माडीको सोमेश्वरगढीमा प्रचण्डको ‘मर्निङ वाक’, पर्यटकीय गन्तव्यमा स्थापित गर्न सघाउने वचन – Nepal Press

माडीको सोमेश्वरगढीमा प्रचण्डको ‘मर्निङ वाक’, पर्यटकीय गन्तव्यमा स्थापित गर्न सघाउने वचन

चितवन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको प्रमुख पर्यटकीय स्थल सोमेश्वरगढीमा ‘मर्निङ वाक’मा पुगेका छन् । करिव १ किलोमिटरको पैदल यात्रामा उनले गढीमा कुँदिएका ५३ वटा विशाल मूर्तिहरुको अवलोकन पनि गरे ।

सोमेश्वरगढी भ्रमण वर्षका लागि छनेट भएको १०० गन्तव्यमध्येको एक हो । माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली माडी पुगेको थियो ।

मेयर ढकालका अनुसार सोमेश्वरगढीमा सिँडी निर्माण र भ्यू–टावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएका छन् । ‘भ्यू–टावर बनाएर राष्ट्रिय झण्डा राख्ने योजना सुनायौं, ६० लाख बजेट निकासा गर्न पहल गर्ने बताउनुभएको छ,’ मेयर ढकालले भने, ‘देशकै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सघाउने वचन दिनुभएको छ ।’

सोमेश्वरगढीमा २०७७ मा ढुंगामा मूर्ति कुदिएको थियो । सोमेश्वरगढीमा नेपाल–भारत सीमा स्तम्भसमेत छ । मंगलबार चितवन आएका प्रचण्ड बुधबार माडी पुगेका हुन् । उनी आज बाँदरझुलाका स्थानीय सुकुम्बासीलाई नागरिकता वितरण गर्नेछन् । माडी प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर