बेसाहारा १२ वर्षीया सुस्मिताको पीडा, आफूसँगै दुई दिदीबहिनीको पारिवारिक जिम्मेवारी – Nepal Press

बेसाहारा १२ वर्षीया सुस्मिताको पीडा, आफूसँगै दुई दिदीबहिनीको पारिवारिक जिम्मेवारी

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–१ जामुनो पहरी बस्तीकी सुस्मिता पहरीको उमेर १२ वर्षको भयो, उनी स्थानीय बाल शिक्षा आधारभूत विद्यालयमा कक्षा–६ मा अध्ययनरत छिन् । उमेरले भर्खर १२ वर्ष पुगेपनि उनीलाई आफूभन्दा दुई जना बहिनीहरूको सम्पूर्ण हेरचाह गर्नुपर्ने जिम्मेवारी छ ।

११ वर्षकी कमला पहरी र १० वर्षकी बिनिसा पहरीका लागि सुस्मिता आमा र बाबु दुवै हुन् । बिहानै उठ्ने,खाना खुवाएर बहिनीहरूलाई सँगै विद्यालय लैजाने मात्रै होइन घरको सम्पूर्ण व्यवहार पनि उनै १२ वर्षको सुस्मिताको काँधमा जिम्मेवारी रहेको छ ।

सुस्मिता र उनको आमा पाँच वर्ष अगाडि गाउँकै स्थानीय मेलामा पुगेर फर्कँदै थिए, ठोकर्पाको तित्रे भन्ने स्थानमा उनीहरूको चढेको बोलेरे गाडी दुर्घटना हुँदा आमाको मृत्यु भयो । आमा सँगै रहेकी सुस्मिता भने सामान्य घाइते भएकी थिइन ।

आमाको मृत्युपछि बुबाको साहरामा बस्दै आएका तिन दिदीबहिनीलाई तिन वर्ष अगाडि फेरी अर्को दुःखद र दर्दनाक कालो दिन बनेर आयो । बुबा खम्बबहादुर पहरीलाई सर्पले टोकेर मृत्यु भएपछि उनीहरू तिनै दिदीबहिनी बेसाहारा भए अनि आमा बाबु सबैको जिम्मेवारी उनै नाबालिग सुस्मिताको काँधमा आयो ।

भूकम्पमा लडेको घर बुबा आमाले निर्माण गरे पनि अहिले त्यो घरमा उनीहरू तिन जना मात्रै बस्दै आएका छन् । चाडबाडमा आमा बुबाको असाध्यै याद आउँछ,छिमेकीको घरमा मिठो मसिनो पाक्दा हाम्रो घरमा केही पाक्दैन सुस्मिताले भनिन् ।

छिमेकका दाजुभाइहरूले कहिले काहीँ ल्याइदिने चामल र नुन तेलले सुस्मिताका तिन दिदीबहिनीहरूको भान्सा चल्ने गरेको छ । हामी तिनै जना मिलेर खाना पकाउँछौ,घर सफा गर्ने सबै काम मिलेर नै गर्छौ तिनै दिदीबहिनीले एकै स्वरमा भने–हामी तिनै जना एउटै ओछ्यानमा सुत्छौ, कहिले काहीँ चाहिँ डर पनि लाग्छ ।’

अलि अलि भएको खेतबारी छिमेकीहरूले नै कमाएका छन्,तिनै जना दिदीबहिनीहरूले एक हल गोरु पनि पालेका छन्,विद्यालयबाट आएर गोरुलाई घाँस खोलेपनि तिनै जना मिलेर गर्ने गरेको सुस्मिताले बताइन ।

सोही वडा की अर्की सुस्मिता पहरी स्थानीय बाल शिक्षा आविमा नै कक्षा–४मा अध्ययनरत छिन् । उनको बुबा बिरे पहरी गाइ मारेको अभियोगमा जेलमा छन् । बाबु जेल परेपछि आमा ले उनलाई खोलामा फालेर हिँडेको थिइन । पछि गाउँको हजुरआमा पर्नेले भेटेपछि अहिले सुस्मिता उनै हजुरआमाको साथमा बस्दै आएकी छन् । पढ्नमा असाध्यै तीक्ष्ण स्वभावकी सुस्मिता बाबुआमा बिहानी भएपछि गाउँकै हजुरआमा सँगै बस्दै आएकी छन् ।

अल्पसंख्यक पहरी बस्तीमा आठ जना भन्दा बढी बालबालिकाहरू आमाबुबा विहीन रहेको र उनीहरू स्थानीय छिमेकीहरूसँग बस्दै आएको सुनकोशी–१ का वडाध्यक्ष कुमार शाहीले जानकारी दिए ।

बाबुआमा विहीन बालबालिकाहरुलाई पठनपाठन र दैनिकी चलाउन सजिलो होस भन्ने उद्देश्यले सुनकोशी गाउँपालिकाले त्यस्ता बालबालिकाहरूलाई मासिक २ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

आमाबुबा विहीन सुनकोशी गाउँपालिकाका १२ जना बालबालिकाहरूलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले नगद हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले नगद सहयोग गर्ने भएपछि संरक्षक सहित पालिकामा आएका आमाबुबा विहीन बालबालिकाहरूको पीडा सुन्दा आफू स्तब्ध भएको र गाउँपालिकाको तर्फबाट त्यस्ता बालबालिकाहरूलाई आगामी वर्ष पनि सहयोग गर्दै जाने अध्यक्ष तिमिल्सिनाले प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर