अधिकांस निजी विद्यालयले दिएनन् आइतबारे विदा, निर्णय पुनरावलोकन गर्न प्याब्सनको माग – Nepal Press

अधिकांस निजी विद्यालयले दिएनन् आइतबारे विदा, निर्णय पुनरावलोकन गर्न प्याब्सनको माग

काठमाडौं । काठमाडौंका निजी विद्यालयले सरकारी निर्णय अवज्ञा गर्दै आज आइतबार पनि पठनपाठन गरेका छन् । शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था निजी विद्यालयहरूमा पनि लागू गर्ने भनी गरेको निर्णयलाई उनीहरूले अटेर गरेका हुन् ।

सरकारले आइतबार पनि बिदा दिने निर्णय जेठबाट कार्यान्वयनमा ल्याएको थियो । त्यसबमोजिम आज सबै सरकारी कार्यालयहरू बन्द रहे । सामुदायिक विद्यालयहरू पनि बन्द हुँदा निजी विद्यालयहरूले भने आफूखुसी निर्णय लिएका छन् । केही विद्यालयले बिदा दिए पनि अधिकांश विद्यालयहरू भने आज सञ्चालनमा आए ।

ताहाचलस्थित होली भिजन इन्टरनेशनल स्कुलमा आइतबार पनि पढाइ भयो । हप्तामा दुई दिन बिदा गर्दा पाठ्यक्रम नसकिने भन्दै आइतबार बिदा नहुने पूर्व जानकारी गराइएको थियो । त्यस्तै काठमाडौंकै शान्तिनगरस्थित भिएस निकेतनमा पनि आइतबार पढाइ भयो । ललितपुरको ज्ञानोदय बालबाटिका स्कुल, पेप्सीकोलाको पाडिनी स्कुलले पनि आज नियमित रूपमा कक्षा सञ्चालन गरे ।

शैक्षिक सत्र भर्खरै मात्र सुरु भएको र अभिभावकले पनि बिदा नदिन जोड दिएपछि कक्षा सञ्चालन गरेको ज्ञानोदय बालबालिकाका आइटी इन्चार्ज निरोज रानामगरले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘अभिभावकहरूले पनि बिदा नदिन एकदमै प्रेसर दिइराख्नुभएको छ । शैक्षिक सत्र भर्खरै सुरु भएकाले बच्चाहरू मोबाइल छोडेर बल्ल–बल्ल लेख्न पढ्न थालेका छन् ।’

अभिभावकहरूले कि स्कुलले फी घटाउनुपर्‍यो होइन भने हप्तामा ६ दिन पढाउनुपर्‍यो भन्दै दबाब दिएको रानामगरको भनाइ छ ।

संघीय सरकारको निर्णय विपरीत कतिपय स्थानीय तहले नै आइतबार विद्यालय खुलाउन निर्देशन दिएका थिए । भक्तपुरको भक्तपुर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, दोलखाको जिरी नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका लगायतले हप्तामा ६ दिन नै पढाउन नगरपालिकाभित्रको सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई निर्देशन दिएका थिए ।

नगरपालिकाहरुले सूचना जारी गरेर एक महिना ढिलो गरी शैक्षिक सत्र २०७९ प्रारम्भ भएको र विद्यार्थीहरूको सिकाई उपलब्धि समेतलाई मध्यनजर गरेर अर्को सूचना जारी नभएसम्म साबिक बमोजिम नै पठनपाठन गराउन निर्देशन दिएका छन् ।

सरकारले पुनरावलोकन नगरे स्कुल खुलाउँछौंः प्याब्सन

आज सामुदायिक विद्यालयहरू बन्द भए पनि निजी विद्यालयहरू फाट्टफुट्ट खुलेको निजी विद्यालयहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले बताएको छ । विद्यालय खोल्ने भनेर आधिकारिक निर्णय भने नगरिएको प्याव्सनका अध्यक्ष डिके ढुंगानाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘विद्यालयको बिदा पुनरावलोकन गर्ने र १८० दिनको पढाइ सुनिश्चित गर्नको निम्ति माग गरेको हुनाले हामीले अफिसियली स्कुल खोलेका छैनौँ । कसैले फाट्टफुट्ट खुल्यो होला, त्यो मेरो नोटिसमा छैन ।’

प्याब्सनले दुई दिन बिदाको विषयमा सरकारलाई पुनरावलोकन गर्न भनेको छ । सरकारले पुनरावलोकन नगरे स्कुल खुलाउने उनले बताए ।

‘हामी १८० दिन विद्यालय सञ्चालन हुने सुनिश्चितता चाहेका छौँ । त्यो सुनिश्चितता सरकारले गर्नुपर्छ । सरकारले ल्याएको कानुनलाई सम्मान गर्दै केही समय हामी हेर्दैछौं । भोलि त्यो रिभ्यु भएन भने हामी अर्को निर्णय गर्छौ,’ उनले भने, ‘अहिलेलाई केही समय बन्द नै हो ।’

पालिकाहरूले बिदा नदिनु भनेर निर्देशन दिने बेथिति भएको उनले बताए ।

अध्यक्ष ढुंगाना भन्छन्, ‘पालिकाहरूमा मेयर छानिएकै छैन । संघीय सरकारले कानुन बनाएर लागू गर भनेको छ । यसरी निर्देशन दिनु पनि एउटा बेथिति हो ।’

संघीय सरकारको निर्णय पालिकाले नमान्ने हो भने ७५३ पालिकाले सरकारलाई यो लागू गर्न सकिँदैन तपाईँहरूले फिर्ता गर्नुस् भनेर भन्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर