भाडाबाट मुक्तिका लागि सुनकोशीको योजना- केन्द्र र आफ्नै भवन निर्माणको प्रक्रिया सुरू – Nepal Press

भाडाबाट मुक्तिका लागि सुनकोशीको योजना- केन्द्र र आफ्नै भवन निर्माणको प्रक्रिया सुरू

गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिना भन्छन्- सबैलाई मान्य हुने गरी हाम्रै कार्यकालमा भवन निर्माण हुन्छ

सिन्धुपाल्चोक । स्थानीय तहको दोस्रो चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल करिब १९ महिना सकिसकेको छ । सिन्धुपाल्चोकका १२ पालिकामध्ये ९ वटाले केन्द्र निर्धारण गरेर आफ्नै भवनबाट जनतालाई सेवा दिइरहेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । हेलम्बु गाउँपालिकाको पनि केन्द्र निर्धारणसँगै जग्गा व्यवस्थापन गरी भवन निर्माणको काम सकिन लागेको छ ।

तर, सुनकोशी गाउँपालिकाले भने हालसम्म पालिकाको केन्द्र नै निर्धारण गर्न सकेको छैन । पहिलो पटक निर्वाचित जनप्रतिनिधि टीमले सुनकोशी गाउँपालिकाको-३ मा रहेको सामुदायिक जंगलको जग्गामा पालिका भवन निर्माण गर्ने निर्णय गरेपनि त्यसले गति लिन सकेन । पाङग्रेटार/चियाने केन्द्र भनेर निर्णय गरेकोमा अघिल्लोपटक जग्गाको निर्णय गर्न नसकेको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना बताउँछन् ।

अहिले सातै वडाको मध्यभाग पर्ने गरेर पालिकाको केन्द्र निर्धारण गर्ने र जग्गा व्यवस्थापन गरेर भवन निर्माण सुरू गर्ने योजनामा आफ्नो टीम लागेको उनले बताए । गाउँपालिकाले केही दिनअगाडि सार्वजनिक सूचना प्रकाशित भवन निर्माणका लागि व्यक्ति वा संघ संस्थालाई निःशुल्क जग्गा उपलब्ध गराउन आग्रह गरेको छ ।

‘गाउँकार्यपालिकाको बैठकले नै निर्णय गरेर पालिकाभित्रका सातै वडाबाट जग्गा प्राप्तीको अनुरोध गर्ने र निर्धारित मितिसम्म जग्गा प्राप्ती भएपछि प्राप्त जग्गामध्ये कार्यपालिका र गाउँसभामा छलफल गरेर उपयुक्त स्थानमा पालिकाको केन्द्र निर्धारण गरी भवन निर्माणको प्रक्रिया थाल्नेछौं’, अध्यक्ष तिमिल्सिना भन्छन्, ‘पालिकामा क्रियाशील राजनीतिक दलहरूसँग पनि छलफल गरेर केन्द्रको विषयमा साझा दृष्टिकोण बनाउन प्रतिबद्ध छौं ।’

गाउँपालिका वा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि मन्त्रिपरिषद बैठकको २०७५/५/२६ गते स्वीकृत मापदण्डअनुसार कम्तीमा ६ रोपनी जग्गा आवश्यक पर्ने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

जग्गा प्राप्तीका लागि पार्दर्शीताका लागि सार्वजनिक सूचना निकाल्दा पनि पूर्वाग्रही बनेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पालिका भवन निर्माण नगर्ने र अहिले भएकै स्थानमा पालिका राख्न लागेको भनेर हल्ला गरेपनि त्यो सत्य नभएको तिमिल्सिनाको जिकिर छ । सुनकोशीमा पालिका अध्यक्षसहित तीन वडा अध्यक्ष एमालेबाट निर्वाचित छन् भने उपाध्यक्षसहित चार वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् ।

गाउँपालिकामा कांग्रेसको बहुमत रहेको छ । ‘हामीले सर्वसम्मतरूपमा नै पालिका भवन निर्माणको लागि जग्गा माग गरेका हौं, पालिकाले तोकेको मितिभित्र जग्गा प्राप्ती भएपछि सर्वसम्मत रूपमा सबैको निर्णयकै आधारमा केन्द्र निर्धारण गर्न प्रतिबद्ध छौं’, अध्यक्ष तिमिल्सिनाले भने ।

अघिल्लो ५ वर्षमा पालिकाको केन्द्र निर्धारण गर्न नसकेको र अहिले आफूहरूले पालिका भवन र केन्द्र निर्धारण गर्न खोजेपछि अन्य दलले विरोध गरेको उनको आरोप छ ।

सिन्धुपाल्चोकका अन्य गाउँपालिका/नगरपालिकाहरूले निःशुल्क जग्गा प्राप्ती गरेर प्रशासनिक भवन निर्माण गरेका छन् । केन्द्र सरकारले पालिका भवन निर्माणका लागि जग्गा खरिदभन्दा पनि दानका रुपमा नै जग्गा व्यवस्थापन गर्न भनेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनका अनुसार केन्द्र वा प्रदेश सरकारबाट गाउँपालिकालाई वार्षिक रुपमा प्राप्त हुने बजेटबाट जग्गा खरिद गर्न नदिने भएकाले पनि आफूहरुले मापदण्डअनुसार नै जग्गादाताको लागि माग गरेको छ ।

सरकारी जग्गा व्यवस्थापन गर्ने प्रक्रिया लामो भएको र वन वा अन्य निकायको जग्गाको भोगाधिकार लिएर पालिका भवन निर्माण गर्न सकिने व्यवस्था भएपनि व्यक्तिबाट जग्गा प्राप्तीलाई पालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको केन्द्र र भवन निर्माणलाई लिएर अध्यक्ष तिमिल्सिनासँग केही सवालजवाफ गरेका छौं :

– सुनकोशी गाउँपालिकाको भाडाको भवन कहिलेसम्म ?

हामी निर्वाचित भएर आएको अहिले करिब १९ महिना पूरा भएको छ । हामी निर्वाचित भएर आउदा सुनकोशी-७ को एक किलो नजिकै रहेको भाडाकै घरबाट कार्यालय सञ्चालन भइरहेको रहेछ । साँघुरो घरबाट सेवा प्रवाह गर्दा जनतालाई असहज भएपछि आफ्नै भवन निर्माण नहुँदासम्मकै लागि भाडाकै भएपनि फराकिलो स्थानमा अहिले हामीले कार्यालय सञ्चालन गरिरहेका छौं । गाउँपालिकाको भवन निर्माण भन्दा पनि पहिला त पालिकाको केन्द्र निर्धारण गर्नुपर्ने रहेछ, अघिल्लो जनप्रतिनिधिको टिमले सुनकोशी-३ को चियान भन्ने स्थानमा केन्द्र निर्धारण गरेको हामीले सुनेका छौं । केन्द्र निर्धारण भएपनि जग्गा भने त्यहाँ छैन, त्यसैले हामी पहिला सातै वडाबाट निःशुल्क रुपमा पालिकाको लागि जग्गा दान दिन सबैलाई अनुरोध गरेका छौ । जग्गा प्राप्ती भएपछि पालिका भवन निर्माणको सुरुवात हुनेछ ।

– तपाईँहरूले अहिले भएकै स्थानमा पालिकाको केन्द्र राख्नका लागि र भवन निर्माण नगर्नका लागि मात्रै सूचना निकालेको भन्ने आरोप छ नी ?

त्यो सरासर झूट हो, अहिले गाउँपालिका कार्यालय रहेको स्थानमा पालिका भवन बनाउने वा त्यही केन्द्र राख्ने कुनै योजना छैन, हामीले सुरूमा सबै वडाबासीहरुलाई जग्गा दान दिन आग्रह गरेका छौं । सबै वडाबाट जग्गा उपलब्ध गराउने प्रतिबद्धता आएपछि प्राप्त जग्गामध्ये सबैको पायक पर्ने स्थानको जग्गा कुन स्थानको हुन्छ कार्यपालिका र गाउँ सभामा त्यो पेश गर्छौं, त्यो भन्दा अगाडि हामी पालिकामा क्रियाशील राजनीतिक दलहरुसँग समेत छलफल गरेर सबैको सहमतीमा नै पालिकाको भवन निर्माणको सुरुवात गर्नेछौं ।

– जग्गा मागभन्दा पनि सबैलाई केन्द्र पर्ने स्थानमा पालिकाले नै जग्गा खरिद गरेर भवन निर्माण गर्नुपर्छ भन्ने आवाज पनि छ नी ?

त्यो कुरा सही छ तर स्थानीय सरकार सञ्चालन ऐनले केन्द्र सरकारले प्रदान गर्ने अनुदान बाट जग्गा खरिद गर्न एकदमै झण्झटीलो र सकेसम्म त्यो बजेटबाट जग्गा खरिद गर्नलाई धेरै समस्याहरू रहेछ । गाउँपालिकाको आन्तरिक स्रोतबाट जग्गा खरिद गर्न पनि पालिकाको आन्तरिक स्रोत वार्षिक २० लाख रूपियाँ पनि छैन, त्यसैले पालिका आफैंले जग्गा खरिद गरेर भवन निर्माण गर्न समस्या भएकाले हामीले सबै वडाबाट जग्गा दानका लागि अनुरोध गरेका छौं । जग्गा प्राप्त भएन भने के गर्ने त्यसपछि फेरी हामी छलफल गर्नेछौं ।

जग्गा उपलब्ध गराउने भन्दा पनि पहिला केन्द्र तोकेर अनि जग्गा माग गर्दा राम्रो हुने थियो होला नी ?

त्यो पनि राम्रो विकल्प नै हो, तर केन्द्र निर्धारण गर्नका लागि पनि त सुरुमा हामीलाई ६ रोपनी जग्गाको लालपुर्जा चाहियो नी त ! केन्द्र निर्धारण गर्ने तर लालपुर्जा र जग्गाको स्वामित्व पालिकाको नाममा भएन भने त फेरी समस्या हुने भैहाल्यो नी, त्यही भएर पहिला जग्गा उपलब्ध गराउन अनुरोध गरेका हौं, त्यसपछि प्राप्त भएका जग्गामध्ये उपयुक्त स्थानमा केन्द्र निर्धारण गरेर भवन निर्माण गर्छौं ।

– अघिल्लो कार्याकालमा नै केन्द्र निर्धारण गरेर जग्गासमेत प्राप्त भएको भन्ने छ नी त ?

खै हामीले पनि त्यही सुनेका मात्रै हौ, आधिकारिकता थाहा पाएका छैनौं, ३ नम्बर वडाको चियानेमा केन्द्र र त्यहाँको सामुदायिक वनको जग्गामा पालिका भवन बनाउने त्यतिबेला निर्णय भएको भनिएपनि आधिकारीकता केही पनि हामीलाई जानकारी छैन ।

– तपाईँहरूको कार्यकालमा पनि आफ्नै भवन निर्माण हुँदैन भन्ने आरोप छ नी ?

हामी निर्वाचनमा जाँदा चुनावको मुख्य एजेण्डा नै पालिकाको केन्द्र निर्धारण गरेर प्रशासनिक भवन निर्माण गर्ने भनेका थियौं । हामी त्यो प्रतिबद्धमा अहिले पनि दृढ छौ र म सम्पूर्ण सुनकोशीबासीहरूलाई ढुक्क हुन आग्रह गर्छौं, पालिका केन्द्र र भवन हाम्रै कार्यालयमा निर्माण सुरू हुन्छ र सबैलाई पायक पर्ने स्थानमा निर्माण हुन्छ । अफवाहको पछि नलाग्न म सबैलाई अनुरोध गर्दछु । ५ वर्ष केही गर्न नसक्ने अनि अहिले केन्द्र र प्रशासनीक भवन निर्माणका लागि प्रक्रिया सुरू गर्दा पनि विरोध गर्ने यो प्रवृत्ति गलत छ, हामी बाधक हो भन्ने लाग्छ भने कार्यपालिका र गाउँसभामा उहाँहरूको बहुमत छ, उपयुक्त स्थानमा केन्द्र राख्दा भै गो नी !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर