अर्थमन्त्रीमाथि छानबिन : समितिभित्रै दुई धार, बैठकमै झोक्किए शक्ति बस्नेत – Nepal Press

अर्थमन्त्रीमाथि छानबिन : समितिभित्रै दुई धार, बैठकमै झोक्किए शक्ति बस्नेत

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय छानबिन अन्तिम चरणमा पुगेको छ । तर, अहिलेसम्म उनीमाथि लागेका आरोप पुष्टि गर्ने ठोस प्रमाण समितिले फेला पार्न सकेको छैन ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा घुसपैठ गराएर बजेटमा करको दर हेरफेर भएको विषयमा छानबिन गरिएको हो । समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज प्राप्त गर्न नसकेको र कुनै पनि प्रत्यक्षदर्शीले घटना स्वीकार नगरेकाले समिति आफैँ अप्ठेरोमा परेको छ ।

स्रोतका अनुसार करको दर हेरफेरका विषयमा जिम्मेवार अधिकारीहरूले विरोधाभाषपूर्ण बयान दिइरहेका छन् । भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलेले सुरूमा आफैँले करको दर सिफारिस गरेको बताएका थिए । तर, पछि छलफल चल्दै जाँदा उनीहरूले टाइपिस्टलाई दोष दिएर पन्छिन खोजेका छन् । अरु कसैको निर्देशनमा टाइपिस्टहरूले बजेट चलाएको उनीहरूको संकेत छ ।

भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूको कुरा पनि आपसमा बाझिएपछि हिजो छानबिन समितिका सदस्यहरूबीच नै विवाद भएको थियो । एमालेबाट प्रतिनिधित्व गरेका समितिका सदस्य प्रदीप ज्ञवालीले समितिमा कुरा बाझिएपछि प्रष्ट कुरा आउनुपर्ने बताए ।

माओवादीतर्फका सदस्य शक्ति बस्नेत छलफलमा नराम्ररी झोक्किएको स्रोतले बतायो । छानबिन समितिमा रहेका एमालेका संसदले महानिर्देशकहरूको कुरा बाझिएको भनेपछि बस्नेतले झोक्किँदै महानिर्देशहरूको बचाउ गरेका थिए ।

‘उहाँहरूले भएको जे हो त्यही भनिसक्नु भयो, धेरै र्‍याखर्‍याखती पार्नुपर्ने आवश्यकता छैन,’ स्रोतका अनुसार बस्नेतले आक्रोशित बन्दै भनेका थिए ।

अहिले संसदीय छानबिन समितिमा नै विभाजन देखिएको छ । सत्ता पक्षबाट छानबिन समितिमा रहेका सदस्यहरू नरम तरिकाले प्रस्तुत भइरहेका छन् । उनीहरू जसरी पनि पूर्वमन्त्री शर्मालाई जोगाउन चाहन्छन् । समितिमा रहेका एमालेका सदस्यहरु भने कडारूपमा प्रस्तुत भइरहेका छन् । बयान लिने क्रममा उनीहरुले सबैलाई र्‍याखर्‍याखती पारिरहेको स्रोतले बतायो ।

अहिलेसम्म भएको छानबिनमा अर्थमन्त्रीविरुद्ध कुनै प्रमाण नभेटिएपछि एमालेतर्फका सदस्यहरू व्यग्र बन्दै गएको पनि स्रोतको दाबी छ । समितिले सीसीटीभी फुटेजको हार्डडिक्स फरेन्सिक ल्याब पठाउने निर्णय गरिसकेको छ । यदि यसबाट सीसीटीभी रिकभर भयो भने समितिका लागि त्यही नै निर्णायक प्रमाण हुने छ । यदि रिकभर भएन भने प्रतिवेदन लेख्ने बेला समितिभित्रै विवाद उत्पन्न हुने निश्चितप्राय छ ।

छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २ एकीकृत समाजवादीका १, लोकतान्त्रिक समाजवादीका १ र जनता समाजवादी पार्टीका १ सांसद रहेका छन् । यदि बहुमत-अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षी सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

अर्थमन्त्रालयसँग छानबिन समितिले जेठ १४ को सीसीटीभी फुटेज माग गरेको थियो । तर, जेठको फुटेज डिलिट भइसकेको बताएर मन्त्रालयले असारको फुटेज पठाएको छ । तत्कालीन अर्थमन्त्रीमाथिको पहिलो चरणको छानबिन आज सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर