जिल्ला अदालतको तीन घन्टा भक्षण, सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’ किन राखेनन् न्यायाधीशले ? – Nepal Press

जिल्ला अदालतको तीन घन्टा भक्षण, सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’ किन राखेनन् न्यायाधीशले ?

काठमाडौं । नेपाल र साउदी अरेबियाबीचको क्रिकेट म्याचकै दिन आज सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा पेसी चढेको थियो । उता वर्षाका कारण क्रिकेट रद्द भयो, यता समयाभावका कारण बहस ‘रद्द’ भयो ।

अदालतमा जुनसुकै मुद्दामा पनि बहस सुरु भइसकेपछि त्यस दिन सकिएन भने ‘हेर्दाहेर्दै’मा राख्ने अभ्यास छ । भोलिपल्ट सोही न्यायाधीशले मुद्दाको सुनुवाइलाई निरन्तरता दिन्छन् । अघिल्लो दिन बाँकी रहेका वकिलहरुले बहस गर्छन् । तर, आज जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले त्यसो गरेनन् । बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राख्नुको साटो उनले अर्को पेशीतिर धकेलिदिए । आज गरिएको बहस यत्तिकै खेर गयो ।

आज चिया सत्रपछि दिउँसो १ बजेतिर मुद्दाको बहस सुरु भएको थियो । जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाका कानून व्यवसायीले अझै एक जना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै अनलाइनबाटै भए पनि उनीसँग सम्पर्क गर्नुपर्ने माग गरे । तर न्यायाधीश दीपक ढकालले सुनुवाइ अगाडि बढाए ।

चार सरकारी वकिलले बहस गरेपछि त्यस दिनको समय सकियो । बहस नसकिने भएपछि ‘हेर्दाहेर्दै’ मा रहने भयो भन्दै केही वकिलहरु बाहिर निस्किसकेका थिए । तर न्यायाधीश ढकालले सीधै ‘हेर्दाहेर्दैमा राख्दिनँ’ भनेपछि वकिलहरु आश्चर्यमा परेका थिए ।

‘म त हेर्दाहेर्दैमा रहने भयो भनेर ट्वाइलेट गएको थिएँ, अहिले अचम्म कुरा आयो । तीन घण्टा बहस सुनेर पनि हेर्दाहेर्दैमा राख्दिन भन्न मिल्छ ?’ एक अधिवक्ता भन्दै थिए ।

ठूला मुद्दामा धेरै कानून व्यवसायी संलग्न हुने भएकाले बहस गर्नलाई लामो समय लाग्छ । सर्वोच्च अदालत र विशेष अदालतमा चल्ने कतिपय मुद्दाहरु धेरै दिनसम्म हेर्दाहेर्दैमा राखिन्छ । तर, न्यायाधीश ढकालले किन यो मुद्दाको सुनुवाइलाई निरन्तरता दिन चाहेनन् भन्ने प्रश्न उठेको छ । हेर्दाहेर्दैमा नराख्नु भनेको अब फेरि फैसलाको लागि अर्को पेशी तोकिनेछ, जहाँ न्यायाधीश को पर्छ भन्ने टुंगो हुँदैन । फेरि सुरुबाटै बहस हुन्छ । आज जिल्ला अदालतको ३ घन्टा यत्तिकै नाश भयो ।

‘यो त बहस सुरु हुँदै थाहा थियो एक दिनभन्दा बढी लाग्छ भनेर । बहस नसकिएपछि न्यायाधीशले अब हेर्दिनँ भन्न पाउने उहाँको स्वेच्छिक विषय होला । तर, बहसका लागि अदालतले खर्चिएको समय र मुद्दाका पक्षहरुको आर्थिक क्षति कसले ब्यहोर्छ ?’, अर्का वकिल भन्छन् ।

एक वरिष्ठ अधिवक्ताले भने जिल्ला अदालतका न्यायाधीशहरुले प्रायः फैसलाको मुद्दा हेर्दाहैर्दैमा नराख्ने गरेको बताए । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा पनि चिया सत्रपछि सुरु भएको मुद्दा बहस सकिएन भने इजलासले हेर्दाहेर्दैमा राख्दैन ।’

तर, यसरी सबै न्यायाधीशहरुले हेर्दाहेर्दैमा राख्नुको साटो नयाँ पेशीतिर धकेल्दै गए भने मुद्दाको छिनोफानो कहिले हुने भन्ने प्रश्न उठ्छ ।

आरोप लाग्ने डरले पन्छिन्छन् न्यायाधीश

अहिले पेशीको निर्धारण गोलाप्रथाबाट हुने भएकाले कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा त्यसै दिन बिहान कार्यालय समय सुरु भएपछि मात्र थाहा हुन्छ । मुद्दाका पक्षहरुको न्यायाधीशसम्म प्रभाव नपरोस् भनेर यस्तो प्रणाली लागू गरिएको हो ।

‘न्यायाधीशहरु सोही दिन नै बहस सकेर फैसला गर्न पाइयोस् भन्ने चाहन्छन् । हेर्दाहेर्दैमा रह्यो भने न्यायाधीशमाथि अनेक आशंकाहरु हुन्छन् । कतै उनी रातभरमा प्रभावमा परे कि भन्ने चर्चा हुन सक्छ’, ती वरिष्ठ अधिवक्ता भन्छन् ।

आजकल न्यायाधीशले बहसमा पक्ष र विपक्षलाई समय छुट्याइदिएर बहस गर्न लगाउने गरेको उनले बताए । ‘कतिपय मुद्दामा न्यायाधीशले साँझ ६ बजेसम्म पनि बहस सुनेर फैसला गरेको पाइन्छ’, ती वरिष्ठ अधिवक्ता भन्छन् ।

न्यायाधीशको यो स्वेच्छिक विषय कतिपय गम्भीर मुद्दामा उनीहरुलाई पन्छिने माध्यम भएको कानून व्यवसायीहरु बताउँछन् । ‘विवाद आउन सक्ने मुद्दामा न्यायाधीशका लागि यो पन्छिने बाटो बनेको छ’, अर्का एक कानून व्यवसायी भन्छन् ।

सन्दीप लामिछाने प्रकरणमा सर्वोच्च अदालतले जिल्ला अदालतलाई चाँडो फैसला गर्न निर्देश गरेको थियो । बलात्कार जस्तो गम्भीर मुद्दामा न्याय निरुपण चाँडो हुनुपर्ने सर्वोच्च अदालतले बताएको छ ।

‘तर, अन्य न्यायाधीशले पनि यही पारा गर्ने हो भने त मुद्दा सरेको सर्‍यैमात्र हुने भो । किनभने एकै दिनमा बहस सकिने सम्भावना कम देखिन्छ’, ती कानून व्यवसायी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर