भोज खर्च कटाएर वडा अध्यक्ष बस्नेतले बनाए अक्षय कोष – Nepal Press

भोज खर्च कटाएर वडा अध्यक्ष बस्नेतले बनाए अक्षय कोष

सिन्धुपाल्चोक । स्थानीय चुनाव २०७९ अब उत्तरार्द्धमा पुगेको छ । चुनावमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरुले आफ्नो नियमित काम सुरु गरिसकेका छन् । केही जनप्रतिनिधिहरु अझै पनि चुनाव जितेकोमा आफ्ना मतदाताहरुलाई धन्यवाद ज्ञापन, विजय र्‍याली र खुसीयालीमा ‘भोज’ को आयोजनामा व्यस्त छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित चक्रबहादुर बस्नेतले भने चुनाव जितेपछि कतै पनि भोज गरेनन् । एकसरो सबै बस्तीमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

मतदाताहरुलाई भोज गर्दा हुने खर्च कटाएर वडा अध्यक्ष बस्नेतले वडामा अक्षयकोषको स्थापना गरेका छन् । ‘भोजमा खर्च हुने करिब २ लाख रुपैयाँ राखेर अक्षयकोषको सुरुवात गरेको छु’, वडाध्यक्ष बस्नेतले भने ।

वडा कार्यालयसँगै रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थामा वडाका सबै क्रियाशील राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिहरु रहने गरेर अक्षयकोष अनुगमन समितिसमेत गठन गरेका छन् ।

अक्षयकोष सञ्चालन गर्न कार्यविधि बनाइने बस्नेतले जानकारी दिए । उनका अनुसार प्रकाश स्मृति छात्रावृत्ति एवं असहाय कोष, युवा उद्यमी प्रोत्साहन एवं सीप विकास कोष, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कोष, निजी स्रोत कर्मचारी प्रोत्साहन कोष, कृषक प्रोत्साहन कोष, औषधोपचार सहायता कोष, बालबालिका अक्षय कोष, प्राविधिक शिक्षा सहायता कोषको नाउँमा आठ वटा अक्षयकोष स्थापना गरिएको छ ।

अक्षयकोषमा सबैले स्वेच्छिक रुपमा सहयोग गर्न सकिने वडाध्यक्ष बस्नेतले जानकारी दिए । ‘अहिले सबै कोषमा सहयोगीहरुले रकम जम्मा गरिदिनुभएको छ । सबै कोषमा कम्तिमा ५ लाख रुपैयाँ जम्मा गर्ने योजना बनाएका छौं’, उनले भने ।

आफूले सुरुमा दुई लाखबाट सुरु गरेको र अन्य कोषहरुमा समेत क्रमशः रकम थप भइरहेको वडाध्यक्ष बस्नेतले बताए । आफूलाई जनप्रतिनिधि भएवापत प्राप्त हुने सबै भत्तालगायत अन्य रकमसमेत सोही अक्षय कोषमा जम्मा गर्दै जाने बस्नेतले जानकारी दिए ।

पदभार ग्रहणको दिन वडाध्यक्ष बस्नेतले यी सबै अक्षयकोषको घोषणा गरेका थिए । केही दिनभित्रै सबै सरोकारवालाहरुलाई जम्मा गरेर कार्यविधिमार्फत अक्षयकोष सञ्चालन गरिने उनले स्पष्ट गरे । ती सबै अक्षयकोषबाट सम्बन्धित क्षेत्रकालाई आवश्यक पर्दा सहयोग गरिने बडाध्यक्ष बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “भोज खर्च कटाएर वडा अध्यक्ष बस्नेतले बनाए अक्षय कोष

  1. राम्रो काम को सुरुवात गर्नुभयो हजुर जस्तो वडा अध्यक्ष पाउनु नै वडा बासी लागि भगवान सरह हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर