चलचित्र ‘प्रेमा’को ग्राण्ड प्रिमियर सम्पन्न, कसले कस्तो दिए प्रतिक्रिया ? – Nepal Press

चलचित्र ‘प्रेमा’को ग्राण्ड प्रिमियर सम्पन्न, कसले कस्तो दिए प्रतिक्रिया ?

काठमाडौं । यहीँ शुक्रबार अर्थात भोलिबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘प्रेमा’ले बुधबार साँझ राजधानीमा ग्राण्ड प्रिमियर गर्यो। प्रिमियरपछि फिल्मकर्मीले चलचित्रप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् । उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले सुनाइन् ।

अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ’, उनले भने ।

अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।

फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । उनले हर्षित हुँदै भने,‘ ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु।’

अभिनेत्री शुभेच्क्षा खड्काले पनि आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । अरुणकै कुरामा जोड्दै उनले थपिन, ‘ म अत्यन्त खुशी छु । मेरो मेहेनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा म सबैप्रति आभारी छु।’

निर्माता विवेक घिमिरेले चलचित्रको टिमले राम्रो काम गरेको र प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।

फिल्ममा अरुण क्षेत्री, सुभेक्षा खड्का र सृष्टि श्रेष्ठका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर