ब्युरोक्रेसीको बेथिति : सिंहदरबारमा सचिवहरु बेरोजगार, प्रदेश सरकारलाई सहसचिवको भर – Nepal Press

ब्युरोक्रेसीको बेथिति : सिंहदरबारमा सचिवहरु बेरोजगार, प्रदेश सरकारलाई सहसचिवको भर

सचिव बनाएर अवकाश गराउनकै लागि दरबन्दी सिर्जना

काठमाडौं । नेपाल सरकारले ७२ सचिवको संख्या बढाएर ७४ पुर्‍याएको छ । तर, अधिकांश सचिव सिंहदरबार भित्रका कार्यालयहरुमा छन् । तीन प्रदेश भने प्रमुख सचिवविहीन भएका छन् ।

यसअघि पाँच जना सचिवको दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा विशेष दरबन्दी थप गरिएको छ ।

दुईजना सचिवलाई अतिरिक्त समूहमा राखेर र एक सचिवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै थन्क्याइएको छ । सचिव खगेन्द्रप्रसाद नेपालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दी बनाइएको हो ।

उनको स्वास्थ्यलाई मध्यनजर गरी विशेष दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै तत्कालीन सहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका रमेशप्रसाद सिंहको मन्त्री रामकुमारी झाक्रीसँग टसल बढेपछि कारवाहीस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अतिरिक्तमा राखेर अहिले प्राविधिक दरबन्दी नै सृजना गरेर व्यवस्थापन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका मधुसुदन बुर्लाकोटीलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा ल्याइएको छ ।

त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेकी यामकुमारी खतिवडालाई स्वाथ्य तथा जनसंख्या मन्त्रालय हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याएको छ ।

सचिव बनाएर अवकाश गराउनकै लागि दरबन्दी सिर्जना

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय स्रोतका अनुसार मंगलबार मात्रै सहसचिवबाट सचिवमा बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस भएका शंकरप्रसाद खरेललाई सचिव बनाउनकै लागि एक सचिवको दरबन्दी सृजना गरिएको छ । सहसचिव खरेलले माघ चार गते निजामति सेवाबाट अवकाश पाउँदैछन् । २०४४ साल साउन एक गते सेवा प्रवेश गरेका उनले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

खरेल २०६९ फागुन २६ गते उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यदि खरेल अहिले सचिव बढुवा नभएको अवस्थामा भने सहसचिवबाटै उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन् ।

स्रोतका अनुसार शारीरिकरुपमा अशक्त सचिव खगेन्द्रप्रसाद नेपाललाई व्यवस्थापन गर्नकै लागि अहिले विशेष दरबन्दीसृजना गरिएको हो । उनले अनिवार्य अवकाश पाएसँगै उक्त विशेष दरबन्दी स्वतः खारेज हुनेछ ।

यस्तै प्राविधिकतर्फ पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको पद सृजना गरिएको छ । मन्त्रिपरिषद्को कार्यालय तानिएका रमेशप्रसाद सिंहलाई उक्त दरबन्दीमा राख्ने भनिएको छ । तर अहिले अतिरिक्तमा नै राखिएको छ ।

तीन प्रदेश प्रमुख सचिवविहीन

तीन वटा प्रदेश सरकार भने प्रमुख सचिवविहीन भएका छन् । जसमा प्रदेश दुई, वागमती र सुदूरपश्चिम प्रदेश छन् । प्रदेश दुई सरकारका प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । त्यसपछि प्रदेश दुई सरकार निमित्त प्रमुख सचिवको जिम्मेवारी सहसचिव यामप्रसाद भुसालले सम्हालिरहेका छन् ।

यस्तै वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ । त्यसपछि वागमती सरकार प्रमुख सचिवविहिन भएको छ । यहाँ सहसचिव यामलाल भुसालले निमित्त प्रमुख सचिव काम गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको छ । यहाँ अहिले सहसचिव डुण्डीराज निरौलाले निमित्त प्रमुख सचिवको काम गरिरहेका छन् ।

पालो मिचेर मैनाली प्रदेशबाट सिंहदरबारमा

सचिवमा बढुवा भएपछि अधिकांश प्रशासनतर्फका सचिवको पदस्थापन प्रदेशमा हुने गरेको छ । त्यसैअनुसार बढुवा भएर प्रदेश एक सरकारको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका डा.रामप्रसाद घिमिरेको पालो मिचेर सचिव हरिप्रसाद मैनालीलाई सिंहदरबार ल्याइएको छ । मैनालीले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतमार्फत पालो मिच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिन सफल भएका हुन् ।

प्रदेश एक सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिव डा.रामप्रसाद घिमिरे र भर्खरै वागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीबाट रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा आएका किरणराज शर्मा एकै दिन करिव ६ महिनाअघिसचिवमा बढुवा भएका थिए ।

शर्मा ज्येष्ठताका आधारमा र घिमिरे कार्यसम्पादन मूल्याङ्कनका आधारमा गत साउन चार गते बसेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा भएका थिए । उनीहरु दुवै जनासँगै प्राविधिकतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेल पनि सचिवमा बढुवा भएका थिए । स्वास्थ्य सचिवको अन्य कतै दरबन्दी नभएकाले पोखरेल बढुवा भएलगत्तै स्वास्थ्य मन्त्रालयमा नै पदस्थापन भएका थिए ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका मधुसुदन बुर्लाकोटीसँगै वागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका किरणराज शर्मा र प्रदेश दुईको प्रमुख सचिवको जिम्मेवारीमा रहेका हरिप्रसाद मैनालीलाई पनि सिंहदरबार तानेको छ ।

सिंहदरबार तानिएका तीन सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव बुर्लाकोटी हुन् । उनको ६ महिनाअघि असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेर सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव पदमा पदस्थापन गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा राखेर उनीभन्दा कनिष्ट सचिव हरिप्रसाद मैनालीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मैनालीभन्दा अघि शर्मासँगै सचिवमा बढुवा तथा पदस्थापन भएका डा.रामप्रसाद घिमिरेलाई छाडेर कनिष्ट सचिव मैनालीलाई सिंहदरबार ल्याइएको छ । सचिव मैनालीलाई पाँच महिनाअघि साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै प्रदेश दुई सरकारको प्रमुख सचिव पदमा पदस्थापन गरेको थियो । तर, सचिव घिमिरेलाई भने साउन ४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेर प्रदेश एक सरकारको प्रमुख सचिव पदमा पदस्थापन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर