ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ? – Nepal Press

ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानदेखि रातिसमम खटिने ट्राफिक प्रहरीले कोभिड महामारीका कारण काटिएको प्रोत्साहन भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सडकमा खटिने ट्राफिक प्रहरीको अतिरिक्त भत्ता दिने प्रस्तावमा आफूले तोक लगाएर निर्णय प्रक्रियामा पठाएको नेपाल प्रेसलाई बताए ।

शर्माले भने, ‘ट्राफिक प्रहरीको दुःख हामीले देखेका छौं । धुलो धुँवा, घामपानी नभनी खटिएका जवानहरूको भत्ता काट्ने कुरा राम्रो थिएन । मैले पुनः भत्ता पाउनेगरी निर्णय अघि बढाइदिएको छु ।’

उपत्यका ट्राफिक प्रहरी महाशाखाको प्रस्ताव प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालयबाट अर्थमन्त्रालयम पुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । अर्थमन्त्रीले प्रस्तावमा तोक लगाएर निर्णय प्रक्रियामा पठाएको जानकारी आफूले पाएको कुँवरले नेपाल प्रेसलाई बताए ।

अर्थमन्त्रालयबाट स्वीकृत भएपछि ट्राफिक प्रहरीले मासिक तलबसँगै अतिरिक्त भत्ता पाउनेछन् । अर्थले बजेट स्वीकृत गरेपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मको दर्जाका कर्मचारीले तलबको ४० प्रतिशत भत्ता पाउने छन् ।

त्यस्तै असई र सईले २० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् भने ट्राफिक प्रहरीमा कार्यरत इन्सपेक्टर र डिएसपीले तलबको १० प्रतिशत भत्ता पाउनेछन् ।

भत्ता काटिएपछि ट्राफिकबाट सरुवा मागेर अन्यत्र जानेहरुको चाप बढेको छ । भत्ता नियमित भएपछि ट्राफिक प्रहरीलाई काममा खटाउन पनि सहज हुने बग्गीखानाका एक अधिकारीले बताए ।

उनले भने, ‘भत्ता पाउने भएपछि काम लगाउन र सडकमा कुदाउन पनि सजिलो हुनेभयो । भत्ताकै आकर्षणले गर्दा पनि ट्राफिक प्रहरी छाडेर अन्यत्र सरुवा माग्नेहरु यतै बस्छन् । यो निर्णय भयो भने न्याय पनि हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर