हिउँदे सिजनसँगै लुम्बिनीमा बढ्न थाले पर्यटक – Nepal Press

हिउँदे सिजनसँगै लुम्बिनीमा बढ्न थाले पर्यटक

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा हिउँदे सिजन शुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ ।  दुई वर्षयता कोभिड १९ कारण सुनसान रहेको यो क्षेत्रमा अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरुहरुको आवागमन वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

गतवर्षको तुलनामा यो बर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए ।

सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरी २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या वृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । जनसम्पर्क प्रमुख राईका अनुसार गतवर्ष अक्टोबरसम्म राहदानीवाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन् ।

त्यस्तै गतवर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या वृद्धि भई १ लाख ४९ हजार ६०९ जना पुगेको छ । अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वभाविक भएको प्रमुख राईले बताए ।

तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटकसमेत लुम्बिनी आउनेक्रम क्रमश वृद्धि हुन थालेको छ । लुम्बिनीमा विदेशीभन्दा नेपाली अर्थात आन्तरिक पर्यटकको प्रमुख गन्तव्यस्थल पनि हो ।

गतवर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष अक्टोबर महिनासम्म झण्डै दोब्बर ४ लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ ।

कार्तिक अन्तिमसातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिति हुन थालेको छ । त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनीमा भ्रमणमा आउनेहरु वृद्धि भएका छन् ।

पर्यटकहरुलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आर्कषित गरेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ ।
थला परेको पर्यटन व्यवसाय विस्तारै तग्रन थालेपछि यहाँका व्यवसायीलाई केही ऊर्जा थपिएको छ ।

लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले अहिले विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको बताए । उनले अहिले आएका धेरै पर्यटक लुम्बिनीमा अवलोकनका आएर फर्किने भएकाले अब पर्यटकको बसाई लम्बाउनेगरी योजना बनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर