नभएका जस्ता आरोप लाग्दै आएको छ ।

तर, तेस्रो लगानी सम्मेलन चलिरहँदा राजनीतिक दल, निजी क्षेत्र र सरकारको एउटै आवाज छ- ‘नेपाल सम्भावना भएको देश हो । सरकारले भर्खरमात्र ९ वटा कानून संशोधन गरेर लगानीको वातावरण सृजना गरेको छ । आउनुस्, नेपालमा लगानी गर्नुस् । त्यसको प्रतिफल सजिलैसँग लैजाने जिम्मा सरकारले दिन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्तामाझ नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको दाबी गर्दै लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न सरकार निरन्तर अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी आठ कानून परिमार्जन गरिएको जानकारी गराए ।

अर्थमन्त्री वर्षमान पुनले पनि नेपाल लगानीमा प्रचुर सम्भावना भएको देश भएको जिकिर गर्दै लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई अपिल गरे ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो पार्टीको पहलमा लगानी सम्मेलन शुरु भएको बताउँदै नेपालमा लगानीका विविध क्षेत्र रहेको उल्लेख गरे ।

निजी क्षेत्रको ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको सुनाए । उनले लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना देखाए ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो लगानी सम्मेलनलगत्तै कोरोना महामारीका कारण सम्मेलनका प्रतिबद्धता पूरा गर्न नसकिए तापनि त्यसयता लगानीको वातावरणमा व्यापक सुधार आएको बताए ।

उनले भने, ‘नेपाल खुला प्रजातन्त्र भएको देश हो । लगानीका लागि योभन्दा ठूलो शक्ति कुनै हुँदैन । यसले लगानी गर्न सहज बनाउँछ । ’

अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पनि विदेशी लगानीकर्तालाई लगानीको सम्भावना देखाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर