गठबन्धनको पावर शेयरिङ- नेकपा एसले राष्ट्रपति पाए झलनाथ, सभामुख पाए राजेन्द्र पाण्डे – Nepal Press

गठबन्धनको पावर शेयरिङ- नेकपा एसले राष्ट्रपति पाए झलनाथ, सभामुख पाए राजेन्द्र पाण्डे

काठमाडौं । सत्ता गठबन्धनकै सरकार गठनको गृहकार्य चलिरहेका बेला नेकपा एसले राष्ट्रपति वा सभामुखमध्ये एक संवैधानिक पदमा दाबी गर्ने भएको छ । सत्ता गठबन्धनको बहुमतका लागि एकाध सीट नपुग्दा स्वतन्त्र र साना दलको समर्थन लिने गरी यही गठबन्धनलाई अघि लैजाने प्रयास भइरहेको छ ।

गठबन्धन दलहरूबिच मुख्य पदहरूको प्याकेजमै भागबण्डा हुँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता पद दलहरूले शक्ति र सामर्थ्यका आधारमा बाँड्ने तयारी छ । त्यस्तै प्रदेशका मुख्यमन्त्री पनि प्याकेजमै छलफल हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी दुवैको दाबी रहने अवस्थामा राष्ट्रपति वा सभामुखमध्ये एक पदमा नेकपा एसको अधिकार रहने सो पार्टीको सचिवालय बैठकमा पनि छलफल भएको छ । इलाम १ बाट पराजित भएका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति पदका लागि लालसा देखाएका छन् । उनले गठबन्धनका शीर्ष नेताहरूसमक्ष पनि आफ्नो इच्छा व्यक्त गरेका छन् ।

खनालले इलामबाट पराजित भएर फर्किएपछि आफ्नो दाबी राष्ट्रपतिमा रहने बताइसकेका छन् । तत्कालीन नेकपा एमालेमा रहेकै बेला विद्या भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाउने निर्णयमा खनालले विमति जनाएका थिए । उनले स्थायी कमिटी बैठकमा दाबी प्रस्तुत गरे पनि आफूले विद्यालाई दोहोर्‍याउन निर्णायक मत व्यक्त गरेको तत्कालीन उपाध्यक्ष भीम रावलले बताए ।

नेपाली कांग्रेसले राष्ट्रपति पद सकेसम्म कम्युनिस्टलाई दिन चाहेको छैन । अन्तर्राष्ट्रिय शक्तिहरूको समेत चासो रहने भएकाले कांग्रेस सकेसम्म राष्ट्रपति आफूसँगै राख्न चाहन्छ । त्यसमाथि झलनाथ खनाल भारतले नरुचाउने नेतामा पर्छन् । यद्यपि पछिल्लो समय उपचार क्रमदेखि नै भारतसँग उनको सम्बन्ध सुधारको प्रयास गरेको चर्चा छ ।

यदि झलनाथ खनाल राष्ट्रपति बन्ने अवस्था नभएमा नेकपा एसले सभामुख पदमा दाबी गर्नेछ । सभामुख नेकपा एसले पाउँदा राजेन्द्र पाण्डे लगभग निर्विकल्प उम्मेदवार हुन् । संसदीय राजनीतिका अनुभवी नेता पाण्डे २०४८ देखि २०७९ सम्म पाँच पटक सांसद भइसकेका छन् भने यसअघि प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका छन् ।

यस पटकको संसद् विगतको फरक समीकरण र फरक प्रवृत्तिका सांसदहरूको जमघट हुने भएकाले संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गर्ने सभामुख पाण्डे बन्न सक्ने नेकपा एसका नेताहरू बताउँछन् । यदि अहिलेकै सत्ता गठबन्धन कायम रहेको र बहुमत जुटाएको अवस्थामा हुने ‘पावर शेयरिङ’मा नेकपा एसले सभामुख पाएको अवस्थामा पाण्डे नै सो पदका उपयुक्त पात्र हुन् ।

उनी यसअघि एमालेको संसदीय दलको प्रमुख सचेतक पद चलाइसकेका नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर