सञ्चारकर्मीबाट जनप्रतिनिधि बनेकी नन्दाको निष्कर्ष- प्रश्न गरे जस्तो काम गर्न सजिलो रहेनछ – Nepal Press

सञ्चारकर्मीबाट जनप्रतिनिधि बनेकी नन्दाको निष्कर्ष- प्रश्न गरे जस्तो काम गर्न सजिलो रहेनछ

कैलाली । दुई वर्ष अघिसम्म रेडियो बाजुराकी समाचार प्रमुख नन्दा थापा प्रश्न गर्ने ठाउँमा थिइन् । उनले कैयौं पटक बाजुराको बडिमालिका नगरपालिकाको विकास, समृद्धि र नागरिकको जनजीविकाका सवालमा प्रश्न उठाइन् । नगरपालिकाका जनप्रतिनिधिहरुलाई निरन्तर खबरदारी गरिन् नन्दाले ।

भूईं मान्छेका समाचार बनाउने उनले महिला, दलित, विपन्न र पहुँच नभएकाहरूलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने र सेवा प्रवाहमा द्रुत हुनुपर्नेमा प्रश्न उठाएकी थिइन् ।

तर, अहिले नन्दा आफैं सञ्चारकर्मी तथा नागरिकका प्रश्नको जवाफ दिने ठाउँमा पुगेकी छन्, प्रश्न गर्नेबाट काम गरेर देखाउने ठाउँमा पुगेकी छन् ।

‘वर्षौंसम्म बाजुराको गरिबी, अशिक्षा र महिला हिंसाको बारेमा रिपोर्टिङ गरें । अहिले आफैं यस्ता समस्या हटाउने गरी काम गर्ने स्थानमा छु । हरसम्भव परिणाम दिनेगरी काम गर्ने कोसिस गरिरहेको छु’, नन्दाले भनिन् ।

स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयरकी उम्मेदवार नन्दाले कांग्रेस उम्मेदवार राधिकाकुमारी शाहीलाई हराउँदै बडिमालिकाको बागडोर सम्हाल्ने स्थानमा पुगिन् । उनले ४ हजार २३३ मत पाउँदा राधिकाकुमारी ३ हजार ३५१ मा रोकिइन् ।

नन्दा नेपाल पत्रकार महासंघ बाजुरा शाखाको सचिव र प्रेस चौतारी जिल्ला शाखा अध्यक्षबाट राजीनामा दिएर राजनीतिमा छिरेर जनप्रतिनिधि बनेकी हुन् ।

‘पत्रकारिता गर्दा जनप्रतिनिधिकै कारण संघीयता कार्यान्वयन नभएको जस्तो लागेको थियो । त्यसैले आफू त्यो ठाउँमा हुँदा केही गर्न सकिन्छ कि भनेर जनप्रतिनिधि भएको हुँ’, उनले सुरुका दिन सम्झिन् ।

रेडियो बाजुराबाट पत्रकारिता सुरु गरेकी उनले राजधानी दैनिक, दृष्टि अनलाइन, सामुदायिक सूचना नेटवर्कमा पनि काम गरिन् । सञ्चारकर्मी छँदा उठाएका विषय आज आफैं सम्बोधन गर्ने ठाउँमा पुग्दा पूरा गर्न ठूलै चुनौती रहेको नन्दा बताउँछिन् ।

‘काम, कर्तव्य र अधिकारमा मेयरको भन्दा उपमेयरको बढी छ । नेतृत्व तहमा भूमिका नहुँदा कार्यान्वयनमा समस्या हुने गरेको देखियो । पितृसत्तात्मक सोचका कारणले गर्दा पनि निर्णय गर्न समस्या र निर्णय गरिसकेपछि कार्यान्वयनमा चुनौती आइरहन्छ’, उनी भन्छिन्, ‘मेरो स्थानीय तहमा अहिलेसम्म सबैसँग समन्वय गरेर राम्रो भइरहेको छ ।’

महिलाले पुरुषसरह निर्णय लिन सक्दैनन् भन्ने गलत भाष्यलाई आफूले चिरेको उनको दाबी छ । निर्णायक तहमा महिलाको सहभागिता अनिवार्य हुनुपर्नेमा उनले जोड दिइन् ।

‘संविधानले प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने उल्लेख गरेको छ । तर, दलहरू महिलालाई उपप्रमुखमै सीमित राख्न चाहन्छन्’, उनी भन्छिन्, ‘त्यसैमाथि पनि गठबन्धनबाट निर्वाचन हुँदा धेरै पालिकामा महिला उपप्रमुख पनि छैनन् । यो विडम्बना हो ।’

बडिमालिकामा ९ वटा वडा छन् । सबै वडाध्यक्ष पुरुष छन् । मेयर पनि पुरुष हुँदा उनी आफू कहिलेकाहीँ एक्लो भएको महसुस गर्छिन् ।

नन्दा आफ्नो कार्यकालमा महिला सहभागिता सुनिश्चित हुने गरी काम गरिरहेको बताउँछिन् । बाजुरामा व्याप्त बाल विवाह अन्त्य, महिला स्वरोजगार, उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू जुटिरहेको उनको भनाइ ।

‘मुख्य गरी बाल विवाह, छाउपडी, महिला हिंसा जस्ता विद्यमान समस्या हटाउन प्रतिबद्ध भएर लागिरहेको छु’, उनले भनिन्, ‘अहिले महिला एवं लैङ्गिक तथा घरेलु हिंसामा केही कमी आएको छ ।’

भोट माग्न घरदैलोमा जाँदा नागरिकका आवश्यकता र प्राथमिकता सङ्कलन नगरेको तर, अहिले नगरवासीका आवश्यकता तथा प्राथमिकताअनुसार नीति तयार गरिरहेको उपमेयर नन्दा बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर