त्रिवि र अनेरास्ववियुबीच ५ बुँदे सहमति, करार शिक्षक स्वत: स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने – Nepal Press

त्रिवि र अनेरास्ववियुबीच ५ बुँदे सहमति, करार शिक्षक स्वत: स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने गरी गरेको निर्णय अहिले कार्यान्वयन नगर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखेर आन्दोलन गरिरहेको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुसँग ५ बुँदे सहमति गर्ने त्रिविले उक्त प्रतिबद्धता जनाएको हो ।

त्रिवि र अनेरास्ववियुबीच भएको भएको सहमतिपत्रमा अस्थायी वा करार सेवामा कार्यरत शिक्षकहरूले मात्रै उपप्राध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम संशोधन गर्ने निर्णयका विरुद्ध सर्वोच्चमा समेत म्द्दा विचाराधीन रहेकाले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्ने उल्लेख छ ।

त्यस्तै २०७८ साउन १८ गते स्थगित गरिएको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्न त्रिवि सेवा आयोगलाई अनुरोध गर्ने, विषयअनुसारका थप दरबन्दी व्यवस्थापन गर्ने, रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने र प्रत्येक छ/छ महिनामा शिक्षक कर्मचारीको खुल्ला विज्ञापन गर्ने प्रकृया तत्काल अगाडि बढाउने पनि सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालको दर्ता अभिलेखमा रहेका विद्यार्थी संगठनहरूको नेतृत्वसँग आवश्यक छलफल गरी निर्धारित समयमा नै सम्पन्न गर्ने गरी स्ववियू निर्वाचन प्रकृया अगाडि बढाउने पनि अनेरास्ववियुसँग सहमति भएको छ ।

सहमतिको ५ नम्बर बुँदामा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयहरूमा अनेरास्ववियुले लगाएका ताला पनि खोल्ने उल्लेख छ ।

सहमतिपत्रमा त्रिविको तर्फबाट वार्ता समिति संयोजक संयोजक प्रा. पशुपति अधिकारी, सदस्यहरू, विष्णुप्रसाद वाग्ले, हिक्मतबहादुर राया, खगेश्वर मण्डल र अखिलेशकुमार सिंह साथै अनेरास्ववियुको तर्फबाट वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, सदस्यहरू मदनकुमार विष्ट, रमेश विष्ट, अम्मरराज जोशी र मनिता खत्रीले हस्ताक्षर गरेका छन् ।

त्रिवि र अनेरास्ववियुबीचको सहमतिपत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर