बेचेको जग्गामा साहूको गिद्धे नजर, झण्डै सय दलित परिवारमा उठीबासको चिन्ता – Nepal Press

बेचेको जग्गामा साहूको गिद्धे नजर, झण्डै सय दलित परिवारमा उठीबासको चिन्ता

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ४ मणिपट्टीमा २० देखि ४० वर्षअघिसम्म बेचिएको जमिनमा जग्गाधनीले पुनः गिद्धे नजर लगाएपछि सयौं गरिब दलित परिवारलाई उठीबासको चिन्ता बढेको छ । जग्गाधनीले विचौलिया र नेता लगाएर हालको मूल्यअनुसार पैसा थप्न भन्दै धम्क्याएका छन् ।

जग्गा जोतभोग गर्न दिएर पैसा लिएको विवरण खुलाइ दोहोरो कागज गरिदिएपछि उनीहरू ढुक्क थिए । तर, रकम लिएको लामो  समय नाघ्दासम्म उनीहरूको नाममा पास गरिएन । त्यसैको फाइदा उठाउँदै साहूले अहिलेको चलनचल्तीअनुसार पैसा थप्न भन्दै दबाब दिन थालेका छन् ।

जग्गाको रकम लिएर पनि नामसारी नगरी र बदनियतपूर्ण थप रकम माग्ने जग्गाधनीहरु हुन् वेदमानसिंह थापा, लक्ष्मणसिंह थापा, केशवसिंह थापा र भरतसिंह थापा । पटकपटक भाका सार्दै उनीहरूले जग्गा पास नगरेको पीडितहरूको गुनासो छ ।

‘अहिले हामीलाई दलाल र नेता लगाएर पैसा थप्न भनिरहेका छन् । पैसा नदिए जग्गा खाली गर्न धम्की दिनुहुन्छ । हामी न्यायका लागि कहाँ जाने हजुर’, ती पीडितले नेपाल प्रेससँग भने ।

पीडितहरूले अहिले गाउँपालिकामा निवेदन दिएका छन् । तैपनि जग्गाधनीहरुले दलालमार्फत धम्काउन नछाडेको उनीहरूको भनाइ छ ।

हंसपुर- ४ मणिपट्टीको सानो टोलमा करिब ३०० धर छन् । जसमा करिब १०० घरपरिवार आफूहरुको उठिबास हुने चिन्तामा छन् । बिक्रीनामामार्फत खरिद गरिएको अधिकांश जग्गामा स्थानीयले ५ देखि ३० लाखसम्म खर्चेर आ-आफ्नो घर बनाएका छन् । घर निर्माण भइसकेको जग्गामा प्रतिकट्ठा १५ लाखसम्म थप रकम मागिएको पीडित ऐसु नदाफ बताउँछन् ।

‘पहिले जसोतसो दुःख गरेर ऋण गरी जग्गा खरिद गरेका थियौं । जग्गा खरिद गरेको ऋण बल्ल चुक्ता भएको छ’, उनले भने, ‘यहीवेला विचौलिया लगाएर पूर्वजग्गाधनीले धाकधम्कीसहित थप रकम माग गरिरहेका छन् । पैसा नदिए अर्कैलाई जग्गा बेच्छु भनेर धम्की दिएको दियेयै छन् । मलाई मरुँ न बाँचूँ बनायो ।’

 

रकम असुल्न माओवादी नेताको प्रयोग

स्थानीयका अनुसार जग्गाधनीले थप रकम लिन अनेक हत्कण्डा अपनाएका छन् । सुरुमा जग्गाधनीले बिनाजानकारी उक्त जग्गा बेच्ने प्रयास गरेका थिए । त्यो सम्भव नदेखिएपछि जग्गाधनीले माओवादीबाट हंसपुर नगरपालिकामा मेयरका प्रत्याशी सुनिल यादवलाई जिम्मा दिए । हंसपुर नगरपालिका कार्यपालिका सदस्य राजेश सक्सेना भन्ने राजेश पासवान र स्थानीय आबिद नदाफलाई पनि दलालको रुपमा खटाइएको पीडितहरु बताउँछन् ।

‘दलाल’ लगाएर बार्गेनिङ

सुरुमा भोमानसिंह थापाका चार छोराले उक्त जमिन बाहिरका जग्गा व्यापारीलाई बेच्ने प्रयास गरेका थिए । तर, जग्गा किनेकाहरुले घर निर्माण गरिसकेकाले बेच्न सकेनन् । पछि ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने जग्गाधनीसँगै घर भएका रामेश्वर ठाकुरलाई जिम्मा दिइएको थियो । ठाकुरले जिम्मा पाएसँगै उक्त जमिनमा थप रकम उठाउन सुरु गर्न स्थानीयलाई धम्काउन थालेको पीडितहरु बताउँछन् ।

घडेरी भएको जग्गा थप १५ लाखसम्म र खेतीयोग्य जग्गालाई प्रतिकट्ठा ३ लाखसम्म तय भएको जानकारी स्थानीयलाई दिइएको थियो ।

स्थानीय दशैँ साफीका अनुसार ठाकुर वार्ता गर्नुछ भनेर जनकपुरको पिडारी चौक बोलाएको र उक्त जमिन मेरो तीन करोड लगानी भएकाले स्थानीयले घडेरीको १५ लाखसम्म र खेतीयोग्य जमिनको ३ लाखसम्म नदिए सबै जग्गा कब्जा गरी डोजर लगाएर घर भत्काउने धम्की दिए ।

स्वर्गीय भोमानसिंह थापाको नाममा मणिपट्टीमा ३६ विगा जग्गा रहेको थियो । जसमा १८ विगा मोही जोताहाको नाममा गइसकेको छ । लालपुर्जामा बाँकी भएको १८ विगा जमिन स्थानीयले खरिद गरेका थिए । स्थानीयले खरिद गरेको १८ विगामध्ये करिब १३ विगा जग्गामा घडेरी छ । बाँकी जग्गा खेतीयोग्य छन् ।

घडेरीको चलनचल्ती बिक्री मूल्य सरदर कट्ठाको १३ लाखको र खेतीयोग्यको जग्गाको चलनचल्ती बिक्री मूल्य २ लाख ५० हजार रहेको स्थानीय बताउँछन् । विचौलियाले स्थानीयलाई सुरुमा घडेरीको प्रतिकट्ठा ८ लाख र खेतीयोग्य जमिनबाट २ लाखको दरले बुझाउन उर्दी जारी गरेका थिए । यसअनुसार विचौलियाले घडेरीबाट २० करोड ८० लाख र जमिनबाट २ करोड गरी करिब २५ करोड रकम उठाउने योजना बनाएको पीडितहरु बताउँछन् ।

मुद्दा न्यायिक समितिमा

जग्गा खिचोलाको मुद्दा हाल नगरपालिकाको न्यायिक समितिमा विचाराधीन छ । मणिपट्टीका जमिनदारको जमिनमा विचौलियाहरुले सक्रियता बढाएको वडाध्यक्ष लालबाबु यादवले पनि पुष्टि गरे ।

‘स्थानीयले पहिल्यै पैसा तिरेर किनेको जग्गामा अहिले आएर कसैले धाकधम्की दिएर पैसा असुल्ने प्रयास गरे उनीहरुविरुद्ध कानूनी लडाइँ हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर