सीडीओको अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकन : रुकुम पश्चिम सर्वाेत्कृष्ट (सूचीसहित) – Nepal Press

सीडीओको अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकन : रुकुम पश्चिम सर्वाेत्कृष्ट (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयको अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उत्कृष्ट बन्न सफल भएको छ । २०७९ साउनदेखि पुस मसान्तसम्म ६ महिनाको मूल्यांकनमा रुकुम पश्चिम उत्कृष्टको सूचीमा पहिलो बन्न सफल भएको हो ।

तत्कालीन सीडीओ परमानन्द घिमिरेले नेतृत्व गरेको रुकुम पश्चिम अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट बन्न सफल भएको छ । अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनको नतिजा आउनुअघि नै सीडीओ घिमिरेको सरुवा भएको थियो । उनी अहिले रोल्पाका सीडीओ छन् ।

माघ ६ गते मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय मातहतमा कार्यरत ७० जना सहसचिव एवम् उपसचिव सरुवा गर्दा घिमिरे पनि परेका थिए ।

घिमिरे २०७७ पुस २८ देखि २०७९ माघ १० गतेसम्म २ वर्ष रुकुम पश्चिममा सीडीओ थिए । २०७९ माघ १६ गतेदेखि भने यहाँ उपसचिव हरिप्रसाद पन्त सीडीओ छन् । घिमिरेको सरुवा र पन्त बहाल भएपछि गृहले अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

त्यस्तै रुकुम पूर्व ४०.१३ अंक प्राप्त गर्दै अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनमा दोस्रो भएको छ । रुकुम पूर्वका सीडीओ तुलाराज सुनुवार रहेका छन् । उनी त्यहाँ २०७९ असार ८ गतेदेखि कार्यरत छन् ।

त्यसैगरी प्यूठान ४० अंक प्राप्त गर्दै तेस्रोमा पर्न सफल भएको छ । प्यूठानमा सीडीओको जिम्मेवारीमा थिइन् सहसचिव सुनिता नेपाल । उनी पनि सिन्धुलीमा सरुवा भइसकेकी छन् । नेपालले २०७८ चैत १८ देखि २०७९ माघ ९ गतेसम्म १० महिना प्यूठानमा सीडीओ थिइन ।

रुपन्देही, पर्वत, नवलपरासी पूर्व, डडेलधुरा, दाङ, काठमाडौं र गुल्मी जिल्ला प्रशासन कार्यालय उत्कृष्ट दशमा परेका छन् । ती ७ वटै जिल्लाले ३९ अंक प्राप्त गरेका छन् । ११औं नम्बरमा रहेको मोरङले पनि ३९ अंक नै प्राप्त गरेको छ ।

सबैभन्दा कम ११.५० अंक प्राप्त गर्नेमा जाजरकोट रहेको छ । जाजरकोटमा अञ्जन न्यौपाने सीडीओ छन् । उनी २०७९ असोज १२ देखि कार्यरत छन् । यस्तै अन्तिम दोस्रोमा जिल्ला प्रशासन कार्यालय चितवन परेको छ । चितवनमा सीडीओ आस्मान तामाङ रहेका छन् । अहिले उनी सरुवा भएर गृह आइसकेका छन् । तामाङले २०७८ असोज ४ देखि २०७९ माघ १५ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । चिवतनमा २०७९ माघ १६ गतेदेखि सहसचिव सुरेन्द्र पौडेल सीडीओ छन् ।

यस्तै न्यून अंक पाउने कमजोर कार्यसम्पादन देखिएको जिल्लामा बझाङ, सिरहा, दोलखा, पाँचथर, ताप्लेजुङ, पर्सा, सोलुखुम्बु, सर्लाही र जुम्लालगायत रहेका छन् ।

सीडीओ घिमिरेले रुकुम पश्चिममा बस्दा स्थानीय तहमा वडा अध्यक्षलाई सहजीकरण गर्ने काम गरेकाले नागरिकलाई दिने सेवा प्रभावकारी भएको बताए ।

उनले भने, ‘यस्ता खालका कागजात पुर्‍याएर पठाउनुभयो भने जिल्ला प्रशासन कार्यालयमा पुगेको नागरिकले दुःख पाउँदैन भनेर वडा अध्यक्षलाई सहजीकरण गरे । अनि सेवा प्राप्त गर्न चाहिने सबै कागजात आइसकेपछि सेवा दिन कुनै समस्या हुने कुरै भएन र सहजै प्रभावकारी सेवा दिन सकियो ।’

गृहले जिम्मेवारी दिँदा राम्रो काम गरिरहेको प्रमुख जिल्ला अधिकारीलाई पटक-पटक अवसर दिने र न्यूनतम गरिरहेको छ भने उसको आफ्नै कारणले हो वा कुनै परिस्थितिका कारण हो भनेर मन्त्रालयले छुट्टै हिसावले मूल्यांकन गर्ने गरेको  मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रुद्रादेवी शर्माले बताइन् ।

उनले भनिन्, ‘तोकिएका सबै सूचकमा राम्रो हुदाँखेरी समग्र गृह प्रशासनकै सेवाको गुणस्तर अभिवृद्धि हुने र मन्त्रालयबाट प्रवाह हुने सेवा तथा शान्ति सुरक्षा विकास समन्वयलगायतमा अहिले राम्रो नतिजा देखापरेका छन् ।’

कार्यसम्पादन मूल्यांकन गर्ने आधारमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण गनुगमन र समन्वय र आर्थिक अनुशासन रहेका छन् । मन्त्रालयले प्रत्येक ३ महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ ।

यसमा १०० प्रतिशतमा ९५ प्रतिशत अंक सीडीओले गरेको कामको विवरण अपलोड गरेपछि स्वत अंक प्राप्त हुन्छ । तर, मन्त्रालयले सही प्रमाण पेश गरेको हो वा असान्दर्भिक प्रमाण पेश गरेको हो भन्ने मूल्यांकन गर्ने गरेको छ । गृहले २०७५ सालदेखि गृह सचिव र सीडीओबीच कार्यसम्पादन सम्झौता गर्दै आएको छ । सम्झौताअनुसार कार्यसम्पादन गरे पनि आवश्यक कागजात पेश गर्न नसक्दा भने कतिपय सीडीओ अब्बल भएर पनि मूल्यांकनमा पछि पर्ने गरेका छन् ।

चालू आर्थिक वर्षको पहिलो अर्ध-वार्षिक अवधिमा ७७ वटै जिल्लामध्ये सबैभन्दा बढी ४०.८८ अंकसहित पहिलो बन्न सफल भएको मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि गृहसचिव र सीडीओबीच भएको कार्य सम्पादन सम्झौता र उक्त सम्झौतामा उल्लेखित सूचकको आधारमा स्वचालित रुपमा मूल्यांकन हुने प्रणाली (सीपीएएस)मा प्रविष्ट विवरणको मूल्यांकनबाट अंक प्रदान गरिएको हो ।

मन्त्रालयले ६ वटा मुख्य मापदण्ड र ७२ वटा सूचकका आधारमा सीडीओको कार्यसम्पादन मूल्यांकन गर्छ । सूचकले मागेअनुसार कागजात अपलोड गर्न सक्ने सीडीओ अब्बल देखिने गरेका छन् ।

गत साउनमा अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी उत्कृष्ट बन्न सफल भएको थियो । विभिन्न ६८ वटा परिसूचकमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गर्दै गुल्मी उत्कृष्ट बन्न सफल भएको थियो । अघिल्लो वर्ष भने गुल्मी तेस्रो नम्बरमा परेको थियो । गत वर्ष नै मूल्यांकन प्रतिवेदनअनुसार ९७ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो नम्बरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, ९६.७५ अंक प्राप्त गर्दै तेस्रो नम्बरमा नवलपरासी पूर्व परेको थियो ।

गत वर्ष ९६ प्रतिशत अंक प्राप्त गर्दै चौथो नम्बरमा रूकुम पश्चिम परेकोमा यस वर्ष अर्ध-वार्षिक कार्यसम्पादन मूल्यांकनमा भने दोस्रो बन्न सफल भएको छ । गत वर्षको नतिजा सार्वजनिक हुँदा रुकुम पूर्वको सीडीओ तुलाराज सुनुवार थिए । यद्यपि कार्यसम्पादन मूल्यांकन भने सुनुवारभन्दा अघिका सीडीओको कार्यकालको भएको थियो । सुनुवारले ६ महिनाको अवधिमा नै २ स्थान माथि उकाल्न सफल भएका छन् । गत वर्ष ९५ प्रतिशत अंक प्राप्त गर्दै पाँचौं नम्बरमा डडेलधुरा र हुम्ला जिल्ला पर्न सफल भए ।

पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको हुम्ला जिल्ला कार्यसम्पादनमा गत वर्ष पाँचौंमा पर्न सफल भएको थियो । दलित समुदायको एक्ली महिला उपसचिव सीता परियारले जिल्ला प्रशासन कार्यालय हुम्लामा एक वर्ष जिम्मेवारी सम्हालेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर