एमालेले आज देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै, उच्च समझदारी अपनाउन ओलीको आह्वान – Nepal Press

एमालेले आज देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै, उच्च समझदारी अपनाउन ओलीको आह्वान

‘काठमाडौं । नेकपा (एमाले)ले चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि चुन्दै छ । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।

एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गरेका छन् । शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताएका छन्।

‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीकोरूपमा मात्रै होइन प्रक्रिया र पद्धतिकारूपमा पनि बुझ्दछौं।’

उन्नतस्तरको समझदारी र सहमति पनि लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो भन्दै ओलीले भनेका छन्, ‘ दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो । तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु।’

एमालेले आज महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति तोकेको भए पनि अधिकांश ठाउँमा हिजोदेखि नै प्रतिनिधि छनोट शुरु भएको छ । धेरै ठाउँमा सहमतिमै प्रतिनिधि घनोट भएका विवरणहरु आएका छन् ।

आज चयन भएका प्रतिनिधिको विवरण ३० गतेसम्म केन्द्रीय कार्यलयमा पठाइसक्नुपर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *