कोइराला परिवार नै कोसी पीडित, तैपनि मातृकाले किन गरे कोसी सम्झौता ? – Nepal Press

कोइराला परिवार नै कोसी पीडित, तैपनि मातृकाले किन गरे कोसी सम्झौता ?

इटहरी । कोसी नदीलाई बिहारको दुःख भनेर सामान्य ज्ञानमा पढाइन्छ । कोसी बिहारको दुःखमात्रै हैन । नेपालबाट बग्ने कोसी नेपालकै दुःख हो । दुःखको पछिल्लो किस्ता उदयपुरको बेलका नगरपालिका- ८ डुम्रिबोटेबाट कोसी बाँध कटान हो । पीडितहरुको तथ्यांक सयौंको छ । जो घरबार छोडेर भाग्न विवश छन् । जो आफ्ना चौपायाको मायामा कोसी बस्तीमा आए पनि बस्ती छोड्न अटेर गरेर जोखिम मोल्न बाध्य छन् ।

कोसी राजनीतिक समस्यामात्रै हैन । नेताहरुले गरेको आन्तरिक राजनीतिक निर्णयले कोसी कहर कट्दैन । कूटनीतिक कदम नै आवश्यक छ । कूटनीतिक पनि नेपालको कोसीलाई सिमाना बनाएर बसेका प्रदेश १ र मधेस प्रदेश अनि भारतको राज्य बिहारको त्रि-राज्य कूटनीतिकले पुग्दैन । नेपाल र भारतका संघ सरकारहरुकै पहलकदमी चाहिन्छ । त्यो आवश्यक हुने कारण कोसी सम्झौता हो ।

२०११ वैशाख १३ गते (सन् १९५४ अप्रिल २५) आइतबारका दिन काठमाडौंमा भएको थियो कोसी सम्झौता । मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा भएको सम्झौता गर्ने विभागीय मन्त्री महावीर शमशेर थिए । भारतको तर्फबाट काठमाडौंमा हस्ताक्षर गर्ने मन्त्री थिए गुल्जारिलाल नन्दा । शमशेर नेपालका योजना-विकासमन्त्री थिए भने नन्दा भारतका तत्कालीन सिंचाइ तथा ऊर्जामन्त्री थिए । यही सम्झौताको जगमा भारतीय नियन्त्रण रहने कोसी ब्यारेज निर्माणदेखि कोसी नदीमा भारतको हात माथि पर्न थालेको हो । अहिले सप्तकोसीले धार परिवर्तन गरिरहनुमा पनि भारतीय अधिकारीहरुले कोसीको भँगालोलाई यताउता चलाइरहनु प्रमुख कारण भएको स्थानीय बताउँछन् ।

कोसीको पीडा उनले नेपालमा हैन भारतको निर्वासनको जीवनमा भोगेका थिए । यसरी कोसीको पीडा भोग्ने मातृकाप्रसादमात्रै थिएनन् । बीपी कोइरालालगायत सम्पुर्ण राणाशासनबाट निर्वासित कोइराला परिवार थियो ।

आफैं कोसी पीडित थिए कोइराला परिवार : ‘तीन महिना नाउँमा बसेका’ थिए !

कोसीको दुःखलाई झन् बढवा दिने कोसी सम्झौता गर्ने मातृकाप्रसाद कोइराला आफैं कोसी पीडित थिए । कोसीको पीडा उनले नेपालमा हैन भारतको निर्वासनको जीवनमा भोगेका थिए । यसरी कोसीको पीडा भोग्ने मातृकाप्रसादमात्रै थिएनन् । बीपी कोइरालालगायत सम्पुर्ण राणाशासनबाट निर्वासित कोइराला परिवार थियो । यसबारेमा बीपी कोइरालाको २०५५ वैशाख १ गते प्रथम पटक प्रकाशित आत्मकथा ‘आत्म वृतान्त’मा उल्लेख छ ।

यसको कथा रोचक छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा मातृका र बीपी पिता कृष्णप्रसाद कोइरालाले ढाक्रेको फाटेको लुगा चन्द्र शमशेरकोमा ‘आफूले लगाएको पोशाक र आफ्नो प्रजाको पोशाकको फरक हेर्नका लागि’ पार्सल गरेर पठाएका थिए । त्यो घटनाले उनी निर्वासित हुनुपर्‍यो । हुन त उनलाई पक्राउको तयारी थियो । तर, कोइरालासँग राम्रो दोस्ती भएका तत्कालीन विराटनगरका बडा हाकिम जीतबहादुर केसीले उनलाई सूचना चुहाएकाले भाग्न सफल भए र उनी पक्राउ पर्नबाट जोगिएका थिए । भारत निर्वासन हुँदा ४५ जनाको जम्बो टोली जोगबनी हुँदै बनारस गएको थियो । बनारसबाट कोइरालाको परिवार भागलपुर बसाइ सरेका थिए । खेतीपाती गर्न उनीहरुले भागलपुरको टेढी नामक गाउँमो जग्गा किने ।

भारतको भागलपुर जिल्लाको टेढीमै कोइराला कोसी पीडित भएको बीपीले आत्म वृतान्तमा उल्लेख गरेका छन् । उदयपुर र सुनसरीको कोसीले घेरेको श्रीलंका टापु जस्तै गाउँ थियो टेढी । बीपी कोइरालाका अनुसार दुईपट्टि कोसी र बीचमा एउटा टापु जस्तो गाउँमा कोइराला परिवार बस्थ्यो । झण्डै सात वर्ष टेढीमा बस्दा कोइराला परिवारले कोसीको कहर धेरै भोग्यो ।

कोसी कहरको बाल्यकालीन दुःख सम्झिँदै बीपीले आत्म वृतान्तमा भनेका छन्, ‘टेढीमा हामी ५/७ वर्ष बस्यौं । अनि कोसीको बाढीले सताउन सुरु गर्‍यो । करिब तीन महिना हामीले नाउमा बस्नु पर्दथ्यो । घरबाट भान्सामा जाँदा पनि नाउबाट, दिसापिसाब गर्न जाँदा पनि नाउबाट, कहीँ जाँदा पनि नाउबाट जानुपर्थ्यो तीन महिनासम्म ।’

कोसी सम्झौता गरेकोमा मातृकाले मानेका थिए पछुतो

बीपी कोइरालाले जस्तो कोसी पीडित भएको प्रसंग मातृकाले आफ्ना ग्रन्थमा लेखेका छैनन् । तर, कोसीको घार परिवर्तन भइरहनेबारेमा उनले लेखेका छन् । २०४६ सालमा विराटनगरको प्रतिभा पुरस्कार प्रतिष्ठानबाट पहिलोपटक प्रकाशन भएको पुस्तक ‘कोसीको कथा’मा मातृकाले कोसीको परिवर्तन भइरहने बहावबारेमा लेखेका छन् । उनले आफ्नै अनुभव लेख्दै भनेका छन्, ‘१९८७-१९८८ सालसम्म कोसी आजको वीरपुरभन्दा पूर्व नै बग्दथ्यो । र, स्वयं लेखक (मातृका)ले नै कोसी तरी पारि वीरपुर गएको हो । तत्कालीन मोरङ र सप्तरीको सीमा कोसीको मूल स्रोत नै हो । तर, आज सो डोब पुरिएर कमिलाको जन्ती जाने बाटो भइसकेको छ ।’

कोसीको कथा नामक निबन्धमा मातृकाका १२ निबन्ध छन् । सबैभन्दा लामो कोसीको कथा नामकै निबन्ध छ । निबन्धमा उनले कोसी सम्झौताको रक्षा गरेका छन् । उनले सम्झौताको विरोधी स्वरलाई इंगित गर्दै भनेका छन्, ‘सम्झौताको आलोचना विशेषतः राजनीतिक दलहरुबाट भएको थियो । विरोधको कुनै ठोस आधार थिएनन् । केही काल्पनिक आधारमा भावनात्मक विरोध गराउने प्रयास भएको थियो ।’ कोसी सम्झौता सही थियो भन्ने दाबी गर्दै उनले थप प्रतिरक्षा गर्न प्रयास गर्दै निबन्धमा लेखेका छन्, ‘कसैले यो ब्यारेजको सट्टा बराह क्षेत्र बन्नुपर्थ्याे  भने, कसैले यसको अवधि तोकिएन भने, कसैले नेपालले यसबाट फाइदा केही पाएन भने । यस्तै प्रकारबाट जति मुख उति कुरा भने जस्तो थियो । तर, ठोस सबल कुनै तर्क थिएन ।’

कोसी सम्झौताको बुँदाबुँदा देखाएर नेपालको पक्षमा सम्झौता भएको दलिल पेस गरेका मातृकाले एक ठाउँमा भने सम्झौता पालन नभएको संकेत गरेका छन् । उनी लेख्छन्, ‘कोसी क्षेत्रमा मुआब्जाबाट धेरैले फाइदा पनि उठाए तर अफसोच त के भने पाउनुपर्नेले पाएनन्, नपाउनुपर्नेले पाए ।’ यो मुआब्जा दिने कुरामा पनि आफ्नो कमजोरी ढाक्दै मातृकाले लेखेका छन्, ‘सो सम्झौतापत्रको हस्ताक्षर भएको केही महिनापछि नै सम्झौता गर्ने श्री ५ को सरकारको मन्त्रिमण्डल भंग भएको हो । त्यो त पछिपछिका मन्त्रिमण्डलको उत्तरदायित्वको कुरो थियो– हामी यहाँ राजनीनिक विवेचना गर्न लागेका होइनौं । अतः यो कुरा यही बिसाऔं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.