विश्वकपकाे प्रत्यक्ष प्रशारण टेलिकमकाे ओटीटीबाट गर्न २४ करोडकाे चलखेल, विराेधमा कर्मचारी – Nepal Press

विश्वकपकाे प्रत्यक्ष प्रशारण टेलिकमकाे ओटीटीबाट गर्न २४ करोडकाे चलखेल, विराेधमा कर्मचारी

काठमाडौं । नेपाल टेलिकमले २४ करोड खर्चेर फिफा विश्वकपको प्रशारण अधिकार मिडिया हवसँग लिन लागेको खुलासा भएकाे छ । टेलिकमकाे बाेर्ड बैठकले यसका लागि सहमती दिएपछि कर्मचारीले विराेध जनाएका छन् ।

प्रमुख ४ वटा कर्मचारी संगठनका महासचिव तथा उपमहासचिवले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा वल्र्डकपका ६४ वटै खेलको प्रशारण नेपाल टेलिकमको मोबाइल तथा एनटीटिभीमा ओटीटीमार्फत गर्नका लागि अधिकार लिन लागेको आपत्ति जनाएका हुन् ।

भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यसका लागि सैद्धान्तिक सहमति दिएको सूचना आएकाे उनीहरूकाे विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी केही प्रश्न र जिज्ञासा उत्पन्न भएका र त्यसको स्पष्ट निराकरणका आधार प्राप्त न नसकेको भन्दै उनीहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

करीव २४ करोडको व्यापारिक योजनाको लागत संरक्षण र त्यसको रेट अफ रिटर्नको स्पष्ट आधार एवं आइटी क्षेत्रको सेवाको प्राेक्सी सर्भरमार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकसमेतबाट त्यसको प्रशारणबाट अपेक्षित व्यापार हुन सक्ने र नसक्ने यथार्थलाई तथ्यगत रुपमा हिसाव गरेर यस्तो व्यापार गर्नु उपयुक्त हुने उनीहरुको भनाई छ ।

अन्यथा नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमासमेत प्रत्यक्ष असर पर्ने उनीहरुको ठहर छ ।

यस्ताे योजना ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने भन्दै विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधारसहितका तथ्य एवं सफलताको लागि युनियनलेसमेत निर्वाह गर्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।

यस्ता प्रस्तावमा सरोकारवालावीच व्यापक छलफल गरी निर्णय गर्न र यस प्रस्तावमा लगानी अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरी उक्त विषय अगाडि नबढाउन पनि सम्बन्धित पक्षको ध्यनाकर्षण गरिएको विज्ञप्तीमा पनि उल्लेख छ ।

‘यस विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा वल्र्डकप २०२२ प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको स्कृन साइजको प्राथमिकता, एनटीटिभीसंग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वको वस्तुपरक विश्लेषणसहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सबैले स्विकार्नु पर्छ,’ विज्ञप्तीमा भनिएको छ ।

याे पनि पढ्नुहाेस् ।

नेपालमा विश्वकप लाइभ हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने, ओटीटीबाट प्रशारण गर्ने मिडिया हबको तयारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर