ओलीको नारा बोक्दै प्रचण्डले भने- हाम्रो अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो (भिडिओ) – Nepal Press

ओलीको नारा बोक्दै प्रचण्डले भने- हाम्रो अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि सबै दलहरूबीचको धारणा एउटै हुनुपर्नेमा जोड दिएका छ्न् । राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए ।

आफूहरूको प्रमुख लक्ष्य सुखी नेपाली, समृद्ध नेपाल नै रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले भने, ‘लगानी सम्मेलन लक्षित गरी अस्तिको क्याविनेटबाट केही ऐन संशोधन गरिएको छ । मलाई लाग्छ त्यसले आज औपचारिक रूप लिनेछ । त्यसैले हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । त्यसमा पुग्नको लागि सुशासन र सामाजिक न्यान अनिवार्य शर्त हो ।’

ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । उनले अहिले पनि त्यसैलाई जोड दिँदै आएका छन् ।

उनले भने, ‘सदनभित्र पनि हामीले विगतमा जस्तो एकचोटी नीति कार्यक्रम प्रस्तुत गर्ने, पर्याप्त छलफल नगरी, संशोधन गर्ने नपाइने जस्तो परम्परालाई तोडेका छौं । त्यही अनुसारको कोसिस भएको हो । हामीले अध्यादेशमार्फत हिजोका ऐनका केही व्यवस्था परिर्वतन र परिमार्जन गरेर बहसलाई अर्थपूर्ण बनाउने सरकारको कोशिस गरिरहेको छ । अहिले हामी जुन परिस्थितिमा जाँदैछौं त्यसका लागि पनि ऐनहरू संशोधन गरे, जबसम्म नीति क्षेत्रहरू विश्वासमा लिन सकिँदैन, देशमा आर्थिक विकासले गति लिन सक्दैन ।

उनले लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर