भारतमा बीजेपीका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा किन राख्दैछन् ‘मोदीका परिवार’ ? – Nepal Press

भारतमा बीजेपीका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा किन राख्दैछन् ‘मोदीका परिवार’ ?

काठमाडौं । नेपालका डाक्टर योगी विकासानन्दले चर्चित बनाएको एक वाणी छ- ‘समस्याको समाधान होइन सदुपयोग गर ।’

यो मामिलामा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (बीजेपी) धेरै सफल छ, धेरै सक्रिय छ । उदाहरणको लागि गत वैशाख २४ मा एक भारतीय युवाले मोदीले कन्सर्टमा गाएको जस्तो गरेको एक कृत्रिम भिडियो पोस्ट गरे । त्यसमा उनले लेखे, ‘म यो भिडियो पोस्ट गरिरहेको छु । किनभने मलाई यत्ति पोस्ट गरेबापत तानशाह मोदीले पक्राउ गर्ने छैनन्’ ।

यो पोस्ट भारतीय प्रधानमन्त्री मोदीले आफैं रिपोस्ट गर्दै लेखे, ‘तपाईंहरु सबैले जस्तै मैले पनि आफू नाचेको भिडियो हेरेर आनन्द लिएँ । चुनावी चटारोमा यस्तो सिर्जनात्मकता साँच्चिकै आनन्ददायी छ ।’

समस्यालाई समाधान होइन सदुपयोग गर्ने मोदी तरिकाको पछिल्लो उदाहरणको हो- ‘मोदीका परिवार’ मुद्दा ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक सबै शीर्ष तथा सामान्य नेताहरुले ‘मोदीका परिवार’ लेखेका छन् । आफ्नो सामाजिक सञ्जालको चिनारीमै उनीहरुले यस्तो लेखेका छन् । यस्तो लेख्नेहरुमा दार्जिलिङबाट संघीय चुनाव जितेका नेपाली भाषी सांसद राजु विष्टदेखि बीजेपीका सभापति जेपी नड्डासम्म छन् । मोदी क्याबिनेटका गृहमन्त्री अमित शाहदेखि चर्चित यातायात तथा राजमार्गमन्त्री नितिन गड्करी तथा स्मृति इरानीसम्म यो मेसोमा एकै लयमा जोडिएका छन् ।

बीजेपी समर्थक तथा कार्यकर्ताहरुले समेत यो भाका टिपेर आफ्नो सामाजिक सञ्जालमा फुर्को लाएका छन्- ‘मोदीका परिवार’ । आखिर कहिलेबाट सुरु भयो यो ‘मोदीका परिवार’ माहोल ? को हुन् यसको सञ्चालनका हर्ताकर्ता ? किन लोकप्रिय बन्दैछ ? यी सवालको चर्चा गरौंः

इण्डिया ब्लकको राजनीतिसभाको त्यो भाषण, जसले जन्मायो ‘मोदीका परिवार’

भारतको जारी चुनावमा दुई दर्जन बढी दल मिलेर एक गठबन्धन बनाएका छन् । गठबन्धनको नाम अल इण्डियन नेसनल डिभेपलमेन्ट एण्ड इन्क्लुसिभ अलायन्स अर्थात् अखिल भारतीय राष्ट्रिय विकासशील तथा समावेशी गठबन्धन । यसलाई छोटकरीमा अंग्रेजीमा इण्डिया अलायन्स भनिएको छ ।

यही इण्डिया अलायन्सको एक सभा भएको थियो गत मार्च ३ अर्थात फागुन २० मा । सो सभामा विहारका चर्चित नेता लालुप्रसाद यादवले भाषण गरेर ‘मोदीको परिवार’ नभएको भन्दै निन्दा गरे । दि इण्डियन एक्सप्रेसका अनुसार उनले हिन्दीमा गरिएको भाषणको अंश यस्तो थियोः

‘यो मोदी भनेको के हो ? मोदी कस्तो चिज हो ? मोदी राजनीतिमा परिवारवादको कुरा गर्छन् । कुन नेताका कत्ति सन्तान छन् त्यो भन्छन् । हामी के गर्नु त तिम्रो साथमा कुनै परिवार छैन ।’

भाजपाका चुनावी सभाहरुमा भारतको लामो समय सत्ता चलाएको कांग्रेसदेखि विभिन्न राज्यमा वंशको आधारमा राजनीतिमा आएकाहरुलाई मोदीले कटाक्ष गरेपछि विहारका नेता लालु यादवले यस्तो भाषणबाट उत्तर दिएका थिए । मोदीले राजनीतिक कुरा गरेका थिए । यादवले त्यसलाई अलि व्यक्तिगत कोण दिएर मोदीको कुनै सन्तान नभएको भन्दै खिल्ली गरेका थिए ।

भाजपा नेता तथा कार्यकर्ताहरुले यो भाषणको तत्काल प्रतिवादमात्रै गरेनन्, सामाजिक सञ्जालमा अभियान नै चलाए । भाषण गरेको भोलिपल्टै यस्तो अभियान उनीहरुले सामाजिक सञ्जालमा छेडे, आफूलाई मोदीको परिवार भन्न थाले । आफ्नो सामाजिक सञ्जालमा ‘मोदीका परिवार’ फुर्को जोड्न थाले ।

यो क्रम अहिले जारी छ । यसले एकातर्फ मोदीको चुनावी माहोललाई साथ बढेको छ भने अर्कोतर्फ यसले विपक्षीको सिर्जनात्मक कटाक्षमा सहजता भएको छ । यो मुद्दामा स्वयं भाजपा नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी भएका छन् ।

मोदीको परिवारै नभएको आलोचना भएको भोलिपल्ट अर्थात मार्च ४ (फागुन २१)मा भएको तेलङ्गनाको अदिआवादमा भएको चुनावी सभामा मोदीले जवाफ फर्काए । उनले इण्डिया ब्लकका अनुहारहरु फरक फरक भए तापनि दुई कुरा ‘झूट’ र ‘लुट’ भने समान रहेको कटाक्ष गरे । उनले परिवारको सवालमा भने सकारात्मक उत्तर दिए ।

मोदीले भने, ‘यो देशका १४० करोड जनता मेरो परिवार हो । भारत मेरो परिवार हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *