०८४ मा केन्द्र र सबै प्रदेशको नेतृत्व एमालेले नै गर्ने मिशनमा छौँः योगेश भट्टराई (भिडिओ) – Nepal Press

०८४ मा केन्द्र र सबै प्रदेशको नेतृत्व एमालेले नै गर्ने मिशनमा छौँः योगेश भट्टराई (भिडिओ)

धनुषा । नेकपा एमाले सचिव एवं मधेस प्रदेशका इञ्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरिवी, अशिक्षा, पछौटेपनबाट मुक्ति गराउनुपर्ने बताएका छन् ।

नेकपा एमाले धनुषाको क्षेत्र नं २ (क) मुडिवा टोलमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहद्सभालाई सम्वोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

‘खाडीको धूपमा पसिना बगाउने नौजवानहरुलाई स्वदेशमै पसिना बगाउने, देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकतावद्ध भएर लाग्नुपर्ने छ,’ उनले भने, ‘अहिले पनि एमाले सरकारमा त छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । ०८४ मा निर्वाचन हुँदैछ । अब एमालेको एउटै संकल्प छ । यो देशको प्रधानमन्त्री एमालेको हुनेछ । मधेसको मुख्यमन्त्री एमालेको हुनेछ । हामीले त्यो सन्देश गाउँगाउँमा लैजानु पर्ने छ ।’

भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

‘म जुन जिल्लामा जन्मिएको हुँ त्यहाँ अहिले पनि हिँउ परिरहेको छ । अहिले म जहाँ बोल्दै छु । यो ठाउँमा असाध्यै गर्मी छ । नेपालको विशेषता नै यहि हो । नेपाल हिमाल, पहाड र तराईको देश हो,’ उनले भने, ‘मैले संसदमा प्रतिनिधित्व गरेको जिल्ला ताप्लेजुङका दिदीबहिनी, दाजुभाई, आमाबुबाहरुले अहिले पनि बाक्लो पोशाक लगाइरहनु भएको छ । यहाँ पातलो पोशाकले पनि गर्मी भइरहेको छ । नेपालको विशेषता नै यहि हो ।’

उनले गरिवी, अशिक्षा, पछौटेपनबाट हामीले मुक्त गर्नुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने भन्ने एमालेको उदेश्य यहि रहेको पनि उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर