राहदानी विभागको सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली – Nepal Press

राहदानी विभागको सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइमिडिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो ।

हिजो वुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफलअनुसार आज पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए ।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो ।

त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरुसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीनको प्राविधिक समस्याका कारण सयौं नेपालीले समस्या झेल्नुपरेकोले सम्झौता अनुरुप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना उच्चस्तरका प्राविधिकलाई आजै नेपाल पठाएर समस्यालाई थप पहिचान गरी हल गर्न सहमति जनाएको टोली सदस्यले जनाए । यही सहमतिअनुसार, भारत र मलेशियाबाट दुई जना प्राविधिक आजै नेपाल आउने र भोलि शुक्रबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर फेरी समस्या नआउने गरी समाधान खोजिने छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले बिहीबार क्याबिनेट बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशकलगायतसँग समस्या तत्काल हल गर्न छलफल गरेका थिए । छलफलमा तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले जोड दिएका थिए ।

सोही निर्देशनका आधारमा तत्कालको समस्या हल गर्न र भविष्यमा प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक छलफलका लागि बमोजिम प्राविधिक टोलीका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा परराष्ट्र सचिवलगायतको टोलीले समेत विभागको निरीक्षण गर्नुका साथै विभागका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर