संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै – Nepal Press

संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

काठमाडौं । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सार्वजनिक वाचा सुरू गरेको २ महिना नपुग्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहमा विवाद चुलिएको छ । सभापतिको प्रत्यासी रहेका नेताहरू आपसमै आरोप-प्रत्यारोपमा केन्द्रित भएपछि संस्थापन इतर समूहमा डेढ महिनायता ‘हार्दिक छलफल’समेत हुन सकेको छैन ।

‘पार्टी र लोकतन्त्र बचाउनका लागि आगामी महाधिवेशनमा एकताबद्ध भएर सभापतिमा एकजना मात्रै उम्मेदवार हुनेछौं । हाम्रो एकता अटुट रहनेछ भनेर देशभरीका साथीहरूलाई आश्वस्त रहन अपील गर्दछु’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गत भदौ १७ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

पौडेलको यो भनाइमा संस्थापनइतर समूहका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापा, गुरुराज घिमिरेलगायतले भौतिक उपस्थितिमै समर्थन जनाएका थिए । त्यसयता १ दर्जन बढी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा अधिवेशन सन्निकट छ ।

मंसिर २४ देखि २६ सम्म महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस नेताहरू अब महाधिवेशन नसर्ने ‘दाबी’ गर्छन् । यद्यपि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने वाचा गरेका इतर पक्षका नेताहरू बीच ‘संवाद’ समेत टुटेको अवस्था छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै संस्थापन इतर समूहकी नेतृ सुजाता कोइरालाले आफूले रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई सहयोग गर्न नसक्ने घोषणा नै गरिन् । उपप्रधानमन्त्री हुने चाहना राखेकी कोइरालाले आफूलाई धोका भएको भन्दै सार्वजनकि रुपमै पौडेल र शशांकविरुद्ध अभिव्यक्ति दिइन् ।

सभापतिमा दाबी गरिरहेका अन्य नेताहरूले पनि एक अर्कालाई कमजोर देखाउने अभिव्यक्ति दिँदै आएका छन् । महामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर ‘देउवालाई हराउने उम्मेदवार आफूमात्रै रहेको भन्दै सभापतिको उम्मेदवारीबाट फिर्ता नहुने’ घोषणा गरे ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि ‘संसदीय निर्वाचन जित्न नसक्ने र अवसर पाउँदा काम नगर्नेलाई सभापति छाड्न नसकिने’ सार्वजनिक अभिव्यक्ति दिएका छन् । सिंहको सो भनाई संसदीय निर्वाचन हारेका वरिष्ठ नेता पौडेल र डा.शेखर कोइराला तथा महामन्त्री शशांकप्रति लक्षित थियो । सभापतिको प्रत्याशी बनेका डा. शेखर कोइरालाले पनि आफू जुनसुकै अवस्थामा ‘सभापतिको उम्मेदवार रहने’ बताउँदै आएका छन् । संस्थापनइतरका नेताहरूको यस्ता अभिव्यक्तिले आपसी हार्दिकता घटेको देखिन्छ ।

‘२ महिनाअघिसम्म साझा उम्मेदवार खोज्ने सम्भावना बलियो थियो । अहिले हरेक नेताले आफूबाहेकलाई गाली गर्न थालेकोले चुनौती बढेको छ’, इतर समूहका एक नेताले भने । ती नेताका अनुसार आफ्नो दाबी प्रस्तुत गर्दा अर्को नेतालाई सार्वजनिकरूपमै ‘खुइल्याउने’ प्रवृत्ति देखिएको छ ।

समय कम, समस्या धेरै

कांग्रेस महाधिवेशनको पछिल्लो कार्यतालिकाका कारण पनि संस्थापन इतर समूहमा दवाव बढेको छ । कात्तिक २७ गते सबै जिल्लाको वडा अधिवेशन सकिनेछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्र र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुने भएकोले नेताहरू गृहजिल्लामा व्यस्त हुन्छन् । मंसिर १० मा जिल्ला अधिवेशन भएको हप्तादिनमै मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुनेछ भने त्यसको हप्तादिनमै मंसिर २४ मा महाधिवेशन हुनेछ ।

महाधिवेशको निर्वाचन प्रयोजनका कामहरू मंसिर २१ गतेदेखि नै हुनेहुँदा नेताहरूसँग संवादका लागि कम समय छ । एकातिर समय कम छ भने अर्कोतिर नेताहरू आन्तरिक छलफलमा जुट्न सकेका छैनन् । सभापतिमा दावी गरेका नेताहरू महाधिवेशन प्रचारको शैलीमा जिल्ला दौडाहामा व्यस्त छन् । सार्वजनिक मञ्चहरूमा आफूबाहेक सबैलाई ‘बेकार’ भन्दै भाषण गर्न थालेपछि संस्थापनइतर समूहमा साझा उम्मेदवारको खोजी टर्दै गएको छ ।

रवैया छाडेर संवाद थाल्नुपर्छ : गगन थापा

संस्थापनइतर समूहमा एकताको आवश्यकता औल्याउँदै आएका युवा नेता गगन थापा सभापतिका प्रत्यासी नेताबीच हार्दिकता घटे झैं देखिएको स्वीकार्छन् । २ महिनाअघि महाधिवेशनमा एकताबद्ध हुने प्रण गर्दा भएका सहमति कार्यान्वयन नभएको थापाले बताए ।

‘हामीले सस्थापनइतर समूह एक रहन्छ भनेर तलसम्म सन्देश दिन त सक्यौं तर एकताको सूत्र खोज्न अझै सकेका छैनौ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसको शुद्धीकरण र सुदृढीकरणका लागि संस्थापनइतर समूहमा एकता आवश्यक रहेको बताउने थापा नेताहरूसँग अन्तिम अवसर रहेको बताउँछन् । ‘सार्वजनिक मञ्चबाट एकअर्कालाई खुइल्याउने कुराको अर्थ छैन । पार्टी सभापतिमा दाबी गर्ने नेताहरूले एकअर्काको समर्थन जुटाउन सकरात्मक पहल गर्नुपर्‍यो । समर्थन जेसुकै होस लडेरै छाड्छु भनेर भएन । नेताहरूले रवैया छाडेर संवाद थाल्नुको विकल्प छैन । हामीसँग अन्तिम समयसम्म अवसर छ’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर