एमाले नमानेपछि माओवादी पनि ब्याक, मधेश सरकार ‘सेफ जाेन’मा – Nepal Press

एमाले नमानेपछि माओवादी पनि ब्याक, मधेश सरकार ‘सेफ जाेन’मा

जनकपुरधाम । मधेश प्रदेशमा जसपा नेपाल अर्थात् सरोज कुमार यादव नेतृत्वको सरकार तत्काल सुरक्षित बनेको छ ।

जसपा नेपाल विभाजन भएपछि मुख्यमन्त्री यादव संस्थान पक्षमै रहने जनाए । उनलाई जसपा नेपाल विभाजन भएर बनेको जसपामा आउन दबाब छ । तर नमानेपछि सरकार ढाल्ने चेतावनी आएको मुख्यमन्त्री निकट नेताहरु बताउँछन् ।

अमेरिका भ्रमणबाट अध्यक्ष उपेन्द्र यादव फर्केपछि उनलाई भेट्न मुख्यमन्त्री यादव काठमाडौं पुगेका थिए । मुख्यमन्त्री काठमाडौंमा रहेको बेला विहिवार सरकालबाट माओवादी समर्थन फिर्ता लिन लागेको समाचार बाहिरियो । माओवादी दलका नेता भरत साहले पनि सरकारबाट बाहिरिने विषयमा छलफल चलिरहेको बताएका थिए ।

स्रोतका अनुसार वन तथा वातावरण मन्त्री समेत रहेका उनले एमाले र माओवादी एकसाथ समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने सोचेका थिए । उनले छलफलका लागि एमाले दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवसंग छलफल गर्न खोजे ।

सर्लाहीको मलंगवामा चिनियाँ राजदूत सहभागी कार्यक्रम बीचमै छाडेर एमाले दलका नेता यादव जनकपुरधाम फर्किए । तर माओवादी दलका नेता साहसंग छलफल गर्नै पाएनन् । एमाले नेतृत्वले मन्त्री यादवलाई काठमाडौं बोलाइहाले ।

स्रोतका अनुसार एमाले नेतृत्वले तत्काल नयाँ सरकारको विकल्प नसोच्न निर्देशन दिएका छन् । एमालेका एक नेताले भने, ‘जसपा नेपाल विभाजन भएपछि कति सांसद यता कति उता जाने कन्भर्म छैन् । उनीहरुको सनाखत सकेपछि मात्रै केही हुन्छ । अहिले तत्काल सरकारबाट बाहिरिने र नयाँ सरकार बनाउने कुरा छैन ।’

केन्द्रीय नेतृत्वको निर्देशनपछि एमाले दलका नेता यादव आज जनकपुरधाम फर्केका छन् । संयोग-जनकपुरधाम फर्किने क्रममा मुख्यमन्त्री यादवसंग विमानस्थलमा भेट भयो । उनीहरु एकसाथ जनकपुरधाम फर्किए ।

एमाले नेतृत्वको निर्देशनपछि नेता यादव तत्काल सरकारको विकल्प नसोच्ने बताएपछि माओवादी पनि पछि हटेको छ । अहिलेको राजनीतिक परिस्थिति हेर्दा तत्काल वर्तमान सत्ता गठबन्धनको मधेश सरकार सुरक्षित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर