लुम्बिनी कांग्रेस पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य, यसरी हारे अष्टभूजा – Nepal Press

लुम्बिनी कांग्रेस पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य, यसरी हारे अष्टभूजा

रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कमिटीमा नेता रामचन्द्र पौडेल समूहको प्यानल निर्वाचित हुँदा लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका रुपन्देहीका अष्टभुजा पाठक उपसभापतिमा पराजित भएका छन् ।

रुपन्देहीबाटै संस्थापन समूहको सभापतिमा लडेका भरतकुमार शाह र इतर समूहबाट उपसभापति लडेका पाठक पराजित भएपछि पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य भएको छ ।

रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधि बनेका पाठक सिंगो प्यानल निर्वाचित हुँदा पनि पराजित भएका हुन् ।

सभापतिमा संस्थापन इतर समूहका रोल्पाका अमरसिंह पुनले रुपन्देहीका भरतकुमार शाहलाई ८५ मतको फरकमा पराजित गरे । पुनले ८५२ मत ल्याउँदा शाहले ७६७ मत पाए । विजयी भएका पुन कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् । पुन कांग्रेसका केन्द्रीय नेता दीपक गिरी, चन्द्र भण्डारी, संजय गौतमलगायतका नेताहरुको समर्थनमा अगाडि बढेका थिए ।

देउवा समूहबाट रुपन्देहीका प्रभावशाली मानिएका शाह प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिका सभापति हुन् । उनलाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको दरिलो साथ थियो । तर निर्वाचनमा उनी पराजित रहे ।

रुपन्देहीबाट अलग अलग समूहका दुवै नेता पराजित हुनुमा नेता बालकृष्ण खाँणकै भूमिका बढी रहेको आंकलन कांग्रेसकै नेताहरुले गर्न थालेका छन् ।

उपसभापतिमा पौडेल समूहका गुल्मीका भुवन प्रसाद श्रेष्ठले ८४७ र देउवा समूह दाङ्गका राजु खनालले ७९२ मत ल्याएर विजयी भए भने पौडेल समूहका अष्ठभूजाले ७७२ र देउवा समूहका सुधाकर पाण्डेयले ६६१ मत ल्याएर पराजित हुनुपर्‍याे ।

त्यसैगरी महामन्त्रीमा पौडेल समूहका विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए । सहमहामन्त्री पदमा पनि पौडेल समूहकै निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर