मेरा पिकको शिखरमा शेर्पा मौलिक स्याब्रु नृत्यको सफल प्रदर्शन र विश्व कीर्तिमान – Nepal Press

मेरा पिकको शिखरमा शेर्पा मौलिक स्याब्रु नृत्यको सफल प्रदर्शन र विश्व कीर्तिमान

काठमाडौं । मेरा पिक हिमालकाे ६,४७० मिटरको उचाइमा २७ मे २०२३ मा १५ शेर्पा कलाकारहरुको एक टाेलीले मौलिक स्याब्रु नृत्य (सप्थो) को सफल प्रदर्शन गरेका थिए ।

सामान्यतया पुग्न नै कठिन र प्रतिकूल मौसम हुने त्यस विकट हिमाल चुचुरोमा कुशलतापूर्वक नृत्य प्रस्तुत गर्नु आफैंमा एक चुनौती थियो । यस्ता चुनौतीको पहाड पन्छाउँदै कलाकार जमातले एक असाधारण उपलब्धि हासिल गरी आफ्नो सांस्कृतिक शक्तिले विश्व जगतलाई मोहित बनाएको छ ।

वर्ल्ड बुक अफ रेकर्डस् लन्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारहरुमा नुरु शेर्पा, युगेन शेर्पा, कुनशाङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा र दिकु शेर्पा रहेका छन् । त्यस्तै छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा र छेतेन शेर्पा पनि कीर्तिमानी कलाकारमा परेका छन् ।

यो अतुलनीय उपलब्धिलाई मनन गर्दै यी प्रतिभाशाली व्यक्तिहरूले ६,४७० मिटरको अचम्मको उचाइमा मौलिक स्याब्रु नृत्य (सप्थो) प्रदर्शन गरेको भनी वर्ल्ड बुक अफ रेकर्डस् लन्डनले गर्वका साथ घोषणा गरेको छ । यो ग्राउन्डब्रेकिङ कार्यक्रमलाई विशेष रूपमा ‘जमीनको उच्चतम उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाम दिइएको थियो र शेर्पा इभेन्ट्स अर्गनाइजरद्वारा कुशलतापूर्वक आयोजना गरिएको थियो । यस संस्थाका अध्यक्ष नुरु शेर्पा हुन् ।

कीर्तिमानी पर्वतारोहण पेशा र आफ्नो समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रख्यात शेर्पा जनजातिले प्राकृतिक मनोरम स्थानमा आफ्नो परम्परागत नृत्य प्रस्तुत गरेका थिए । विशाल हिमालहरूलाई आफ्नो पृष्ठभूमिको रूपमा सजाउँदै कलाकारहरूले सुन्दरताका साथ स्याब्रु नृत्य गरेका थिए ।

विश्व कीर्तिमानी शेर्पा कलाकारहरुलाई सम्मान गर्न होटल मिराज रिजेन्सीमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रतिष्ठित प्रमाणपत्र वितरण गरिएको थियो ।

जमिनको अग्लो उचाइमा सांस्कृतिक नृत्य प्रदर्शनले शेर्पा जनजातिको सम्पदा मात्र होइन, उनीहरूको लचिलोपन, एकता र सिमाना पार गर्ने क्षमतालाई पनि उजागर गरेको कीर्तिमानी कलाकार नुरु शेर्पा बताउँछन् । उनका अनुसार सबैभन्दा चुनौतीपूर्ण वातावरणमा पनि आफ्नो संस्कृतिलाई अँगाल्न र प्रवर्द्धन गर्न भावी पुस्ताका लागि प्रेरणा बनेको र यो एउटा अनुपम उपलब्धि इतिहासमा कोरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर