९ तस्बिरमा हेर्नुस् भक्तपुरको गाईजात्रा – Nepal Press

९ तस्बिरमा हेर्नुस् भक्तपुरको गाईजात्रा

काठमाडौं । भक्तपुरमा आज बिहानैदेखि यस वर्षको गाईजात्रा पर्व सुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा गत वर्षदेखि पुन: भव्यरूपमा मनाइन थालिएको हो ।

तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म गाईजात्रा मनाइन्छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।

टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं विभिन्न नाच एवं व्यंग्य प्रर्दशन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ । हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी बताउँछन् । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो । यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व १४औं शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन् ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहीआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर