रविका सीईओ भन्छन्- सय रोजगारी रास्वपाले दिने होइन, मध्यस्थतामात्रै गर्ने हो – Nepal Press
नेपाल टक

रविका सीईओ भन्छन्- सय रोजगारी रास्वपाले दिने होइन, मध्यस्थतामात्रै गर्ने हो

‘१८ हजार रुपैयाँ तलब केयर गिभरलाई हो, हतारमा नर्स लेखियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा आफूलाई सहयोग गर्न सीईओ नियुक्त गरेका छन् । रविको प्रतिनिधिका रुपमा चितवन २ मा काम गर्ने अभिभारासहित नियुक्त सीईओ हुन् भक्तपुर गठ्ठाघर निवासी हेमन्त बराल ।

हेमन्त आईटीका विद्यार्थी हुन् । उनले कम्प्युटर नेटवर्क सेक्युरिटीमा बेलायतको युनिभर्सिटीबाट मास्टर्स गरेका छन् । नेपालमा उनले सुविसु केवल नेटको प्रोजेक्ट म्यानेजर, ओम्नी ग्रुपमा सहायक महाप्रवन्धक, निस्ट कलेजको निर्देशकलगायतका जिम्मेवारीहरु सम्हालेका थिए । अध्ययन तथा रोजगारीका सिलसिलामा उनी बेलायत, चीन, सिंगापुर, फिलिपिन्स, मलेसियालगायतका देशहरु पुगेका छन् ।

सीटीईभीटीको कामका लागि फिलिपिन्समा रहँदा रवि लामिछानेको भ्याकेन्सी देखेपछि बराल आकर्षित भए । लामिछानेले विदेश बस्ने नेपाललाई ग्राह्यता दिने भन्दै चितवन २ का लागि सीईओको माग गरेका थिए । त्यसमा उनले एप्लाइ गरे । विभिन्न चरणको मिटिङ र अन्तर्वार्ताहरुपश्चात रविले हेमन्तलाई छनोट गरेका छन् ।

सीईओ बन्नुअघि हेमन्तले रास्वपाको बाग्मती प्रदेशसभामा निर्वाचन क्षेत्र समितिका लागि प्राइमरी इलेक्सनमा भाग लिएका थिए । त्यसमा पनि उनी छनोट भएका थिए । यता सीईओमा नाम निस्केपछि उनले त्यता राजीनामा दिएका छन् ।

यतिबेला अनेक विवादको घेरामा परिरहेका छन् रास्वपा अध्यक्ष लामिछाने । उनले आफू निर्वाचित भएको १०० दिन पूरा भएको अवसरमा केही नयाँ घोषणाहरु गरे । तर, ती पनि विवादमुक्त हुन सकेनन् । खासगरी १०० जनालाई रोजगारी दिने भन्दै खोलेको भ्याकेन्सीलाई लिएर रविमाथि विभिन्न प्रश्नहरु उठेका छन् ।

यी नै विषयवस्तुमाथि केन्द्रित रहेर रवि लामिछानेका सीईओ हेमन्त बरालसँग गरिएको कुराकानीः

– तपाईं देश विदेशमा बसेर काम गरिरहेको व्यक्ति, एउटा सांसदको सीईओमा के आकर्षण देख्नुभयो ?

अध्यक्षज्यूले पब्लिकली भ्याकेन्सी अनाउन्समेन्ट गर्नुभएको थियो । विदेश बसेकालाई प्राथमिकता दिने भनिएको थियो । रास्वपा जस्तो जल्दोबल्दो पार्टीको अध्यक्षसँग काम गर्न पाउनु पनि अवसर नै हो भन्ने लाग्यो । एउटा तहसम्म चिनजान हुन्छ र दीर्घकालमा फाइदै हुन्छ भनेर अप्लाइ गरेको हुँ ।

– एउटा सांसदको कार्यक्षेत्रको दायरा त्यति फराकिलो हुँदैन । न यथेष्ट स्रोतसाधन नै हुन्छ । यस्तोमा तपाईंको मुख्य भूमिका र जिम्मेवारी भनेर के तोकिएको छ ?

यस्तो छ, मलाई अहिले उहाँहरुले के भन्नुभएको छ भने रवि आफैंमा रास्वपा सभापति र सांसद भइसकेपछि केन्द्रमै व्यस्त हुनुपर्ने भएकाले आफ्नो क्षेत्रका जनताको समस्या र सुझाव नजिकबाट सुन्न र नियाल्न पाउनुभएन । उहाँको साटो उहाँ आफैं भएको बुझाउने गरेर प्रतिनिधिका रुपमा समस्या समाधानमा पहल गर्ने र नसकेका कुरा माथि फरवार्ड गर्ने भनिएको छ । माननीयज्यूलाई भेट्न पाइएन, समस्या सम्बोधन भएन भन्ने नहोस् भनेर पुलको जस्तो जिम्मेवारी दिइएको हो ।

– तपाईंको मातहतमा कर्मचारीहरु छन् कि तपाईं एक्लै हो ?

तत्काललाई अरु छैनन् । फोन कल रिसिभका लागि एकजना बहिनीलाई ‘अहिले हेर्दै गर’ भनेर राखेको छु । एकजना किचनको दिदी हुनुहुन्छ । अनि एकजना मलाई सहयोग गर्ने भाइ छन् । यत्तिले चलाइरहेको छु ।

– तपाईंलाई दिने तलब सुविधाको बन्दोबस्त कसरी हुन्छ, त्यसको आर्थिक स्रोत के हो ?

मलाई उहाँले नियुक्त गरिसकेपछि तपाईंको फाइनान्सियल सोर्स के हो भनेर सोध्ने कुरा भएन । उहाँले अहिले यति भयो, प्रोभिजनमा काम गर्दै गर्नुस् भन्नुभएको छ । पछि डिटेलमा कुरा गरौंला भन्नुभएको छ । पार्टीले र अध्यक्षले यति सपोर्ट मागिसकेपछि किन नगर्ने भनेर आएको हुँ ।

– तपाईंले पाउने मासिक तलब सुविधा के कति हो ?

त्यसरी अहिले फिगरमा कुरा भएको छैन ।

– तलब एकिन नभइ नभइ आफूले गरिरहेको काम छोडेर आउनुभयो त ?

म सित्तैमा आएको त होइन । तर, पार्टीमा आस्था राख्ने मान्छे भइसकेपछि सभापतिले नै रिक्वेस्ट गरेको अवस्थामा पैसालाई मात्रै धेरै जोड दिइनँ । अहिले डिस्क्लोज गर्दा राम्रो पनि नहोला ।

– अब चार वर्ष ढुक्कले त्यही बसेर काम गर्नुहुन्छ त ?

भन्न सकिन्न । म काम गर्न आएको हुँ । मेरो करार प्रोभिजनमा छ । एक–एक वर्षमा नवीकरण हुनुपर्छ । उहाँहरुलाई चित्त नबुझे ३ महिनामा नै नोटिस दिएर मलाई बिदा पनि गर्न सक्नुहुन्छ । काम मन परेन वा मैले नै गर्न सकिनँ भने ३५ दिनभित्र सूचना दिएर आफैं बाहिरिन पनि सक्छु ।

– अस्ति सय दिन पूरा भएकोमा अध्यक्षले केही नयाँ कुरा सार्वजनिक गर्नुभएको छ । यी योजनाहरुमा तपाईंको संलग्नता कति छ ?

तिनीहरुको समन्वय मैले नै गर्नुपर्छ ।

– तर, धेरै प्रश्नहरु उठिरहेका छन् । उहाँले सय रोजगारी अघि सार्नुभएको छ । तर, ती रोजगारी कहाँ र कसरी सिर्जना भए, रोजगारदाता को हुन् भन्ने खुलाउनुभएको छैन । अलिकति अपारदर्शी भएन र ?

केन्द्रको योजना भएकाले म यसमा धेरै संलग्न छैन । तर, मैले बुझेसम्म यी सबै विभिन्न निजी संस्थाहरुबाट प्राप्त भएका भ्याकेन्सी हुन् । अध्यक्षज्यूले पहिले १०० दिनमा यति गर्छु भनेर बोल्नुभएकाले हामी रोजगारी दिन तयार छौं भनेर विभिन्न सेक्टरबाट भ्याकेन्सीहरु आएका हुन् । समन्वयकर्तामात्रै रास्वपा हो । विदेशबाट कसैले अप्लाइ गर्न चाहेमा रास्वपाकै डोमेनबाट पठाउन सकिन्छ । रास्वपाले त्यता फरवार्ड गरिदिन्छ । त्यसपछिको प्रोसेसहरु सबै व्यक्तिहरु आफैंले गर्ने हो । फाइनल सेलेक्सनपछि रास्वपामार्फत उम्मेदवारलाई जानकारी गराउने भनिएको छ ।

– त्यसो भए रास्वपाले रोजगारी सिर्जना गरेको कसरी भयो त ? अरुले दिने रोजगारीलाई आफूले मिलाएको भनेर आँखामा छारो हाल्न मिल्छ त ?

आफूले इनिसियसन लिएको कुरामा अलिकति जस लिन त मिल्छ होला ।

– ती रोजगारी त यसै पनि थिए नि ! तपाईंहरुले त केवल त्यसको प्रचारमात्रै गरेको भएन र ?

अहिलेसम्म कुनै जब पोर्टलबाट सार्वजनिक नगरेको र कतै अनसान्उमेन्ट नगरेको भ्याकेन्सीहरु हुन् । रास्वपाको इनिसियसनमा रोजगारी सिर्जना गरिएको भनेर अर्थ लगाउन मिल्छ ।

– विदेशमै बसेकाले मात्रै अप्लाइ गर्न पाउने चैं किन हो ? नेपालमा रहेकाहरुले पर्याप्त रोजगारी पाइसके र ?

१५ दिनको डेटलाइनभित्र विदेशबाट भ्याकेन्सी फुलफिल भएन भने नेपालभित्रैबाट गर्ने भन्ने सुनेको छु ।

– देशभित्रै बेरोजगार जनशक्ति पर्याप्त हुँदाहुँदै विदेशमा बसेकालाई आफैंले टिकट काटेर फर्काउने र काम दिने कुरा कति व्यवहारिक हुन्छ ?

यो कुरा मैले पनि अध्यक्षज्यूसँग राखेको थिएँ । उहाँले के भन्नुभएको छ भने यो भनेको एउटा दबाबमूलक कार्यक्रमका रुपमा पनि हामीले लिनुपर्ने हुन्छ । भोलि रास्वपा सरकारमा गयो भने विभिन्न उद्योगधन्दाको स्थापना गरेर नेपालमा रोजगारी सिर्जना गर्ने हो र विदेशबाट पनि युवाहरु आउनसक्ने वातावरण बनाउने हो । अहिले चाहिँ यो लेभलको काम गर्न सकिन्छ भनेर सिम्बोलिक हो कि जस्तो लाग्छ । उहाँको भित्री इन्टेन्सन त म पनि भन्न सक्दिनँ ।

– एउटा नर्सको तलब १८ हजार भन्नुभएको छ, जून सरकारले तोकेको न्यूनतम तलबभन्दा निकै कम हो । विदेशबाट फर्काएर १८ हजारमा काम लगाउन खोज्नु त श्रम शोषण भएन ?

यसमा अलिकति गल्ती पनि भएको हो र अलिकति बुझाइमा पनि फरक पर्न गयो । मैले बुझ्दा उहाँहरुले के अर्थ लाउनुभयो भने हेल्थ सेक्टरमा ‘नर्स’ शब्दले ‘केयरगिभर’ को पनि अर्थ लाग्छ । त्यसमा स्टाफ नर्स भनेर तोकेको छैन । उताबाट रोजगारदाताले पठाउनुभयो । यता हतारमा फिल्टर गर्दा कुनै कुरा त चिप्लिन्छ नि ! उताबाट जे शब्द आयो त्यही लेख्दा त्रुटि भयो । केयरगिभर लेखेको भएमा इस्यू बन्थेन होला । नर्समा ४० हजारको रोजगारी पनि त छ ।

– चितवनमा महिलाका लागि निःशुल्क पब्लिक बस सुरु गरिएको छ । मासिक भाडा डेढ लाख तिर्नुपर्छ भनिएको छ । यो रकमको व्यवस्थापन चाहिँ कसरी हुन्छ ?

कार्यक्रमको अन्तिममा अध्यक्षज्यूले सबै कुरा भन्नुभएको थियो । उहाँले चितवन क्लव गठन गर्नुभएको छ । धेरैजसो विदेशमा रहनुभएका र बढी तलब खानेलाई सहयोग गर्न अपिल गर्नुभएको छ । धेरैभन्दा धेरै साथीभाइले सहयोग गर्छौं भनेर वचन पनि दिइरहनुभएको छ त्यसमा । उहाँले यो सुरुवातमात्रै हो, यसलाई निरन्तरता दिन सबैको साथ र सहयोग चाहिन्छ भन्नुभएको छ । चितवन क्लवमा सबै जोडिएर सक्दो सहयोग गर्न आह्वान गर्नुभएको छ । फन्ड कलेक्सन गरेर चलाउँदै लैजाने योजना हो ।

– अहिलेसम्म कति रकम संकलन भयो त ?

अमाउन्टको विषयमा मलाई सूचना आएको छैन । तर, पारदर्शिताको कुरामा रास्वपाले कुनै पनि सम्झौता गर्दैन । सबै कुरा सार्वजनिक हुनेछ ।

– महिलामात्रै चढ्न पाउने चाहिँ किन हो ? पुरुष महिला सँगै हिँड्दा के गर्ने ?

कार्यक्रम सञ्चालन नगर्दा पनि यात्रा गरिरहनुभएको थियो । जसले भाडा तिर्न सक्दैनन्, उहाँहरुको लागि गरेको हो । हामीले यसको स्लोगन नै महिलाको लागि निःशुल्क भनेका छौं ।

नगरपालिकाको माथि शक्तिखोर भन्ने ठाउँ छ र त्योभन्दा माथि पहाड सुरु हुन्छ । त्यहाँ पिछडिएको जातजातिका मानिसहरु बस्नुहुन्छ । त्यो समुदायका महिलाहरु जो नियमित भरतपुर रोजगारीका लागि आउनुपर्छ र बेलुका फर्किनुपर्छ, उहाँहरुलाई गाडी भाडा तिर्न पनि सकस हुने अवस्था रहेछ । खास गरेर उहाँहरुलाई नै टार्गेट गरेर सुरु गरिएको हो ।

त्यस्तो बिकट ठाउँबाट महिलाहरुलाई ओसारेर ल्याउने, त्यसपछि भरतपुर रिङरोड घुमाएर बेलुका फेरि उहाँहरुलाई बोकेर त्यही बस्तीमा लगेर छोडिदिने हो । यसमा कुनै पनि महिला निःशुल्क चढ्न पाउँछन् ।

– तर, रवि लामिछानेको फोटोसहितको सहुलियत कार्ड बोक्नुपर्छ रे नि ?

त्यो सबैलाई होइन । ६५ वर्ष माथिकालाई सहुलियत कार्ड भयो भने उनीहरु अगाडिको सीटमा बस्न पाउँछन् । निःशुल्क यात्राका लागि कार्ड चाहिँदैन । यो ट्रायलका रुपमा सुरु गरिएको सेवा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर