मकवानपुरमा गठबन्धनको भागबण्डा: खोला र खानी भएका पालिकाजति कांग्रेसको भागमा – Nepal Press

मकवानपुरमा गठबन्धनको भागबण्डा: खोला र खानी भएका पालिकाजति कांग्रेसको भागमा

हेटौंडा । नदीजन्य पदार्थको उत्पादन र निकासीमा अगाडि रहेको जिल्ला हो, मकवानपुर । यहाँ स्थानीय चुनावमा सत्तागठबन्धबीच भागबण्डा हुँदा खोला र खानी धेरै भएका स्थानीय तहजति कांग्रेसको भागमा परेको छ ।

सिमेन्ट उद्योगका सञ्चालक तथा ढुंगा गिट्टी व्यवसायी समेत रहेका नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको गृहजिल्ला मकवानपुरमा नियोजितरुपमै खोला र खानी भएका पालिका कांग्रेसको भाग पारेको आरोप छ ।

जिल्लाको पाँच स्थानीय तहमा प्रमुख पद प्राप्त गरेको कांग्रेसको भागमा बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा मनहरी गाउँपालिका परेको छ। यी पाँच क्षेत्रमा जोडिएको खानी क्षेत्र तथा क्रसर व्यवसायमा बानियाँसँगै कांग्रेसका कतिपय नेताहरु जोडिएका छन् । नेताहरु प्रदेश तहदेखि जिल्ला तथा गाउँपालिकासम्मका छन् ।

मकवानपुरगढी गाउँपालिका क्षेत्रमा शिवम् सिमेन्ट उद्योगको खानी छ । उक्त खानीमा बानियाँको निर्माण कम्पनीको प्रत्यक्ष संलग्नता छ । यसबाहेक राक्सिराङ र कैलाशमा पर्ने रिद्धिसिद्धि सिमेन्ट खानीको काममा पनि उनको सहभागिता छ । उक्त खानीमा केही नेकपा एमालेका नेताहरुको पनि जोडिएका छन् ।

पश्चिम मकवानपुरको मनहरीमा रहेको राप्ति, मनहरी नदीलगायतको क्षेत्रमा जिल्लाकै सबैभन्दा धेरै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् हुन्छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसले विवादबीच गाउँपालिका अध्यक्ष लिएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पनि ढुङ्गा, गिट्टी बालुवाको उत्खनन् हुन थालेको छ । काठमाडौं–तराई द्रुतमार्गको सबैभन्दा धेरै भु–भाग पर्ने उक्त गाउँपालिकामा पर्छ ।

गठबन्धनको केन्द्रीय नीतिअनुसार नेकपा एमाले विजयी भएको स्थानमा नेकपा एसको लागि कांग्रेस लचक हुने भन्ने थियो । तर कांग्रेसले खानी क्षेत्र रहेको कैलाश तथा मनहरी दुवै क्षेत्र नेकपा एसका लागि छाडेन।

गठबन्धनलाई भत्काएर भएपनि कांग्रेसले ती स्थानहरुमा अध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएको छ । नेकपा एमालेबाट विजयी भएका कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान नेकपा एसमा प्रवेश गरेका थिए । सोही कारण उक्त गाउँपालिका नेकपा एसले दाबी गरेको थियो । तर उक्त गाउँपालिकामा कांग्रेस बाधक बनेपछि नेकपा एस गठबन्धनबाट बाहिरिन परेको छ ।

त्यस्तै मनहरी गाउँपालिकामा तत्कालीन निर्वाचनमा नेकपा एमालेबाट विजयी उपाध्यक्ष मनिला विष्ट पनि नेकपा एस प्रवेश गरेही थिइन् । तर उक्त गाउँपालिकामा पनि कांग्रेसले नेकपा एसलाई अध्यक्ष तथा उपाध्यक्ष दुवै पद दिन अस्वीकार गरेपछि एस गठबन्धनबाट बाहिरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर