प्याराग्लाइडिङमा झमेला : खुल्यो उडान, प्राधिकरणको सर्तले अन्योल – Nepal Press

प्याराग्लाइडिङमा झमेला : खुल्यो उडान, प्राधिकरणको सर्तले अन्योल

२ करोड बढीको नोक्सानी भएको दाबी

पोखरा । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ गर्दा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको दुर्घटनामा परी मृत्यु भयो । त्यसलगत्तै नागरिक उड्डयन प्राधिकरणले सुरक्षा चासो भन्दै प्याराग्लाइडिङलाई अनिश्चितकालका लागि बन्द गर्‍यो ।

प्राधिकरणको निर्णयपछि एक साता प्याराग्लाइडिङ व्यवसाय ठप्प बन्यो । व्यवसायीहरुले प्राधिकरणको निर्णयले प्याराग्लाइडिङ व्यवसाय नै खतरामा परेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।

प्राधिकरणले थापाको दुर्घटनापछि एक उच्चस्तरीय छानबिन समिति गठन गर्‍यो । उपमहानिर्देशक हंशराज पाण्डे नेतृत्वको समितिले प्रतिवेदन बुझाएपछि प्राधिकरणले ५ सर्त राखेर उडानमा लागेको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र बाहेक अन्यत्र उडान गतिविधि नगर्न भनेको छ । यस्तै प्याराग्लाइडिङ उडानको लाइसेन्स लिएका पाइलटको स्वास्थ्य परीक्षण गर्न र मनोवैज्ञानिक परीक्षण गर्न भनिएको छ । यी परीक्षणमा पास हुने पाइलटलाई मात्रै व्यवसायिक उडान गर्न दिन पनि प्राधिकरणले भनेको छ ।

व्यवसायिक उडान भर्ने सबै पाइलटले नाम अंकित एकै किसिमको पोशाक लगाउनुपर्ने अर्को सर्त छ । ग्लाइडरहरु पनि १५ दिनभित्र परीक्षण गरेरमात्र उडान भर्न लगाइनुपर्ने प्राधिरकणले बताएको छ । प्राधिकरणको अन्तिम सर्तको रुपमा पाइलटको रिफ्रेसर एडभान्स्ड ट्यान्डम एसआईभी तथा आपतकालीन अवस्थामा ट्यान्डम रेस्क्युका लागि प्रयोगात्मक तालिम आयोजना गर्न भनेको छ ।

प्राधिकरणले सर्त राखेर उडान खुला गर्ने निर्णय दिएपछि पोखरामा सोमबारबाट उडान सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार सोमबारबाट उडान थालिएको हो ।

उडान थाले पनि प्राधिकरणको एक सर्तले भने पोखरामा प्याराग्लाइडिङमा अझै अन्योल थपेको छ । प्राधिकरणको पाँचौं सर्तले अन्योल भएको भट्टराईले नेपालप्रेसलाई बताए । यसबारे संस्थाले शनिबार नै प्राधिकरणले गठन गरेको छानबिन समितिलाई पत्राचार गरिसकेको छ ।

पाँचौं बुँदामा प्राधिकरणले भनेजस्तो ट्यान्डम रेस्क्युको तालिम गर्न नसकिने हवाई खेलकुद संस्थाको ठहर छ । ट्यान्डम उडानमा रेस्क्यु गर्ने तालिमको प्रयास अन्तर्राष्ट्रियस्तरमै नभएकाले यसलाई कार्यान्वयन गर्न असहज हुने संस्थाका अध्यक्ष भट्टराईको भनाइ छ ।

पत्राचारमा भनिएको छ, ‘यस विषयमा छलफल गर्दा ट्यान्डम उडानमा रेस्क्यु गर्न तालिम अन्तर्राष्ट्रियस्तरमा पनि अभ्यासमा नरहेको र उक्त कार्य गर्दा यात्रु र पाइलटलाई ज्यानको जोखिम हुने साथै यस कार्य गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि प्रशिक्षक नभएको अवगत गराउँदै यस्तो कार्य प्रशिक्षणकालमै सोलो उडानमा मात्र गर्न सकिने र सबै पाइलटले गरेको जानकारी गराउँछु ।’

हवाई खेलकुद संस्थाले प्राधिकरणलाई सोलो उडानका लागि एअरस्पेस निर्धारण गरिदिन माग गरेको छ । यस्तै पाइलटको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य अधिकृत खटाउन र स्वास्थ्य अधिकृत आएपछिको १५ दिनको समयलाई अन्तिम समयसीमा मान्न पनि संस्थाको माग छ ।

२ करोड बढीको नोक्सानी

पोखरामा करिब १ साता प्याराग्लाइडिङ बन्द हुँदा २ करोड बढीको आर्थिक नोक्सानी भएको हवाई खेलकुद संस्थाका सुनिल भट्टराईले बताए । पोखरामा अहिले ८ हजारका दरले व्यवसायिक प्याराग्लाइडिङ हुने गरेको छ । हवाई खेलकुद संस्थामा आवद्ध ६० संस्थाले पोखरामा दैनिक ३ सयदेखि ४ सय उडान भर्ने गरेका छन् ।

पोखराका पर्यटन व्यवसायी गणेशबहादुर थापा भने प्याराग्लाइडिङ बन्द हुँदा पोखराका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनकर्मी सबै मारमा परेको बताउँछन् । बन्द भएको कारण र खुल्दा पूरा भएका सर्तबारे अहिलेसम्म प्राधिकरणले जानकारी नगराउनु शंकास्पद रहेको उनको तर्क छ ।

‘मुसाले बिरालो जिस्क्याएजस्तो व्यवसायीलाई जिस्क्याउनु भएन, व्यवसाय बचाउन राज्यको ध्यान छैन’, उनले भने, ‘कुन नियतले बन्द भयो ? के सर्त पालना भएपछि खुल्यो ? केही भनेको छैन । मन लाग्दा खोल्दिने, मन नलाग्दा बन्द गर्न मिल्छ ?’

अधिवक्तासमेत रहेका थापाले छानबिन गर्दा व्यवसाय रोक्नुको तुक नरहेको बताउँछन् । प्रमाण मेटिने अवस्था नरहँदा छानबिनका नाममा व्यवसाय रोक्नु दादागिरी भएको उनले बताए ।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई अहिले बनेको मापदण्ड हवाई खेलकुदका लागि राम्रो भए पनि बीचमा प्याराग्लाइडिङ ठप्प पारेर छानबिन गर्नु अनुचित भएको बताउँछन् ।

छानबिन गरेर मापदण्ड नै बनाउन परेको भए पनि व्यवसाय चलाउन दिएको भए आर्थिक भार जोगिने उनको तर्क छ । ‘दुर्घटना यसअघि पनि भएका थिए, मापदण्ड बन्नु राम्रो हो । तर व्यवसाय रोक्नुपर्ने कारण थिएन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर