आईजीपी बन्ने बाटो बन्द भएपछि अब के गर्छन् एआईजी पोखरेल ? – Nepal Press

आईजीपी बन्ने बाटो बन्द भएपछि अब के गर्छन् एआईजी पोखरेल ?

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्ध परेको रिट खारेज गरेसँगै लामो समयदेखि विचाराधिन विवाद अन्त्य भएको छ।आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

त्यसयता उनी लगातार बिदामा रहेका छन्। सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको इजलासले एआईजी पोखरेल र तत्कालिन तीन डीआईजीले एआईजी सिफारिसविरुद्ध हालेको रिट एकसाथ खारेज गरी दिएका हुन्।

अब पोखरेलले राजीनामा दिन्छन् वा काममा फर्किन्छन् भन्ने कुनै यकिन भइसकेको छैन। रिट खारेज भएपछि नेपाल प्रेससँग बोल्दै उनले भने- अब सल्लाह गर्छु। कुनै निर्णय गरिसकेको छैन।’

पाँच दिनको बहसपछि कामु प्रधान न्यायाधीश कार्की सम्मिलित इजलासले फैसला सुनाएको हो। इजलासले मौखिक जानकारी गराएर रिट खारेज भएको निर्णय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडैलले जानकारी गराए।

यसअघि जेठ ३० तथा असार ५, १३ र १९ गते पनि अन्तिम सुनुवाइको बहस भएको थियो। शुक्रबार जवाफी बहस भएपछि निर्णय सुनाइएको थियो। यसअघि आईजीपी बढुवाविरुद्ध मुद्दा खारेज भएपछि तत्कालिन डीआईजी नवराज सिलवालले राजीनामा दिएका थिए। यसैगरी सरकारले सर्वेन्द्र खनाललाई आईजीपी बनाएपछि असन्तुष्ट रमेश खरेलले पनि राजीनामा दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर