इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर – Nepal Press

इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् ।

उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भएका थिए ।

उनी पुनः वैशाख ८ गते आमसभामा सहभागी हुन इलाम आएका थिए । अर्का महामन्त्री शर्मा अधिकांश समय इलाममै बसेका छन् । टिकट वितरणका विषयलाई लिएर इलाममा नेताहरूका बीचमा मात्रै नभई मतदातासम्म यसको प्रभावका परेको देखिएपछि इलाममा कांग्रेस नेताहरूको दौड देखिएको हो ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य र डम्बर खड्का उम्मेदवारको आकांक्षी थिए । अधिकांश कार्यकर्ता भेषराजको पक्षमा भए पनि पार्टीले खड्कालाई उम्मेदवार बनाएपछि पार्टी एक भएको सन्देश दिन पनि कांग्रेस नेताहरू इलाम केन्द्रित भएका छन् ।

आचार्य फरक विचार समूहका नेता डा. शेखर कोइराला निकट हुन् । उम्मेदवार बनेका खड्का भने पार्टी सभापति देउवा निकट मानिन्छन् ।

कांग्रेसइतर पक्षका नेता शेखर कोइरालासमेत इलाम पुग्दै पार्टी एक भएको सन्देश दिन खोजेका छन् । उनी वैशाख ४ गते इलाम पुगेका थिए । उनले लारुम्बास्थित किराँत धर्म गुरु आत्मानन्द लिङदेनलाई समेत भेटेका थिए ।

कांग्रेसका उपसभापति धनराज गुरुङ र प्रभावशाली नेता शशाङ्क कोइराला चुनावीसभालाई सम्बोधन गर्न इलाम आइसकेका छन् । यस्तै सहमहामन्त्री भीष्मराज आङ्दम्वे, नेता मीन विश्वकर्मा पनि इलाममा छन् ।

रास्वपाका शीर्ष नेता प्रभाव देखाउन टोल-टोलमा

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन सम्पूर्ण शक्ति खर्च गरिरहेको छ । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डीपी अर्याल इलाम केन्द्रित छन् । यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तोसिमा कार्की पनि इलाम २ का गाउँ–टोल घुमिरहेका छन् ।

रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी हुनसमेत इलाम आएका थिए । लामिछाने शुक्रबार माङ्सेबुङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावीसभामा सहभागी भए ।

यसअघि उम्मेदवार छनोटका विषयमा पनि ६ जना प्रतिनिधिसभा सदस्य पालिकाहरूमा गई वस्तुस्थिति बुझेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय रास्वपाले गरेको थियो ।

विरासत रक्षामा एमालेका नेता

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा इलाममा एमालेले चुनावी मोर्चा हाँकिरहेको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङको चुनावी कार्यक्रम हाँक्न पार्टीका अन्य स्थायी कमिटी सदस्यहरू पनि आउने जाने गरिरहेका छन् ।

वैशाख ५ गते इलामको मङ्गलबारेमा भएको सभालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आएका थिए । उनले कार्यक्रममा बोल्दै इलामको विकासको जिम्मा सुहाङ नेम्बाङले लिने र आफूले सुहाङको जिम्मा लिने भन्दै मत मागेका थिए । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टीले पनि सघाएका छन् ।

सो चुनावीसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत सहभागी भए ।

एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक नेकपा एकीकृत समाजवादीका नेताहरू पनि इलाम आइरहेका छन् । सो पार्टीका तर्फबाट जीतबहादुर राई उम्मेदवार छन् । उनलाई जिताउन र उनको पक्षमा माहोल बनाउन इलाम घर भएका पार्टीका सम्मानित नेता झालनाथ खनाल अहिले इलाम क्षेत्र २ मा चुनावी घरदैलोमा छन् । उनले आफ्ना उम्मेदवार राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । खनाल चैत २४ मा उम्मेदवारी मनोनयन दर्ताको दिनसमेत इलाम आएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रवीन्द्र मिश्रसमेत इलाम आएका थिए । इलाममा राप्रपाका तर्फबाट लक्ष्मी गुरुङ चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर