वडाध्यक्ष हुँदै उपाध्यक्ष भएकी सिंहकाे निचाेड- कर्णालीमा महिलाको क्षेत्रमा फरक र नयाँ काम सुरु हुनै बाँकी छ – Nepal Press

वडाध्यक्ष हुँदै उपाध्यक्ष भएकी सिंहकाे निचाेड- कर्णालीमा महिलाको क्षेत्रमा फरक र नयाँ काम सुरु हुनै बाँकी छ

सुर्खेत । कर्णाली प्रदेश भौगोलिक रूपमा विकट छ । जसले गर्दा भौतिक पूर्वाधार विकासमा पछाडि रहेको छ । यहाँ स्वास्थ्य, शिक्षा, विद्युतीकरण, यातायात सञ्जाल विस्तारमा पनि अपेक्षाकृत विकास भएको छैन । मानवीय विकासका दृष्टिले पनि कर्णाली पिछडिएकै छ । संघीयता आएसँग स्थानीय तहमा महिलाले नेतृत्व तहमा पुग्ने अवसर पाए पनि निर्णय क्षमतामा प्रश्न उठाइन्छ, पहुँचबाट वञ्चित गरिन्छ ।

तैपनि जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले हरेस खाएकी छैनन् । उनले गाउँपालिकामा महिलासम्बन्धी विभिन्न काम गर्दै आएकी छन् । महिलाको जीविकोपार्जनका लागि आवश्यक तालिमसँगै रोजगारी सिर्जना हुने कार्यमा उनी लागिपरेकी छन् । २०७४ सालमा वडा अध्यक्षमा विजयी सिंह २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

कुशे गाउँपालिका जुम्लासँग जोडिएको पालिका हो, जहाँ सडकको राम्रो पहुँच छैन । यहाँका महिलाको चेतनास्तर पनि त्यति राम्रो नभएको उपाध्यक्ष सिंहको भनाइ छ ।

२०५३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी उनले परिवारबाट राम्रो साथ र सहयोग पाएको बताइन् । शिक्षण पेसाबाट राजीमाना दिएर राजनीतिमा होमिएकी सिंह कर्णालीका पिछडिएका महिलाको पक्षमा केही गर्ने उद्देश्य रहेको बताउँछिन् ।

‘विकास योजनामा आफ्नो दायित्वअनुसार अनुगमन, न्यायिक समितिमा आएका मुद्दाको छिनोफानो, महिलासम्बन्धी आर्यआर्जनका कार्यक्रममा बढी जोड दिँदै आएका छौं’, उपाध्यक्ष सिंहले भनिन्, ‘गाउँपालिकाका ९ वटै वडामा महिला लक्षित कार्यक्रम लिएर गएका छौं ।’

महिला सशक्तीकरण र आयआर्जनका काममा बढी जोड दिँदै आएको उपाध्यक्ष सिंहको भनाइ छ । उनका अनुसार गाउँपालिकाले महिलालाई स्वरोजगार बनाउन सिलाइकटाइ, ढकिया र मुढा बुन्ने जस्ता व्यवसायिक सीपमूलक तालिम दिँदै आएको छ ।

‘यस्ता सीपमूलक तालिमले केही रुपैयाँ आम्दानी हुन्छ । हामीकहाँ महिलाहरू अझै पनि श्रीमानको भर परेर बस्न बाध्य छन्’, उपाध्यक्ष सिंहले भनिन्, ‘हामीले तालिम दिएका २० मध्ये ५ जनाले सिकेको सीपबाट व्यवसाय नै अगाडि बढाउनु भएको छ ।’

कर्णालीमा सबैतिर एउटै समस्या र अवस्था भएकाले नयाँ र उदाहरणीय काम भन्ने नहुने उनको भनाइ छ । आफ्नो गाउँपालिकामा यातायात सुविधा नहुँदा स्थानीयले उत्पादन गरेका तरकारीलगायतले बजार नपाउने समस्या रहेको उपाध्यक्ष सिंहको भनाइ छ ।

‘गाउँमा गाडी नपुगेको र भौगोलिक रूपमा विकट हुँदा कृषकले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न पाउँदैनन् । तर, हामीले कृषिमा लगानी गरेका छौं’, उनले थपिन्, ‘टनेल, तरकारीका बीउ, फलफूलका विरुवा वितरण गरेका छौं । तर, बजार नपाउँदा महिलाहरू कृषिमा सक्रिय हुनै छोडेका छन् ।’

उनका अनुसार गाउँपालिकाले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेको छ । गर्भवती महिला लक्षित सुत्केरी कार्यक्रम विस्तार गरिएको छ । अपाङ्गता भएकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्था गरिएको छ ।

समाजमा हुने कुरीतिलाई हटाउनका लागि पनि महिला हिंसा सम्बन्धीका कार्यक्रमहरू गर्ने भनेर योजना बनाएको सिंहले बताइन् ।

‘कुशेमा महिला हिंसा अझै पनि कायम छ । समाजमा जति शिक्षित भए पनि चेतनामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुनेछैन’, उनले भनिन्, ‘हामीले महिला हिंसासम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरिरहेका छौं । मान्छेको चेतनामा सजिलै परिवर्तन ल्याउन सकिँदैन । कुरीति, कुसंस्कारले अझै पनि जरा गाडेर बसेको छ । यसमा परिवर्तन ल्याउन र परिणाम आउन धेरै समय लाग्छ ।’

उपाध्यक्ष सिंहले न्यायिक समितिमा आएका पीडितलाई तालिम दिने नयाँ कार्यक्रम ल्याइएको बताइन् । अहिले जनता नाफामुखी भएकाले तत्काल परिणाम खोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

‘अहिले काम गरे पनि, नगरे पनि जनताबाट गुनासो आउनु सामान्य भइसक्यो’, उनले भनिन्, ‘काम गर्न जुनसुकै ठाउँमा चुनौती छ ।’

उपाध्यक्ष सिंहले पालिकामा काम गर्न असहज नभएको तर, कहिलेकाहीं काम गर्दा भने तालमेल नमिल्ने गरेको बताइन् ।

गाउँपालिकामा महिलाका लागि मात्रै भनेर अहिलेसम्म बजेट नछुट्याइएको उनको भनाइ छ । तर, महिलासम्बन्धी कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिँदै आएको छ । शिक्षा र कृषि शाखामार्फत महिला लक्षित कार्यक्रम र बजेट व्यवस्था गर्न आफूले पहल गर्दै आएको उनले बताइन् ।

‘ग्रामीण महिलाहरू पुरुषकै कारण पहुँच र सहभागितामा वञ्चित हुँदै आएका छन् । त्यसैले महिलाहरूले अधिकार प्राप्तिको लडाइँमा जहिले पनि अग्र पङ्क्तिमा रहनु आवश्यक देखिन्छ’, उनले भनिन्, ‘कर्णालीमा महिलाका लागि लैङ्गिक समता, प्रजनन स्वास्थ्य, जीवनोपयोगी शिक्षा, संस्थागत सहभागिता र महिलाको सशक्तीकरणका लागि जोड दिन आवश्यक देखिन्छ ।’

त्यस्तै विपन्न महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणको क्षेत्रमा पनि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

उपाध्यक्ष सिंहका अनुसार महिलाको लागि लक्षित समूह सहभागिता र व्यक्तित्व विकास प्रशिक्षण, संस्थागत विकास, व्यवसायिक समूह विकास, विद्यालयविमुख किशोरीको बहुआयामिक विकास, लैङ्गिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तन, सामाजिक सुरक्षा, मानव बेचबिखन नियन्त्रण, सूचना, शिक्षा र सञ्चार तथा आपतकालीन संरक्षण सेवामा महिला समूहहरूको परिचालन जस्ता तालिम तथा कार्यक्रम गर्न आवश्यक छ । तबमात्रै कर्णालीमा महिलाको क्षेत्रमा केही फरक र नयाँ सुरु हुने उनको विश्वास छ ।

‘स्थानीय तहमा भनेको जस्तो बजेट हुँदैन । पालिकामा सडक र विद्युत पुगेको छैन । त्यसैले काम गर्दा गाह्रो हुने गरेको छ’, उपाध्यक्ष सिंहले भनिन्, ‘तैपनि योजना बनाउन छोडेका छैनौं । कुनै न कुनै दिन बजेटले भ्याउला नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर