वैकल्पिक गठबन्धनको गणितले बढाएको माधव नेपालको ‘बार्गेनिङ पावर’ – Nepal Press

वैकल्पिक गठबन्धनको गणितले बढाएको माधव नेपालको ‘बार्गेनिङ पावर’

काठमाडौं । माधव नेपालले प्रचण्ड र केपी ओलीसमक्ष शर्तका ठेली तेर्स्याउनु र नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा रेशम र रञ्जिता चौधरी पक्षबीच कुटाकुट हुनु संयोगमात्र होइन ।

नेपाली कांग्रेसले प्रचण्डबाट एक वर्षको बीचमा दोस्रो पटक धोका पाएलगत्तै थालेको वैकल्पिक गठबन्धनको पराकम्प हुन् आइतबार र सोमबारका यी दुई राजनीतिक घटनाक्रम । यसमा भूराजनीतिक शक्तिको भरपूर चलखेल त छँदैछ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत लिन चैत १९ गते सोमबारको लागि प्रदेशसभामा सूचना दर्ता गराएपछि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले बार्गेनिङ थालेको थियो । यद्यपि आलोपालो मुख्यमन्त्रीको आश्वासनपछि तत्काललाई विश्वासको मतको संकट टरेको छ ।

बागमतीको उधारो मुख्यमन्त्रीमा के माधव नेपाल मानेका हुन् ? नेकपा एसका नेताहरुका अनुसार होइन । माधव नेपालको एकमात्र लक्ष्य भनेको प्रधानमन्त्री हो र आफूसँग रहेको १० सीटलाई उनी निर्णायक शक्ति बनाउन चाहन्छन् । लगातार २ दिनसम्म बालुवाटारमा भएको छलफलमा माधव नेपालले धेरै शर्त राखेका छन्, जुन पूरा गर्न ओली र प्रचण्ड समर्थ छैनन् ।

आक्रोश,कुण्ठा र वाम एकताको दबाब

एकातिर माधव नेपालले विश्वासको मत दिन शर्त राख्नु र यहीबेला रेशम चौधरी दम्पतीको झगडाले नागरिक उन्मुक्तिमा कुटाकुट उत्पन्न हुनुको अर्थ छ । त्यो अर्थ के हो भने कांग्रेस प्रचण्डसँग वैकल्पिक गठबन्धनमार्फत बदला लिने मौका कुरेर बसेको छ ।

प्रचण्डले अचानक गठबन्धन तोडेर एमालेसँग मिलेकोमा कांग्रेस सभापति शेरबहादुर देउवा जति क्रुद्ध छन्, त्योभन्दा धेरै आक्रोश माधव नेपालमा छ । आफूसँग एक शब्द सल्लाह नगरी एक वर्षमा दुई पटक बालकोट पुगेर ओलीसँग गठबन्धन गर्ने प्रचण्डप्रति उनको भरोसा टुटेको छ ।

प्रचण्डपछि आफू १८ महिना प्रधानमन्त्री बन्ने तत्कालीन गठबन्धनको लिखित सहमति सिरानीमा राखेर बसेका नेपाल १० महिनापछि भागमा आउन लागेको पद खोसिएकोमा आक्रोशित बन्नु स्वाभाविक थियो । उनले त्यो आक्रोश घरमै बिरामी परेर प्रचण्ड र ओलीलाई आफूसमक्ष आउन बाध्य पारेर प्रकट गरे ।

वास्तवमा माधव नेपाल पार्टीभित्र दोहोरो दबाबमा थिए । झलनाथ खनाल, घनश्याम भुसाललगायत संसद बाहिर रहेका नेताहरु वाम गठबन्धनको अवसर छाड्न नहुने पक्षमा उभिए । राजेन्द्र पाण्डेलगायत संसदमा रहेका र नरहेका समेत केही नेताहरु प्रचण्डले पटक पटक धोका दिएको र निर्णायक बेला माधव नेपाललाई झुक्याएर ओलीसँग मिलेको भन्दै यस पटक त्यता जान नहुने पक्षमा थिए ।

प्रचण्ड र केपी ओली घरमै पुगेर २ घण्टा बिताएपछि सम्मानित महसुस गरेका नेपालले आफ्नो आक्रोश, कुण्ठा र आशंकाको भारी बिसाएपछि अन्ततः नयाँ गठबन्धनलाई समर्थन जनाएका थिए । यसमा भने उनको रणनीति पनि लुकेको छ, त्यो भनेको वाम एकताविरोधीको आरोप नलागोस् र बचेखुचेको कार्यकर्ता पार्टी छाडेर एमालेमा नफर्किओस् ।

भूराजनीतिक साथ,उपेन्द्रको हात

माधव नेपाललाई शेरबहादुर देउवाले घरमै गएर प्रधानमन्त्रीको अफर गरेकै हुन् । भारतीय दूतावासमार्फत पनि कम्तीमा २ वर्ष प्रधानमन्त्री, आगामी निर्वाचनमा २५ सीट र चुनाव खर्चको समेत प्रस्ताव गएकै हो । वैकल्पिक गठबन्धन बनाउने जिम्मासमेत कांग्रेस र भूराजनीतिक शक्तिले लिएका थिए ।

उता जसपामा उपेन्द्र यादव घेराबन्दीमा थिए । उनीमाथि पनि प्रचण्ड र ओलीको नयाँ गठबन्धनमा सहभागी नहुन पार्टीभित्र र बाहिरबाट दबाब बढेको थियो । बहुमत सांसदहरु विपक्षमा भएर पार्टी नै विभाजनको अवस्था आउन लागेको थियो ।

नयाँ मन्त्रीहरुको शपथग्रहणअघि उपेन्द्रले माधव नेपाललाई घरमै गएर भेटेका थिए । बिरामी परेको भनेर घरमा बसेका कारण माधव नेपाललाई स्वास्थ्यलाभको कामना गर्ने नाममा भेटेर बुझ्ने र आफूतिर तान्न नेताहरुको दोहोरी चलेकै थियो ।

देउवा र राजेन्द्र लिङदेनपछि उनलाई भेटेका उपेन्द्रले ‘तपाईं के गर्ने हो ? तपाईं सरकारमा जाने भए म पनि जान्छु । नत्र मेरो पार्टीमा पनि समस्या छ’ भनेर सोधे । नेपालले तत्कालका लागि वाम एकताविरोधी होइन भनेर पुष्टि गर्न भने पनि गठबन्धनमा जानुपर्ने आफ्नो बाध्यता सुनाए ।

नेपाल र यादवको वार्ता सुनेका नेकपा एसका एक नेता भन्छन्- अहिले हामी भनेको २२ सीट हौं भन्ने कुरा प्रचण्ड र ओलीले बुझेका छन् । उपेन्द्र यादवले माधव नेपालसँग सल्लाह गरेपछिमात्र मन्त्रीको सपथ लिएका हुन् । प्रचण्डले हामीलाई देखाएर खाइरहे भन्ने परेकाले दुई पार्टीको २२ सीट एक ठाउँमा राख्ने रणनीतिअनुसार तत्कालका लागि विश्वासको मत दिइएको हो । राप्रपासँग एमालेको दूरी बढाइरहने र रेशम चौधरी दम्पतीको झगडा थिग्रिसकेपछि अंकगणितको खेल टुंगिन्छ र माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ ।

डेढ वर्ष प्रधानमन्त्री बन्ने लिखित सहमति च्यातिएपछि रन्थनिएका माधव नेपालले ओली र प्रचण्डसँग आलोपालो प्रधानमन्त्रीको शर्त राखेका थिए । तर, उनी उधारो आश्वासनसँग आफैं विश्वस्त छैनन् । बलियो अंकगणित बन्नासाथ कांग्रेसतिर लागेर प्रधानमन्त्री बन्ने लालसा उनमा प्रकट भइरहेकै छ ।

राजेन्द्र पाण्डे र मेटमणि चौधरीका अभिव्यक्तिलाई ‘सिरियस्ली’ नलिइए पनि माधव नेपालले ओली र प्रचण्डसँग जसरी बार्गेनिङ बढाइरहेका छन्, त्यसको पछाडि कांग्रेससहित भूराजनीतिक शक्तिले बनाइदिने वैकल्पिक गठबन्धनको पहिलो चरणकै प्रधानमन्त्री पदको आश्वासन नै हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएमा वा उनको सरकार ढलेमा त्यसपछि उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले शेरबहादुर प्रधानमन्त्री बन्ने हुन् । माधव नेपाल प्रधानमन्त्री बन्न धारा ७६ को उपधारा ५ सम्म जाने वा फेरि उपधारा २ मै फर्किनेबाहेक अन्य विकल्प भने देखिन्न ।

प्रतिनिधिसभामा १० सीटमात्र रहेको नेकपा एस सत्ता गठबन्धनको निर्णायक शक्ति आफैंमा होइन । तर, १२ सीट रहेको जसपाभित्रको अवस्था तरल रहेको र कतिपय प्रदेशमा पनि नेकपा एसको संख्या निर्णायक बन्ने भएकाले माधव नेपालको बार्गेनिङ पावर बढेको छ । गठबन्धनको अपनत्व लिनसमेत माधव नेपालले उदारता नदेखाउनुले उनी मौकाको पर्खाइमा छन् भन्ने प्रस्ट हुन्छ ।

च्यातिएको तमसुक,उधारो आश्वासन

आलोपालो प्रधानमन्त्रीमा ओली र प्रचण्डले सहमति जनाएपछि पनि आश्वस्त नभएका नेपालले त्यसको ग्यारेन्टीसहित थप केही शर्त राखेका छन् । बालुवाटार बैठकमा सहभागी नेताहरुका अनुसार राष्ट्रियसभा उपाध्यक्ष नेकपा एसले पाउनुपर्ने शर्त छ । हैसियतभन्दा बढी शर्त राखेर उनले निहुँ खोजेको बुझाइ नेताहरुको छ ।

त्यस्तै संवैधानिक तथा राजनीतिक नियुक्तिमा सम्मानजनक भागबन्डा, संघीय सरकारमा थप एक मन्त्री, प्रदेशमा एक मुख्यमन्त्रीसहित केहीमा आलोपालो र विगतमा आफूलाई बाइपास गरेर गठबन्धन नयाँ बनाएकोमा आत्मालोचनासहितका शर्त माधव नेपालले अघि सारेका छन् ।

यी शर्तहरु राखेर माधव नेपालले बार्गेनिङ बढाउने शक्ति भने कांग्रेसले प्रयास गरिरहेको वैकल्पिक गठबन्धनको अंकगणित नै हो । कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरु समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ ।

नागरिक उन्मुक्तिमा रेशम चौधरीका श्रीमानश्रीमतीको झगडाका कारण वैकल्पिक गठबन्धनलाई समस्या भएको छ । रेशम कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा उभिएका छन् भने रञ्जिता एमाले नेतृत्वको गठबन्धनका पक्षमा छिन् । यही विवादले उक्त पार्टीमा कुटाकुटको अवस्थासमेत आएको छ ।

झिनो गणितीय खेलका कारण तत्काल जोखिम मोल्ने अवस्था नरहे पनि शेरबहादुर देउवाले कांग्रेस नेताहरुलाई सबैतिर वार्तामा खटाएका छन् । ‘ट्र्याक वान’मा वैकल्पिक गठबन्धन र ‘ट्र्याक टु’मा एमाले-कांग्रेस मिलेर सरकार चलाउने दुवै विकल्पमा देउवा तयार भइसकेका छन् ।

माधव नेपाल वर्तमान सत्ता गठबन्धनमा आफ्नो अपरिहार्यता देखाएर बार्गेनिङ पावर बढाइरहेका छन् । सँगसँगै उपेन्द्र यादव पनि आफूसँगै रहेको सन्देश दिन खोजिरहेका छन् । यस्तो अवस्थामा ओली र प्रचण्डले राजेन्द्र लिङदेनलाई ल्याउन खोजे पनि राप्रपा चिढिएको छ । प्रधानमन्त्री प्रचण्डको प्रस्ताव लिङदेनले ठाडै अस्वीकार गरेर सम्भावित वैकल्पिक गठबन्धनमा भूराजनीतिक चलखेलको संकेत गरेका छन् ।

प्रतिनिधि सभामा दलीय आकारको हिसाबले सातौं नम्बरमा रहेको र जनमतको हिसाबले राष्ट्रिय पार्टी पनि बन्न नसकेको नेकपा एस आफैंमा निर्णायक हो कि होइन ? तर माधव नेपाललाई भूराजनीतिक शक्तिले भरोसा गर्नु र प्रचण्डले देउवालाई धोका दिएका कारण उनको स्वर ठूलो भएको छ ।

गत निर्वाचनमा ३ लाख भोट कटाउन नसकेको नेकपा एसका धेरै नेता कार्यकर्ता र दर्जनौ जिल्ला कमिटी नै एमालेमा फर्किसकेका छन् । देशभर चुनाव हुँदा एउटा पालिका पनि एक्लै जित्ने हैसियत नभएको नेकपा एस प्रतिनिधि सभाको अंकगणित र नेपाली राजनीतिमा हुने बाह्य प्रभावको कारण सत्ता राजनीतिको केन्द्रमा छ ।

यस्तो अवस्थामा आलोपालो प्रधानमन्त्री ओलीलाई चाहिएको छैन तर माधव नेपाललाई हाताहाती चाहिएको छ । यो १० सीटको गणित रहेकै संसदमा प्रधानमन्त्री बन्न नपाए फेरि त्यो मौका आउँदैन भन्ने उनले राम्ररी बुझेका छन् । उनको बैचैनी र बार्गेनिङको कारण पनि यहि हो ।

यस्तोमा प्रचण्ड र ओलीले वर्तमान गठबन्धन जोगाइराख्न माधव नेपालका एकपछि अर्को शर्त स्वीकार गर्दै जान्छन् कि वैकल्पिक जुगाड गर्छन् भन्ने प्रश्न उठेको छ ।


प्रतिक्रिया

One thought on “वैकल्पिक गठबन्धनको गणितले बढाएको माधव नेपालको ‘बार्गेनिङ पावर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर