महानगरमा अलपत्र करोडौंका यी योजना, संरक्षण र पूरा गर्ने दायित्व कसको ? – Nepal Press

महानगरमा अलपत्र करोडौंका यी योजना, संरक्षण र पूरा गर्ने दायित्व कसको ?

विराटनगर । विराटनगर महानगरपालिकामा करोडौ खर्चेर थालिएका आयोजना अलपत्र परेका छन् । बजेट छुट्याएर काम अघि बढेका ती योजना कुनै सञ्चालनमा आउन सकेका छैनन् त केही बीचमै रोकिएका छन् । केही त कामै सुरू नभइ बजेट फिर्ता गएको छ ।

यी योजनामा तीन तहको सरकारबीच समन्वय अभाव, राजनीतिक प्रतिशोध र महानगरको तत्कालीन नेतृत्वलाई कारक मानिएको छ । हालै निर्वाचित भएर आएका जनप्रतिनिधिहरू अधकल्चो योजना पूरा गर्न र प्रयोगविहीन संरचना सञ्चालनमा अग्रसर बनेका छैनन् । सरकारी स्रोतसाधन ‘बालुवामा पानी’ भएको भन्दै स्थानीय र सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् ।

अलपत्र परेकामध्ये एक योजना हो- फाउण्टेन पार्क । सार्वजनिक निजी साझेदारी मोडेलमा १ करोड ८४ लाख ७ हजार ७ सय ४६ रूपैयाँ खर्चेर सो पार्क निर्माण भएको हो । महानगरको ८५ प्रतिशत र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा निर्माण भएको फाउण्टेन पार्क अहिले बेवारिसे छ ।

महानगरले उक्त पार्क सञ्चालन गर्ने भन्दै २०७६ फागुन ५ गते ठेक्का सम्झौताका लागि सूचना प्रकाशनसमेत गरेको थियो ।

२०७५ असोजमा मेयर भीम पराजुलीले पार्कको उद्घाटन गरे । त्यसपछि पार्क सर्वसाधारणका लागि खुला गरिएको थियो । तर, संरक्षण नहुँदा अहिले घाँसे मैदान बनेको छ । उद्घाटन गरेरमात्र नहुने त्यसको अपनत्व लिनसक्नुपर्ने पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

‘यो जिम्मेवारी हिजो ५ वर्ष नगर हाँक्ने भीम पराजुलीले लिन सकेनन्’, ढुंगेल भन्छन्, ‘यो काम हिजै सक्नुपर्ने हो नयाँ जनप्रतिनिधिलाई दोष दिन पाइँदैन ।’

२०७५ सालमा यो पार्क मोरङ व्यापार संघलाई सञ्चालन दिने सहमतिअनुसार काम अघि बढाइएको थियो । मेयर पराजुलीको नेतृत्वले पछि फेरि महानगरले नै मातहतमा लगेको संघले जनाएको छ । संघका अध्यक्ष नविन रिजालका अनुसार, महानगरले व्यापार संघलाई सञ्चालनका लागि दिएको थियो, राम्रोसँग चल्न थालेपछि फेरि महानगरले नै चलाउने भनेर सम्झौता रद्द गरेर बन्द गर्‍यो ।

अलपत्र पशु बधशाला

विराटनगर-८ मा एक बिघा आठ कट्ठा जग्गामा २०७६ सालबाट सुरू बधशाला ३ वर्ष वित्दासम्म बनेको छैन । सुविधासम्पन्न पशु बधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करिब ८ करोड बजेट विनियोजन गरेको थियो ।

आव २०७५/७६ मा करिब ३ करोड विनियोजन गरिएकोमा खर्च नभएर तत्कालीन मेयर पराजुलीले फिर्ता पठाइदिए । प्रदेश १ को तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत गएको बजेट फ्रिज भएको थियो । महानगर नेतृत्वकै कारण बजेट फिर्ता भएको मन्त्रालय स्रोतले बतायो ।

व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका मुख्य सडक, सार्वजनिकस्थल, धार्मिक क्षेत्र, नदी, सडकको किनारा तथा नालामाथि जथाभावी पशु बध गरी मासु बिक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ ।

सिँगिया खोला किनारमा बधशालाको निर्माणमा करोडौँ रकम खर्च हुँदा पनि सञ्चालनमा कसैको ध्यान पुगेको छैन ।

नाम व्युटिफिकेसन काम अलपत्र

विराटनगर विमानस्थल प्रवेशद्वाको सौन्दर्यकरण गर्ने भनेर सुरू भएको योजना पनि अहिले अलपत्र छ । २०७९ वैशाखमै काम सम्पन्न गर्ने गरि काम थालिएको यो योजनाका लागि करिब साढे ३ करोड खर्च भइसकेको छ । सडकको दायाँ-बायाँ फलामका पिलर गाडेर माथिबाट फलामकै पाइप हालिएको छ । निर्माण कार्य रोकिँडा पैदलयात्रीलाई समेत समस्या छ । सौन्दर्यकरणका लागि भनेर विराटनगर विमानस्थल प्रवेशद्धारमा रहेका बिरूवाहरू काटिएको थियो । आसपासका संरचना पनि सबै भत्काइएका थिए ।

विराटनगरको मुटु मानिने हिमालय रोड सौन्दर्यकरणको काम पनि अलपत्र परेको छ । सिक्किमको एमजी रोड परिकल्पना गरेर महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म १५० मिटर सडकलाई सौन्दर्यकरणको काम थालिएको थियो ।

आयोजनाको लागत १ करोड २० लाख ४८ हजार २७३ रुपैयाँ पुगेको छ । एक महिनाभित्रै सक्ने गरि सुरू गरिएपनि वर्षदिन बित्न लागेपनि काम सकिएको छैन । त्यहाँ विश्रामस्थल र पार्क बनाउने गरी काम थालिएको थियो ।

मेयर नागेश कोइरालाले यी दुवै सौन्दर्यकरणको काम महानगरले सुरू गर्ने बताए । अघिल्लो जनप्रतिनिधिका पालाका काम भएपनि अलपत्र भएका कारण यसलाई पूरा गर्ने दायित्व महानगरको हुने उनको भनाइ थियो ।

वीरेन्द्र सभागृह पुनर्निर्माणमा राजनीति

वीरेन्द्र सभागृह विराटनगरको पुरानो संरचना हो । विराटनगरमा गरिने ठूला कार्यक्रम यही सभागृहमा हुने गरेका छन् । तर, पुरानो भएका कारण यसको जीर्णोद्धारको योजना बन्यो । लालबाबु पण्डितले राष्ट्रिय सभागृहजत्तिकै बनाउने लक्ष्यका साथ सांसद विकास कोषबाट दुई वर्षअघि नै ४ करोड बजेट छुट्याए ।

विराटनगर महानगरपालिकामार्फत खर्चका लागि आएको त्यो रकम मेयर भीम पराजुलीले राजनीतिक प्रतिशोध साँधेर अघि नबढाइदिँदा फ्रिज भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर