रवि लामिछानेका सीईओले किन दिए ९ महिनामै राजीनामा ? – Nepal Press

रवि लामिछानेका सीईओले किन दिए ९ महिनामै राजीनामा ?

बराल भन्छन्- व्यक्तिगत कारणले समझदारीमा नै बिदा भएको हुँ, तलब नपाएको कुरा अफवाह मात्र

काठमाडौं । गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले चितवन २ मा आफूलाई सहयोग गर्न सीईओ नियुक्त गरेका हेमन्त बरालले पदबाट राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बुझिएको छ ।

गत वर्ष साउनमा लामिछानेले भ्याकेन्सी आह्वान गरेर सीईओको छनोट गरेका थिए । बरालसँग लामिछानेको एक वर्षको कार्यसम्पादन सम्झौता थियो । तर, आफूलाई दिइएको सबै जिम्मेवारी सम्पादन गरेर सम्झौताभन्दा तीन महिना अगाडि नै बिदा भएको बरालले बताए ।

नेपाल प्रेससँग कुराकानी गर्दै उनले सभापति लामिछानेसँग आफ्नो कुनै पनि असन्तुष्टि र असमझदारी नरहेको प्रष्ट पारे ।
‘व्यक्तिगत परिस्थितिका कारणले गर्दा मैले निरन्तरता दिन नसकेको हुँ,’ उनले भने, ‘सौहार्द रुपमा नै बिदा भएको छु ।’

बरालको घर काठमाडौंको गठ्ठाघरमा रहेको छ । छोरीको पढाइका लागि आफू काठमाडौं फर्किनु परेको उनी बताउँछन् ।

‘वैशाखबाट मेरो छोरीको भर्नाको समय भयो । तीन महिनाका लागि मात्रै स्कुल सारेर चितवन लैजाने कुरा पनि आएन । सम्झौता सकिएर काठमाडौं फर्किनलाई पनि गाह्रो भयो । त्यसैले अगाडि नै जिम्मेवारीबाट मुक्त भएको हुँ,’ उनले भने, ‘कतिपयले तलब नपाएर छोडेको भनेर समाचार लेख्न भ्याएछन्, मलाई नसोधीकन यस्तो झूटो अफवाह नफैलाउन अनुरोध गर्दछु ।’

उनले लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै विचलन नआएको पनि उल्लेख गरे ।

‘त्यस्तो केही भएको थियो भने त म आफैँ पनि मिडियामा आएर भनिहाल्थेँ नि । कहिलेकाहीँ छिटो–ढिलो भयो होला, तर मैले पाउनुपर्ने सबै तलब–सुविधा पाइसकेको छु । उहाँसँग कुनै पनि गुनासो छैन,’ बरालले भने ।

रविले आफू विजयी भएको चितवन–२ मा सचिवालय स्थापना गरेर सीईओ नियुक्त गरेका थिए । आफ्ना मतदाताको माग तथा गुनासो सुन्ने र सम्बोधन गर्ने जिम्मेवारी सीईओलाई दिइएको थियो । नियुक्त पत्रमै रविको प्रतिनिधि भएर काम गर्ने भनिएको थियो ।

सचिवालयमा अहिले पनि ८–९ जना कर्मचारी छन् । बरालको राजीनामापछि उनले हेर्दै आएको जिम्मेवारी सचिवालय इन्चार्ज राजेन्द्र अर्याललाई दिइएको छ ।

यो पनि हेर्नुस्- रविका सीईओ भन्छन् : सय रोजगारी रास्वपाले दिने होइन, मध्यस्थतामात्रै गर्ने हो

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर