संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न माधव नेपालमाथि दबाब, कोशी र सुदूरपश्चिम ‘टेस्ट केस’ – Nepal Press

संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न माधव नेपालमाथि दबाब, कोशी र सुदूरपश्चिम ‘टेस्ट केस’

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि संघ र प्रदेशमा वर्तमान सत्ता गठबन्धनविरुद्ध उभिन दबाब बढेको छ । उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न दबाब बढाएका हुन् ।

सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा नेकपा एसका प्रदेश सांसदहरूले हस्ताक्षर गरे लगत्तै अन्य प्रदेशमा पनि समर्थन फिर्ता लिन दबाब बढिरहेको पाण्डेले बताए । उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पालना गर्ने सम्भावना पनि नदेखिएको दाबी गरे ।

गण्डकीबाहेक अन्य प्रदेशमा नेकपा एसको कम्तीमा एक सीटदेखि बढीमा ७ सीटसम्मको उपस्थिति छ । बागमतीमा नेकपा एस निर्णायक संख्यामा रहेका कारण बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने बटमलाइन रहेको उनले बताए ।

नेकपा एसका सचिव समेत रहेका सांसद मेटमणि चौधरीले संघीय सरकारबाट पनि पार्टी बाहिरिने सम्भावना बढेको बताए । नेकपा एस बाहिरिएपछि जसपा पनि सरकारमा नरहने र प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेससहितको समर्थनमा माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति आउने उनको दाबी छ ।

यो पनि पढ्नुहोस्- वैकल्पिक गठबन्धनको गणितले बढाएको माधव नेपालको ‘बार्गेनिङ पावर’

सुदूरपश्चिमको मुख्यमन्त्री दिने अडानबाट ओली र प्रचण्ड पछि हटेर नागरिक उन्मुक्तिलाई दिएपछि माधव नेपाल सोमबार बालुवाटार बैठक छाडेर हिँडेका थिए । त्यस लगत्तै प्रदेश सरकार गठनमा नागरिक उन्मुक्तिकै रेशम चौधरी पक्षलाई कांग्रेस र नेकपा एसले समर्थन जनाएका थिए ।

प्रदेश सरकार गठनका लागि नाउपाका २ जनाको अलग अलग दाबी आएपछि प्रदेश प्रमुखले कानूनी परामर्श गरिरहेका छन् । स्रोतका अनुसार माधव नेपालले यही मौकामा ओली र प्रचण्डमाथि पनि दबाब बढाइरहेका छन् ।

यसअघिको समझदारी अनुसार मुख्यमन्त्री नपाएको र राष्ट्रिय सभा उपाध्यक्ष पनि नपाएको भन्दै नेकपा एसले गठबन्धन छाड्न सकिने धम्की दिइरहेको छ । उसले संघीय सरकारमा थप एक मन्त्री पाउनुपर्ने अडान समेत कायमै राखेको छ ।

प्रचण्डले पटक पटक धोका दिएको भन्दै माधव नेपाललाई यो सरकारमा सहभागी नहुन केही नेताले दबाब दिएका थिए । तर अहिले विपक्षमा रहँदा वाम एकता विरोधी आरोप लाग्ने र बाँकी रहेका धेरै नेता कार्यकर्ता एमालेमा फर्किने भयले नेपालले नचाहेरै पनि गठबन्धनलाई साथ दिएका थिए ।

उनी जसरी पनि संसदको यसै कार्यकालमा प्रधानमन्त्री बन्न चाहन्छन् । अहिलेको १० सीटको शक्ति रहँदै प्रधानमन्त्री नबन्ने हो भने फेरि कहिल्यै मौका आउँदैन भन्ने बुझेका नेपालले यसअघिको गठबन्धनमा १८ महिनाको आलोपालोमा लिखित सहमति गराएका थिए ।

प्रचण्डपछि आफ्नो पालो आउने भनेर बसेका नेपाल अचानक ओली र प्रचण्ड मिलेर नयाँ गठबन्धन बनाएपछि आक्रोशित बने । उनलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राख्दै ओली र प्रचण्डसँग नजान आग्रह नै गरेको थियो । तर तत्कालका लागि पार्टीभित्र दबाबमा परेको भन्दै उनले कांग्रेसलाई बाध्यता सुनाएका थिए ।

ओली र प्रचण्डले घरमै गएर फकाए पनि नमानेका नेपालले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने पहिलोको सम्झौता प्रचण्डलाई सर्तका रूपमा अघि सारेका थिए । मौखिकरुपमा दुवै नेताले हुन्छ भने पनि माधव नेपाल ढुक्क हुन सकेका छैनन् ।

नेपाल आफ्नो प्रधानमन्त्री सुनिश्चित नहुने भएपछि निकै अलमलमा छन् । अहिले सरकारमा रहे पनि उनले प्रदेशमा फरक अडान कायमै राखेका छन् । कोशीमा पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा नेकपा एसले लिएको छैन ।

माओवादीले इलाम २ मा एमालेलाई समर्थन जनाएर उम्मेदवारी दिएन । तर नेकपा एसले इलाम र बझाङ दुवै ठाउँमा आफ्ना उम्मेदवार उठाएको छ । ढिलोमा असारसम्म अहिलेको गठबन्धनबाट नेकपा एस बाहिरिने प्रमुख सचेतक समेत रहेका नेकपा एसका नेता चौधरीको दाबी छ ।

नागरिक उन्मुक्ति पार्टी रेशम वा रन्जिता कसको कब्जामा जान्छ,त्यसको वैधानिक टुंगो भएपछि राजनीतिले फरक कोर्ष लिने दाबी समेत गरिएको छ । किनकि एमाले, माओवादी र रास्वपाबाहेकको बहुमत जुटाउन सग्लो नागरिक उन्मुक्ति आवश्यक पर्छ । जसपा भने नेकपा एस बाहिरिएलगत्तै बाहिरिन तयार रहेको दाबी नेताहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर