प्युठानमा आगलागीबाट ठूलो क्षति, राहतको समन्वय गर्दै सांसद थापा – Nepal Press

प्युठानमा आगलागीबाट ठूलो क्षति, राहतको समन्वय गर्दै सांसद थापा

रुपन्देही । गृह जिल्लामा आगलागीबाट ठूलो विपत् परेपछि एमाले पोलिब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

तीन दिनअघि प्युठान पुगेका उनले जिल्लाका विभिन्न स्थानमा भएका पीडितहरूलाई तत्कालीन आवश्यक राहतका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् भने अन्य सहयोगका विषयमा प्रदेश तथा संघीय सरकारलाई तथ्यांकसहित पठाएका छन् ।

जिल्लाका विभिन्न स्थानमा अहिलेसम्म ५० घर र त्यतिकै संख्यामा गोठ जलेर करोडौँको क्षति भएकाले स्थानीयको पीडामा समन्वय गर्न जिल्लामा आएको उनले बताए ।

थापाकै आग्रहमा जिल्लामा भएको क्षतिको अनुगमन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले निरीक्षण गरेर तत्काल राहत पठाउने प्रतिबद्धता स्थानीयसँग गरेका छन् ।

आइतबार नै थापाले प्युठानमा केही दिनयता भएको आगजनी र डढेलोले पुराएको क्षतिमा पीडितहरूलाई तत्काल राहत, सुविधाको लागि विपद् व्यवस्थापन मिलाउन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्याल र डिएसपी ईश्वर थापासँग बिजुवारमा बसेर कार्य योजना बनाएका छन् ।

गौमुखीको अर्खा, अर्तुबाङमा डढेलोले खानेपानीको पाइप डढेर क्षति भई सिर्जित अस्तव्यस्ततालाई समाधान गर्ने गरी त्यहाँको प्रतिनिधिमण्डलसहितको छलफलबाट जिल्ला खानेपानी डिभिजन कार्यालयमार्फत नयाँ पाइप पठाउने व्यवस्था आइतबार नै मिलाइएको थापाले बताए । उनले अझै केही दिन जिल्लामै बसेर पीडितहरूलाई राहतको समन्वय गर्ने जनाएका छन् ।

आगलागीबाट सो क्षेत्रमा राखिएको खोटो संकलन केन्द्रमा आगलागीबाट डेढ करोड बराबरको क्षति भएको छ । लामो समय पानी नपरेको तथा पहाडी क्षेत्रका वनको क्षेत्र बढेको, स्थानीयले बँदेलको किर्ना मार्न आफै आगो लगाएको र बढ्दो हावाहुरीले एक ठाउँको आगो धेरै ठाउँमा पुराएकाले बढी क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ईश्वर थापाका अनुसार चैत र वैशाखमा आगलागीका धेरै घटना भएको र मानवीय क्षति भएको छैन । उनका अनुसार अहिलेसम्म ९५ वटा घटनामा ५० घर र त्यतिकै संख्यामा गोठमा क्षति भएको र साढे २ सयभन्दा पशु चौपायाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर