सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन – Nepal Press

सहकारी पीडित बचतकर्ताहरु संगठित, शनिबारदेखि सडक आन्दोलन

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिने भएका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले पीडित बचतकर्ताहरुलाई न्याय दिन शनिबार माइतीघर मण्डलामा आन्दोलन गर्ने जनाएको हो ।

हालसम्म ४० भन्दा बढी संस्थाका पीडित बचतकर्ताहरुलाई एकजुट गरिसकेको महासंघकी अध्यक्ष सुनिता राजभण्डारीले बताइन् ।

शनिबार १२ बजे माइतीघर मण्डलामा महासंघले सबै पीडित बचतकर्ताहरुलाई सहकारीको ब्यानरसहित सडकमा उतार्ने बताएको छ । पीडितहरु वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै संघसम्म पुग्दा पनि समस्याको समाधान नदेखिएकाले संघर्षमा उत्रिन बाध्य भएको भण्डारीले बताइन् ।

‘सरकारले नियम कानून फितलो बनाइरहेको छ । बचतकर्ताका लागि सहकारी विभाग, स्थानीय तह, प्रदेश, संघ हुँदाहुँदै पनि कुनै नियम कानूनले सहकारीलाई केही गर्न सकेको छैन’, उनले भनिन्, ‘अहिले सहकारी सञ्चालकले खुल्ला रुपमा लुटलन्त्र मचाइरहेको छ । सरकारले कसरी हुन्छ सम्पत्ति नियन्त्रणमा लिएर भए पनि पीडितहरुको उद्दार गर्नुपर्‍यो । अब सहकारीलााई राष्ट्र बैंकमार्फत सञ्चालन गर्नुपर्‍यो ।’

सरकारले खालि गर्छौंमात्रै भन्ने तर केही नभएकाले सहकारी पीडितहरु भौतारिरहेनुपरेको उनको भनाइ छ । ‘एउटा गरिबले अदालत जानुपर्ने अवस्था पनि छैन, एक छाक खाना नखाएर बचाएको पैसालाई फिर्ता पाउन बचतभन्दा बढी खर्च गर्ने परिस्थितिमा पीडितहरु छैनन्’, उनले भनिन् ।

आफ्नो बचत फिर्ताको लागि उजुरी गर्नदेखि स्थानीय तह, प्रदेश र संघ धाउँदासम्म पनि कुनै टुङ्गो नलागेर अन्तिम विकल्प सडक आन्दोलन नै भएको महासंघका उपाध्यक्ष बिन्द्रराज राईले बताए । सहकारीबाट ठगिएका हजारौं बचतकर्ता न्यायको खोजीमा भौतारिरहेको अवस्था सरकारलाई देखाउन जरुरी रहेको उनको भनाइ छ ।

‘सहकारी विभागदेखि उच्च अदालतसम्म धाउँदा पनि एकले अर्को निकायलाई देखाएर पन्छिन खोजे । सहकारी सञ्चालकहरुले उच्च अदालतको आदेशको समेत अवज्ञा गरेर बचतकर्ताहरुको रकम फिर्ता नदिएको जस्ता धेरै दुःखहरु भोग्नपरेको अवस्थाले गर्दा हामीले सडकमा उत्रिने निर्णय गरेका हौं’, उनले भने ।

पीडित बचतकर्ताहरुको समस्याको समाधान सरकारले गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार आन्दोलन ५ दिनसम्म सामान्य रुपमा चलाइनेछ । आन्दोलनमा सहभागी हुन देशभरका पीडितहरुलाई आह्वान गरिएको र पीडितहरु थपिँदै जाने राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर