लुम्बिनीमा थन्किएका विद्युतीय गाडीको तीनवर्षपछि यान्त्रिक परीक्षण हुने – Nepal Press

लुम्बिनीमा थन्किएका विद्युतीय गाडीको तीनवर्षपछि यान्त्रिक परीक्षण हुने

रुपन्देही । लुम्बिनीमा थन्किएका विद्युतीय गाडीको तीनवर्षपछि यान्त्रिक परीक्षण हुने भएको छ । तीनवर्षअघि दाताले दिएको ती गाडी विभिन्न अल्झनले सञ्चालनमा आउन सकेको छैन । यी गाडीको लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि यान्त्रिक परीक्षण गर्ने भएको हो ।

कोषको सचिवालय बैठकले दशैंको अवसरमा ५ दिन चार्जिङ स्टेशन र गाडीको यान्त्रिक परीक्षण गर्ने निर्णय गरेको छ । त्यसवेला परीक्षणसँगै निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको समिति गठन गरिएको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालन गर्न कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाएको थियो । कोषले दशैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो । यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको कोषले जनाएको छ ।

‘हामीले एक महिनाअघि प्रदेश पर्यटन र यातायात कार्यालयमा नम्बर प्लेट परिवर्तनको निवेदन पेश गरेका थियौं, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’, कोषाध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यातायात कार्यालयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर